गाजामा इजरायली आक्रमण तीव्र, २४ घण्टामा ११८ जनाको मृत्यु

असार २०, २०८२

एजेन्सी

Israeli attack on Gaza intensifies, 118 dead in 24 hours

गाजा — इजरायली हमलामा पछिल्लो २४ घण्टामा कम्तीमा १ सय १८ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हमलामा ५ सय ८१ जना घाइते भएका छन् ।

मन्त्रालयले जनाएअनुसार अमेरिका र इजरायल समर्थित सहायता केन्द्रहरूमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका छन् ।

भोकमरीका कारण सहायता खोज्न केन्द्रहरूमा जाने क्रममा इजरायली सेनाले गरेको आक्रमणमा गत मे २७ यता मात्र ६ सय ५२ जनाको मृत्यु भएको बताइएको छ भने ४ हजार ५ सय ३७ जना घाइते भएका छन् ।

वेस्ट ब्यांकमा ३० प्यालेस्टिनी पक्राउ

प्यालेस्टिनी प्रिजनर्स सोसाइटी (पीपीएस) का अनुसार इजरायली सेनाले वेस्ट ब्यांकको डेयर इस्तिया गाउँमा बिहीबार बिहानै ७ जना हाईस्कुल विद्यार्थीसहित ३० प्यालेस्टिनीलाई पक्राउ गरेको छ । यी विद्यार्थी बिहीबारदेखि सुरु हुने परीक्षामा सहभागी हुँदै थिए । प्यालेस्टिनी शिक्षा मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष ६७ विद्यार्थीलाई इजरायली प्रहरीले पक्राउ गरेकाले उनीहरूले परीक्षा दिन पाएका छैनन् ।

हमासले बुधबार बिहान गाजामा भएको इजरायली आक्रमणमा आफ्ना तीन लडाकुको मृत्यु भएको जनाएको छ । २०११ मा कैदी आदानप्रदानमा रिहा भएका यी लडाकुको मृत्युमा हमासले शोक व्यक्त गरेको हो । यद्यपि, इजरायली सेनाले उत्तरी गाजामा ‘आतंककारी समूह’ लाई नष्ट गरेको दाबी गरेको छ तर यी दुई घटना एकै हुन् वा फरक भन्ने स्पष्ट भइसकेको छैन । इजरायली सेनाले भने बुधबार स्डेरोट र इबिममा रकेट प्रहार गर्ने सशस्त्र समूहविरुद्ध कारबाही गरेको जनाएको छ । सेनाले गाजाभर १ सय ५० ‘आतंककारीका ठेगानामा लक्षित गर्दै’ आक्रमण गरेको दाबी गरेको छ ।

अल जजिरासँगको कुराकानीमा मेडिकल स्रोतहरूले बिहानैदेखि गाजामा कम्तीमा ७३ जनाको मृत्यु भएको जनाएका छन्, जसमा ३३ जना सहायता खोज्नेहरू छन् । खान युनिसको पश्चिमी अल–मवासी क्षेत्रमा रहेको टेन्टमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको जनाइएको छ । जसमा एक दम्पती र उनका चार बच्चाहरू पनि छन् ।

त्यसैगरी, गाजा सिटीको पश्चिममा विस्थापितहरूलाई आश्रय दिएको मुस्तफा हाफेज स्कुलमा पनि इजरायली आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । त्यसैगरी, नबुल्सी नजिकै सहायता खोज्नेहरूलाई लक्षित गर्दै गरिएको आक्रमणमा ६ जनाको मृत्यु हुनुका साथै १ सय जना घाइते भएको बताइएको छ । उत्तरी सहर बेइत लाहियामा पनि इजरायलले आक्रमण गरेको छ, जसमा कम्तीमा ३ जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ ।

इजरायली सेनाको आक्रमणमा सोमबार पनि कम्तीमा ५१ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । नागरिक रक्षा प्रवक्ता महमुद बासलले मध्य र दक्षिणमा ११ वटा सहायता केन्द्रहरूसहित गाजाभरि इजरायलले आक्रमण गरेको हो । नागरिक सुरक्षा रिपोर्टबारे इजरायली सेनाले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।

इजरायलले भोकमरीलाई हतियार बनाएर नरसंहार गरिरहेको एम्नेस्टीको आरोप

एम्नेस्टी इन्टरनेसनलले इजरायलले गाजामा भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरेको र यो नरसंहारको नीतिको हिस्सा भएको आरोप लगाएको छ । एम्नेस्टीका प्रमुख एग्नेस कालामार्डले भनेका छन्, ‘इजरायल र इरानबीचको हालको तनावमा विश्वको ध्यान गएका बेला इजरायलले गाजामा नरसंहार जारी राखेको छ, जसमा भोक र रोगको घातक मिश्रणले जनतालाई चरम संकटमा पुर्‍याएको छ ।’

एम्नेस्टीले गाजामा बालबालिकामा गम्भीर कुपोषणको अवस्था देखिएको र २०२३ अक्टोबरदेखि ६६ जनाको मृत्यु भएको तथा हजारौंलाई अस्पताल भर्ना गर्नुपरेको जनाएको छ । इजरायलले सहायता र अन्य आपूर्तिमा ‘गैरकानुनी नाकाबन्दी’ लगाएर सयौं सहायता ट्रकहरूलाई गाजा प्रवेशमा रोक लगाएको एम्नेस्टीको आरोप छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब १२ सय जना मारिएका थिए । जसमा १० जना नेपाली विद्यार्थी पनि थिए । त्यसक्रममा हमासले नियन्त्रणमा लिएका नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ । उक्त आक्रमणपछि इजरायलले गाजामा हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । 

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजाविरुद्धको युद्धले २०२३ अक्टोबर ७ देखि हालसम्म ५७ हजार १ सय ३० प्यालेस्टिनीको ज्यान लिएको छ भने १ लाख ३५ हजार १ सय ७३ जना घाइते भएका छन् । इजरायल–हमासबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने पानीको अभाव हुँदा २० लाखभन्दा बढी जनसंख्या गम्भीर मानवीय संकटसँग जुधिरहेका छन् ।

इजरायलले हमासलाई पूर्ण रूपमा अन्त्य गरेपछि मात्र कारबाही रोकिने बताएको छ । हमासले लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट इजरायली सेना पूरै फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । करिब ५० इजरायली नागरिक अझै हमासको कब्जामा छन् । जसमध्ये २० जना जीवित हुन सक्ने बताइएको छ ।

एजेन्सी

Link copied successfully