ट्रम्पको वैदेशिक अनुदान कटौती नीतिले प्रतिवर्ष २८ लाख बढीको ज्यान जोखिममा

असार १७, २०८२

कान्तिपुर संवाददाता

Trump's policy of cutting foreign aid puts more than 2.8 million lives at risk every year

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्।

अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्।

न्यून र मध्यम आय भएका देशहरूका लागि यसको असर विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्व जत्तिकै ठूलो हुने अनुमान रहेको लान्सेट रिपोर्टका सह–लेखक डेभिड रसेलाले बताएका छन्।

'यो बजेट कटौतीका कारण स्वास्थ्य क्षेत्रमा पछिल्ला दुई दशकमा भएको प्रगति अचानक रोकिन सक्छ र समस्या बल्झिन पनि सक्छ,' रसेलाले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

१३३ राष्ट्रको तथ्याङ्क विश्लेषण गर्दै अनुसन्धानकर्ताहरूको टोलीले सन् २००१ देखि २०२१ सम्मको अवधिमा यूएसएडको सहयोगले विकासशील देशहरूमा झन्डै ९ करोड १० लाख मानिसलाई मृत्यु हुनबाट जोगाएको अनुमान गरेका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत मार्चमा राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) का ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको जानकारी दिएका थिए।

अमेरिका हालसम्मको सबैभन्दा ठूलो मानवीय सहायता दिने राष्ट्र हो। अमेरिकाले ६० भन्दा बढी देशहरूमा सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। रुबियोका अनुसार अझै करिब १ हजार कार्यक्रमहरू सञ्चालनमै छन्।

कान्तिपुर संवाददाता

Link copied successfully