मस्को — इरानका आणविक केन्द्रमा अमेरिकी हमलापछि रुसले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई सहयोग नगर्ने निर्णय गरेको छ । आईएईए विभिन्न देशका आणविक कार्यक्रमलाई निगरानी गर्ने संयुक्त राष्ट्रसंघको संस्था हो ।
रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आईएईएलाई रुसले अबदेखि सहयोग नगर्ने निर्णय गरेको जानकारी दिए । ‘यो निर्णय बिनाकारण इरानका आणविक केन्द्रमा गरिएको हमलाको नतिजा हो,’ उनले भने, ‘यो अवस्थाले आईएईएको साख गिरेको छ, जुन चिन्ताको विषय हो ।’
रुस इरानको सहयोगीका रूपमा देखिँदै आएको छ । इरानमाथि इजरायल र अमेरिकाले गरेका हमलाको पनि रुसले निन्दा गरेको थियो । प्रवक्ता पेस्कोभले इरानमाथिको हमलापछि अमेरिका र रुसबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने आशंकालाई भने नकारेका छन् ।
यस्तै, चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग वार्ता गरेका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आईएईएको प्रावधानविपरीत इरानी आणविक केन्द्रमा हमला हुनु राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हो ।’
यसले आणविकसम्बन्धी विपत्ति ल्याउन सक्ने चीनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय समुदायले यसको विरोध गर्नुपर्छ,’ उनले भनेका छन् । चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ‘आफ्नो सम्प्रभुता र सुरक्षाका लागि इरानले उठाएको कदमलाई चीनले समर्थन गर्ने’ पनि उल्लेख छ ।
