इरानमा अमेरिकी हमला : हर्मुज स्ट्रेट बन्द गर्ने इरानी संसदको प्रस्ताव पारित

असार ८, २०८२

एजेन्सी

US attack on Iran: Iranian parliament passes resolution to close Hormuz Strait

तेहरान — इरानको संसदले आइतबार अमेरिकी हवाइ आक्रमणको प्रत्युत्तरमा विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यो प्रस्तावको अब अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले दिनुपर्नेछ ।

अमेरिकाको हवाइ हमलाले इरानका नतान्ज, फरडओ र इस्फहानस्थित आणविक स्थलमा ठूलो क्षति पुगेको छ । तेहरानले यसलाई स्पष्ट आक्रमणको संज्ञा दिएको छ ।

उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अर इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो । यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठूलो चेकप्वाइन्टका रूपमा लिइन्छ । 

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार, विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत लिक्विफाइड न्याचुरल ग्यास यही साँघुरो मार्ग हुँदै ढुवानी हुन्छ । हरेक दिन करिब २०.९ मिलियलन ब्यारेल तेल र यससम्बन्धी उत्पादन यही मार्गबाट विशेष गरी भारत, चीन, जापान, दक्षिण कोरियासहित विश्वका विभिन्न ठाउँमा जाने गरेको छ ।

इजरायलले आफ्ना सैन्य एवं परमाणु केन्द्रहरूमा हमला गरेपछि इरानले यो मार्ग बन्द गरिदिने धम्की दिएको थियो । साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा समस्या आई पर्नसक्छ । त्यसले गर्दा तेलको मूल्यले आकाश छुन सक्ने जानकारहरूको चेतावनी छ । जेपी मोर्गनको विश्लेषणअनुसार स्ट्रेट अफ हर्मुज बन्द भए, तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ ।

इरानी सांसद मोहम्मद हसन असफारीले यो प्रस्ताव एउटा सुरक्षा रणनीतिक विकल्प भएको बताएका छन् । यसलाई सुरुमै लागु नगरी परिस्थितिअनुसार प्रयोग गरिने उनले उल्लेख गरेका छन् ।

वासिङ्टनले यसमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन तर ह्वाटहाउसले भने स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ र क्षेत्रीय व्यापार स्वतन्त्रता सुनिश्चित गर्न पहल भइरहेको बताएको छ ।

एजेन्सी

Link copied successfully