काठमाडौँ — नौ जनाको हत्या अभियोगमा दोषी ठहर ३४ वर्षीय ताकाहिरो शिराइसीलाई जापानमा मृत्युदण्ड दिइएको छ । जापानको न्याय मन्त्रालयले ‘ट्विटर किलर’ भनेर चिनिने शिराइसीलाई शुक्रबार मृत्युदण्ड दिइएको बताएको छ । ताकाहिरोलाई सन् २०१७ मा भएका नौ जनाको हत्याका लागि सन् २०२० मा मृत्युदण्डको सजाय सुनाइएको थियो । ताकाहिरो यौन दुर्व्यवहारको आरोपमा पनि अदालतबाट दोषी ठहर भएका थिए ।
सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी विचार व्यक्त गरेर बेपत्ता भएकी २३ वर्षीय युवतीको खोजीमा जुटेका अनुसन्धान अधिकारीहरु शिराइसीको अपार्टमेन्टमा पुगेका थिए । उनको अपार्टमेन्टमा प्रहरीले आठ किशोरकिशोरी, महिला र एक पुरुषको शव फेला पारेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए । सीएनएनका अनुसार शिराइसीको कोठाभित्र प्रहरीले तीनवटा कुलर बक्सभित्र मानिसका टाउका र र हड्डी फेला परेका थिए ।
अनुसन्धानकर्ताहरूका अनुसार शिराइसीले आत्महत्याको इच्छामा सहयोग गर्ने प्रस्ताव गर्दै ट्विटरमार्फत मानिसहरुसँग सम्पर्क बढाएका थिए । अपार्टमेन्टमा बोलाएर उनले तीन किशोरी र पाँच महिलाको बलात्कारपछि हत्या गरेका थिए भने एक महिलाका प्रेमीको पनि हत्या गरेका थिए । सामाजिक सञ्जालमार्फत सुरु भएको सम्पर्कलाई पहिल्याएर शिराइसीको अपार्टमेन्टमा पुगेका अधिकांशले सामाजिक सञ्जालमा आत्महत्याका विचारहरू पोस्ट गरेका भेटिएको थियो । अदालती बयानमा शिराइसीले यौन इच्छा पूरा गर्न आफूले तिनीहरुलाई मारेको बयान दिएका थिए ।
जापानी टेलीभिजन एनएचकेका अनुसार शिराइसीका वकिलले टोकियो उच्च अदालतमा फैसलाविरुद्ध अपिल गरेका थिए । तर पछि उनले अपिल फिर्ता लिए ।
एनएचकेसँग कुरा गर्दै शिराइसीका कारण छोरी गुमाएका एक बाबुले भनेका छन्, 'मृत्युदण्ड दिएर जीवन सिध्याउनुको सट्टा उसले जीवनभर गरेको अपराधको प्रायश्चित उसको जीवनमा देख्न चाहन्थे ।'
न्यायमन्त्री केइसुके सुजुकीले घटनाबारे जानकारी दिँदै पत्रकार सम्मेलनमा यो घटनाले अत्यन्त गम्भीर परिणामहरू निम्त्याएको र समाजमा अशान्ति फैलाएको बताएका छन् । न्यायमन्त्री सुजुकीका अनुसार जापानमा अहिले एक सय पाँच जना मृत्युदण्डको सजाय पर्खिरहेका छन् । जसमध्ये ४९ जनाले फैसला पुनर्विचारको माग गरिरहेका छन् ।
शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो । मृत्युदण्डको सजाय सकिएपछि मात्रै यो खबर सार्वजनिक भएको थियो । सन् २००७ देखि जापानले मृत्युदण्ड दिइएकाहरूको नाम र उनीहरूका अपराधहरूका विवरणहरू सार्वजनिक गर्न थालेको छ ।
जापानमा यसअघि सन् २०२२ जुलाईमा एक व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो । सन् २०१८ मा टोकियो सपिङ मलमा गाडी दुर्घटना गराएको र छुरा प्रहारमा सात जनाको ज्यान लिएको घटनामा उनी दोषी ठहर भएका थिए ।
