कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म रकम रक्षा क्षेत्रमा लगानी गर्न नाटो सदस्यहरूको प्रतिबद्धता
काठमाडौँ — बेलायत सरकारले अमेरिकासँग परमाणु बम बोक्न सक्ने एक दर्जन एफ-३५ए लडाकु विमान खरिद गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केयर स्टार्मरको कार्यालयले जारी गरेको विज्ञप्तीमा यी विमानलाई ‘बेलायतको आणविक शक्ति बढाउने यो पुस्ताकै ठूलो कदम’ भनी उल्लेख गरिएको छ । यस खरिद कार्यसँगै बेलायती सेनाले तीन दसकपछि आवणविक हतियार बोक्न लागेको पनि डाउनिङ स्ट्रिटले जनाएको छ ।
बेलायतले अमेरिकी कम्पनी ‘लकहेड मार्टिन’ ले निर्माण गरेका एफ-३५ ए जेट विमान किन्न लाग्नुलाई अर्थपूर्ण मानिएको छ, त्यो पनि नाटो शिखर सम्मेलनका बेला यस्तो खबर बाहिरिएको हो । बेलायती हवाइ सेनाले शीतयुद्धपछि पहिलोपटक आवणविक हतियार बोक्ने तयारी गरिरहेको छ । अमेरिका र तत्कालिन सोभियत संघबीच सन् १९४७ देखि १९९१ सम्म जारी शीतयुद्धपश्चात बेलायतले रोयल एयर फोर्सबाट खसालिने आणविक बमसम्बन्धी आफ्नो क्षमता निष्क्रिय बनाएको थियो ।
‘अहिलेको अधिक अनिश्चित समयमा हामी विश्वमा सँधै शान्ति रहिरहन्छ भन्न सक्दैनौँ, त्यसैले हामी राष्ट्रिय सुरक्षामा लगानी गरिरहेका छौँ,’ प्रधानमन्त्री स्टार्मरले भनेका छन्, ‘यी विमानले परम्परागत र आणविक दुवै हतियार बोक्न सक्छन् । हाम्रो ब्रिटिश वायु सेनालाई यिनले थप शक्तीशाली बनाउनेछन् । यसले बेलायत र हाम्रा मित्रराष्ट्रहरूलाई खतरामा पार्ने कुनै पनि दुश्मनलाई निरुत्साहित गर्न मद्दत पुग्नेछ ।’
अलजजिराका अनुसार उत्तर एटलान्टिक सैन्य संगठन (नाटो)का महासचिव मार्क रुटले बेलायतको यस घोषणाको स्वागत गर्दै ‘नाटोमा बेलयातको अर्को महत्वपूर्ण योगदान’ भएको प्रतिकृया दिएका छन् । यसै साता मंगलबार र बुधबार नेदरल्यान्ड्सको हेगमा नाटोको शिखर सम्मेलन आयोजना गरिएको थियो । एएफपी समाचार संस्थाका अनुसार अमेरिका, जर्मनी र इटाली गरी हाल नाटोका सात सदस्य राष्ट्रहरूसँग दोहोरो क्षमताका फाइटर जेट छन् जसले परम्परागत र आडविक दुवै हतियार बोक्न सक्छन् । अब बेलायतसँग पनि यस्तो हतियार हुनेछ ।
नाटोका सदस्य राष्ट्रहरूले रक्षा क्षेत्रमा पर्याप्त लगानी नगरेको भन्दै गुनासो गरिरहने अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई रिझाउने गरी बेलायतले लडाकु विमान खरिद गर्न लागेको हो । बेलायत मात्रै होइन, नाटोका लगभग सबै सदस्य राष्ट्रहरूले बुधबार सम्पन्न शिखर सम्मेलनमा ट्रम्पकै प्रस्तावअनुसार आफ्नो देशको कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म रकम रक्षा क्षेत्रमा लगानी गर्न समहती जनाएका थिए । यसलाई ट्रम्पले तारिफ गरेका छन् ।
बेलायतले पनि सन् २०३५ सम्ममा कुल रक्षा खर्चलाई कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म पुर्याउने विषयमा सहमती र प्रतिबद्धता जनाएको छ । स्पेनले भने जीडीपीको ५ प्रतिशत रक्षा खर्चको लक्ष्य पूरा गर्न आवश्यक नरहेको बताएपछि ट्रम्पले स्पेनलाई धम्कि दिँदै यसको बदलामा व्यापार सम्झौतामा दोब्बर पैसा तिराउने बताएका छन् ।
‘मलाई स्पेन मन पर्छ, यो असाध्यै राम्रो ठाउँ हो र त्यहाँका मानिसहरू पनि राम्रा छन् तर सबै देशहरूमध्ये स्पेन मात्र यस्तो देश हो जसले पैसा तिर्न आनाकानी गर्छ,’ ट्रम्पले भनेका छन्, ‘ उनीहरू कतिपय चिज सित्तैमा प्राप्त गर्न खोज्छन् तर म यस्तो हुन दिन्नँ । उनीहरूले हामीलाई व्यापारमा बढी तिर्नुपर्नेछ ।’
विश्वकै उन्नत र सबैभन्दा महँगो विमान खरिद कार्य सम्पन्न भएपछि बेलायतमा २० हजार रोजगारी सिर्जना हुनुका साथै सयभन्दा धेरै आपूर्तिकर्ताहरूले एफ ३५ कार्यक्रमका लागि योदान पुर्याउन सक्ने बेलायत सरकारको प्रेस विज्ञप्तीमा भनिएको छ । ‘नाटोप्रति बेलायतको प्रतिबद्धतामा कुनै प्रश्न गर्नुपर्ने ठाउँ छैन न त बेलायतलाई सुरक्षित राख्न नाटोको योगदानमा शंका गर्नुपर्नेछ,’ प्रधामन्त्री स्टार्मरले भनेका छन्, ‘तर युरो-एटलान्टिक क्षेत्रलाई आगामी पुस्ताहरूका लागि जोगाइराख्न हामी सबैले कदम चाल्नुपर्छ ।’
रोयटर्सका अनुसार बेलायतको आणविक प्रतिरोध क्षमता हाल पनडुब्बीबाट प्रहार गरिने लामो दूरीका ब्यालिस्टिक मिसाइल वा ट्राइडेन्ट सबमरिन प्रणालीमा निर्भर छ । यसको अर्थ, बेलायतका लागि आणविक बम बोक्ने र प्रहार गर्ने मुख्य साधन ट्राइडेन्ट मिसाइलहरू जडित पनडुब्बीहरू हुन् ।
बेलायतले सधैँ कम्तीमा एउटा ट्राइडेन्ट पनडुब्बीलाई गोप्य रूपमा समुद्रमा गस्तीमा राख्ने गरेको बताइन्छ । आणविक आक्रमण भइहालेमा तिनले रोक्न सक्छन् । यस्ता ट्राइडेन्ट मिसाइलहरू पनि अमेरिकामै बनेका भएकाले मर्मत-सम्भारका लागि बेलायतले अमेरिकाकै भर पर्नु पर्छ । अमेरिकासँग भने स्थल, समुद्री र हवाइमा आधारित आणविक हतियारहरू छन् ।
