एजेन्सी (जेरुसलेम) — इरानले सोमबार बिहान इजरायलतर्फ चार चरणमा गरेर करिब १० वटा मिसाइल प्रक्षेपण गरेको इजरायली सेनाले जनाएको छ । इरानको मिसाइल आक्रमणपछि इजरायलको उत्तरी क्षेत्रदेखि गाजापट्टीको सीमासम्मका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो ।
उक्त क्षेत्रका नागरिकले करिब एक घण्टासम्म सुरक्षित स्थलमा आश्रय लिएका थिए ।
इजरायली हवाई सुरक्षा प्रणालीले भने ७ मिसाइललाई निस्तेज पार्न सफल भए पनि बाँकी तीन वटा मिसाइल इजरायली भूमिमा खसेको सरकारी स्वामित्वको कान टेलिभिजनले जनाएको छ । ती मिसाइल इजरायलको असदोड सहर, याभ्ने र उत्तर इजरायलमा खसेका हुन् । आक्रमणमा मानवीय क्षतिका बारेमा भने हालसम्म कुनै सूचना जारी गरिएको छैन । इजरायली गृह मोर्चा कमान्डका कर्णेल यारोन बार दयानले उक्त आक्रमणमा क्लस्टर वारहेडयुक्त मिसाइलको प्रयोग भएको बताउँदै यसले व्यापक रूपमा क्षति पुर्याउने सम्भावना रहेको बताए ।
इरानका सैन्य स्थलमा इजरायली आक्रमण
त्यसैगरी, पश्चिमी इरानको केरमानसाह क्षेत्रमा रहेका सैन्य पूर्वाधार स्थलहरूमा सोमबार १५ वटाभन्दा बढी लडाकु विमानमार्फत मिसाइल आक्रमण गरेको इजरायली वायु सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ । इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्दोमा पनि आक्रमण गरेको छ । एक दिनअघि मात्रै अमेरिकाले पनि फोर्दोसहित इस्फाहान र नातान्जका इरानी तीन आणविक स्थलमा हमला गरेको थियो । ‘आक्रमणकारी (इजरायल) ले फेरि फोर्दो आणविक स्थलमा आक्रमण गरेको छ,’ कोम प्रान्तको संकट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै तस्निम न्युज एजेन्सीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई समाप्त गरेको दाबी गरिरहँदा अन्य अधिकारीले भने तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् ।
आइतबार मध्यरात पनि इजरायली एयरफोर्सले इरानको शाहरूदमा ब्यालेस्टिक मिसाइलको इन्जिन बनाउने कारखानामा बमबारी गरेको थियो । यो क्षेत्र इजरायलभन्दा करिब २ हजार किलोमिटर टाढा पर्छ । आक्रमणमा इन्जिन बनाउने कैयौं मेसिन र अन्य सामग्रीहरू नष्ट भएको बताइएको छ । यसबाहेक इजरायलले तेहरान, केरमान्शाह र हमादानमा पनि एयर स्ट्राइक गरेको थियो । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमा इरानलाई फेरि महान् देश बनाउने समय आएको उल्लेख गर्दै लेखेका छन्, ‘हालको सरकार इरानका लागि फेरि महान् बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनु ? मेक इरान ग्रेट अगेन ।’
अमेरिकाले आइतबार इरानका तीन आणविक केन्द्र फोर्दो, नतान्ज र इस्फहानमा आक्रमण गरेर इजरायल–इरानबीचको युद्धमा सहभागिता जनाएको छ । यो अप्रेसनमा ७ बी–२ स्टेल्थ बम्बर्स प्रयोग गरिएको थियो । यस्तै इरानले पनि आइतबार इजरायलमा आक्रमण गरेको छ । इरानी आक्रमणमा इजरायलको नेस जियोनामा केही संरचना ध्वस्त भएका छन् ।
जासुसीको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानको न्यायपालिकाले दोषी ठहर गरेपछि एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । ‘यहुदी शासन (इजरायल)का लागि गुप्तचरका रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,’ इरानको उक्त न्यायालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।
इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह
अमेरिकी आक्रमणपछि इरानी संसद्ले महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्ने निर्णय पारित गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस कदमलाई तत्काल रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गरेका छन् । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग ‘लाइफ लाइन’ मानिन्छ । इराक, कतार तथा इरान जस्ता देशका तेल निर्यात यही मार्ग हुँदै हुने गर्छ । रुबियोले फक्स न्युजसँग भने, ‘म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । यदि इरानले हर्मुज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती हुनेछ ।
इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक
इजरायल र इरानबीच बढ्दो तनावका बीच तुर्किएको इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ । उक्त बैठकमा इरानमाथि हालैका इजरायली आक्रमण र यसले इरानका क्षेत्रमा निम्तिएका सुरक्षा चुनौतीका बारेमा छलफल भएको बताइएको छ । उद्घाटन सम्बोधनका क्रममा तुर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि गरिरहेको सैन्य हमलाको कडा निन्दा गरेका छन् ।
त्यसैगरी, तुर्किएका विदेशमन्त्री हाकान फिदानले मध्यपूर्व क्षेत्रका लागि इजरायल समस्या बनेको धारणा राखेका छन् । उनले भने, ‘यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभई स्पष्ट रूपमा इजरायलको समस्या हो ।’ दुईदिने बैठकमा ३५ भन्दा बढी देशका विदेशमन्त्री सहभागी थिए । जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू पनि उपस्थित थिए ।
