न्यूयोर्कको नेतृत्व होडमा मुस्लिम आप्रवासी मम्दानी

असार २१, २०८२

सुदीप शिवाकोटी

Mamdani, a Muslim immigrant in New York's leadership hod

अमेरिका — नाम जोहरान क्वामे मम्दानी, जन्म स्थान युगान्डा, उमेर ३३ वर्ष । यो नाम, जन्म स्थान र उमेर एक सामान्य अमेरिकी नागरिकको हो । जो अमेरिकामा हुर्किएका आप्रवासी मुस्लिम हुन् ।अफ्रिकी मुलुक युगान्डाको राजधानी काम्पालामा जन्मिएका मम्दानी पछिल्लो समय चर्चामा छन् ।

महाशक्ति राष्ट्र अमेरिकाको महाशक्ति महानगर न्यूयोर्कको नेतृत्व सम्हाल्ने होडबाजीमा अग्रपंक्तिमा देखिएका कारण अहिले मम्दानी विश्वको नजरमा परेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाईसमेत चुनौती दिँदै चुनावी मैदानमा होमिएपछि मम्दानी विश्वको नजरमा परेका हुन् । अमेरिकी राजनीतिमा भविष्यमा नेतृत्वको रुपमा उदाउन खोजेका मम्दानी २०२१ देखि न्यूयोर्ककै क्वीन्स सिटीमा अवस्थित डिस्ट्रिक ३६ बाट न्यूयोर्क राज्य सभाको सदस्यको रुपमा राजनीतिमा सक्रिय छन् । 

मम्दानी डेमोक्र्याटिक पार्टी र अमेरिकाको डेमोक्र्याटिक सोसलिस्टका सदस्यसमेत हुन् । मम्दानी ७ वर्षको हुँदादेखि उनको परिवार अमेरिका बस्दै आएका छन् । मम्दानीले सन् २०१८ मा अमेरिकी अंगीकृत नागरिकता लिएका हुन् । मम्दानीले ब्रोक्स हाई स्कूल अफ साइन्सबाट स्नातक गरे र त्यसपछि बोडोइन कलेजबाट अफ्रिकाना अध्ययनमा स्नातकोत्तर पास गरे ।

उनी संगीतकारको रुपमा समेत परिचित छन् । सन् २०१६ मा सांगितिक क्षेत्रबाट आफ्नो करिअर सुरु गरेका मम्दानी हिपहपका प्रशंसक हुन् । उनले र्‍याप संगीत रचना र उत्पादन गरेका छन् । मम्दानी पहिलो पटक २०२० मा न्यूयोर्क राज्य सभामा निर्वाचित भएका थिए, उनले डेमोक्रेटिक प्राइमरीमा चार कार्यकाल बिताएका अराबेला सिमोटासलाई पराजित गरेका थिए । 

उनी २०२२ र २०२४ मा निर्विरोध निर्वाचित भएका थिए । डेमोक्रेटिक प्राइमरीको क्रममा, मम्दानीले बर्नी स्यान्डर्स र अलेक्जान्ड्रिया ओकासियो कोर्टेजलगायतका प्रमुख प्रगतिशील राजनीतिज्ञहरुबाट समर्थन प्राप्त गरेका छन् । 

Mamdani, a Muslim immigrant in New York's leadership hod

हाल संघीय सरकारको प्रतिपक्ष कित्ताको डेमोक्र्याटिक पार्टीबाट न्यूयोर्क राज्यसभा प्रतिनिधिसमेत रहेका मम्दानी न्यूयोर्कको मेयरका लागि उम्मेदवार बनेपछि उनीबारे चासोसमेत बढेको छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासीमाथि कडाइ र कागजातविहीनलाई निष्कासनमा जोड दिइरहेका बेला ट्रम्पकै व्यवसायिक क्षेत्रसमेत रहेको न्यूयोर्कमा उनको विपक्षी दलबाट बलियो उम्मेदवार बनेका मम्दानीबारे अहिले अमेरिकासँगै विश्वका शक्ति राष्ट्रहरुमासमेत चर्चा चुलिन थालेको हो । गत जुन २४ मा भएको डेमोक्र्याटिक मेयर प्राइमरीमा मम्दानीले एन्ड्रयु कुओमो र अरु नौ उम्मेदवारहरुलाई पराजित गर्दै न्यूयोर्कको मेयरको लागि उम्मेदवार बन्न सफल भए ।

आगामी नोभेम्बर ४ मा हुने न्यूयोर्कको मेयर निर्वाचनका लागि उनको पार्टी डेमोक्र्याटिकले उम्मेवार बनाएसँगै मम्दानी फरक शैलीका योजना, आप्रवासीका मुद्दा, युवाको शक्ति र न्यूयोर्कको श्रम बजारसँगै मध्यम वर्गीयको आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिसकेका छन् । मम्दानीसँग वर्तमान मेयर एरिक एडम्स पनि चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारका रुपमा २०२१ मा मेयर बनेका एरिक मम्दानीका मुख्य प्रतिस्पर्धी हुन् ।

हालसम्म चुनावी मैदानमा मम्दानी, वर्तमान मेयर एडम्स, रिपब्लिनक पार्टीबाट कर्टिक स्लीवा र अर्का स्वतन्त्र उम्मेदवार एन्ड्र क्वियुओमो छन् । यीमध्ये आप्रवासीसँगै युवा वर्गमा चर्चामा रहेका मम्दानीले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् ।

मम्दानीले न्यूयोर्कलाई सबैका लागि सस्तो सहर बनाउने योजनालाई प्राथमिकतामा राखेका छन् । उनले निःशुल्क बस सेवा, आवासका लागि स्थिर भाडा, प्रत्येक स्ट्रिटमा सस्तो पसलहरु, २ लाख नयाँ सस्तो आवास एकाइहरु स्थापनामा जोड दिएका छन् । उनले सन् २०३० सम्ममा सार्वजनिक सुरक्षा सुधार, सबै क्षेत्रमा न्यूनतम ज्यालामा अनिर्वाय वृद्धि र वार्षिक मिलियन भन्दा बढी कमाउनेहरुमा कर वृद्धि गर्ने दाबीसमेत गर्दै आएका छन् ।

मम्दानीले प्यालेस्टिनी जनताप्रति इजरायलले गरेको व्यवहारप्रति खुलेर आलोचनासमेत गरिरहेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यदि न्यूयोर्कमा आएमा पक्राउ गरेर अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट वारेन्ट जारी गराउने प्रतिबद्धतासमेत जनाएका छन् ।

मम्दानीले अमेरिकी सञ्चारमाध्यमहरुमा अन्तर्वार्ताका क्रममा न्यूयोर्कलाई पर्यटकीय सहरसँगै हरेक वर्गका लागि सहज रुपमा बाँच्न सक्ने महानगर बनाउने बताएका छन् । ‘मैले अघि सारेको योजना मेरो कार्यकालमा म पूरा गर्नेछु,’ उनले भने, ‘राजनीतिक रुपमा म लामो यात्रामा छु, मैले अमेरिका बस्ने आप्रवासीको पीडालाईसमेत सम्बोधन गर्ने कोशिस गर्नेछु ।’ 

मम्दानीले आफूले मुख्य ६ किसिमका योजनालाई हाल प्राथमिकतामा राखेर चुनावी प्रचारप्रसारलाई अघि बढाएको बताउँदै आएका छन् । मम्दानी निर्वाचित भएमा उनी न्यूयोर्कको पहिलो आप्रवासी मुस्लिम मेयर बन्नेछन् ।

Mamdani, a Muslim immigrant in New York's leadership hod

मम्दानीमाथि खनिए राष्ट्रपति ट्रम्प

न्यूयोर्कको मेयरका उम्मेदवार मम्दानीमाथि राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित हुन थालेका छन् । राष्ट्रपति ट्रम्पले ‘एक आप्रवासी जो अंगीकृत नागरिक छ, उसलाई महत्त्वपूर्ण पदमा पुर्‍याउन नहुने’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ट्रम्पले मम्दानी एक अवैध आप्रवासी भएको र न्यूयोर्क शहरमा कागजातविहीन आप्रवासी पक्राउमा अवरोध गरेमा उनलाई नियन्त्रणमा लिइने धम्कीसमेत दिएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । ‘धेरै मानिसहरूले मम्दानी यहाँ अवैध रुपमा बस्दै आएका छन् भनिरहेका छन्,’ राष्ट्रपति ट्रम्पले भने, ‘मम्दानीबारे हामी सबै कुरा हेर्नेछौं ।’ 

उनले मम्दानी एक आप्रवासी भएको र आप्रवासीको नेतृत्वमा एक विशाल महानगर अघि बढाउन नहुने टिप्पणी गर्दै आएका छन् । ट्रम्पको भनाइ गलत भएको भन्दै मम्दानीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । उनले ट्रम्पको धारणा लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गरेका छन् ।

‘ट्रम्पको गलत दाबी र धम्कीलाई मैले स्वीकार गर्न सक्दिन, यो लोकतन्त्रमाथि गरिएको आक्रमणको रुपमा लिएको छु, राष्ट्रपति ट्रम्पले मलाई पक्राउ गर्ने, मेरो नागरिकता खोस्ने, हिरासत शिविरमा राख्ने र देश निकाला गर्ने धम्की दिएका छन् । मैले कुनै कानुन तोडेको कारणले होइन,’ उनले भने । 

ट्रम्पको धारणाबारे न्यूयोर्क गभर्नर क्याथी होचुलले पनि प्रतिक्रिया जनाएकी छन् । ‘तपाईं  संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराले मलाई वास्ता छैन,’ होचुलले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यदि तपाईंले हाम्रा छिमेकीहरुमध्ये एकलाई गैरकानुनी रूपमा पछ्याउने धम्की दिनुभयो भने, तपाईं २ करोड न्यूयोर्क बासीहरुसँग लडाईं रोज्दै हुनुहुन्छ । त्यो लडाईं मबाट सुरु गर्नुस् ।’ 

होचुलले मम्दानीको पक्षमा ट्रम्पको भनाइमाथि प्रतिक्रिया जनाए पनि उनले हालसम्म चुनावी समर्थन भने जनाएकी छैनन् । 

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully