इरान-इजरायल द्वन्द्वको आर्थिक प्रभाव बढ्दो

असार ४, २०८२

एजेन्सी

The growing economic impact of the Iran-Israel conflict

काठमाडौँ — गत शुक्रबार रातिदेखि चर्किरहेको इजरायल-इरान युद्धको विश्वव्यापी आर्थिक प्रभावबारे चिन्ता बढ्न थालेका छन् । अहिले ऊर्जा बजार र उड्डयन क्षेत्र प्रभावित बनिसकेका छन् । कच्चा तेलको मूल्य ११ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७५.३२ डलर पुगिसकेको छ । युद्ध जारी रहे यो १२० डलर प्रतिब्यारेल पुग्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

आर्थिक पाटोबाट हेर्दा, विशेष गरी हर्मुजको खाडीलाई लिएर देशहरू चनाखो बनेका छन् । इरानले यो समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । त्यसो गरिए विश्व ऊर्जा बजार नराम्री प्रभावित हुनेछ । नेपालसम्म पनि त्यसको असर आइपुग्ने अनुमान गर्न सकिन्छ । किनभने, भारतले ८५ प्रतिशत कच्चा तेल त्यही हर्मुजको खाडीस्थित साँघुरो समुद्री मार्गबाट भित्र्याउने गरेको छ । त्यो मार्ग बन्द भएमा तेलको भाउ अकासिनेछ । इरानमा अमेरिकी प्रतिबन्धका कारण भारतले सिधै इरानबाट तेल किन्दैन । तथापि, विश्वव्यापी तेल बजारमा इरान महत्त्वपूर्ण खेलाडी रहँदै आएको छ ।  

स्ट्रेट अफ हर्मुज बन्द हुने भय

उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अर इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तराष्ट्रिय व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो । यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठूलो चेकप्वाइन्टका रूपमा लिइन्छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार, विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत लिक्विफाइड न्याचुरल ग्यास यही साँघुरो मार्ग हुँदै ढुवानी हुन्छ । हरेक दिन करिब २०.९ मिलियलन ब्यारेल तेल र यससम्बन्धी उत्पादन यही मार्गबाट विशेष गरी भारत, चीन, जापान, दक्षिण कोरियासहित विश्वका विभिन्न ठाउँमा जाने गरेको छ ।

The growing economic impact of the Iran-Israel conflict

इजरायलले आफ्ना सैन्य एवं परमाणु केन्द्रहरूमा हमला गरेपछि इरानले यो मार्ग बन्द गरिदिने धम्की दिएको छ । साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा समस्या आई पर्नसक्छ । त्यसले गर्दा तेलको मूल्यले आकाश छुन सक्ने जानकारहरूको चेतावनी छ । जेपी मोर्गनको विश्लेषणअनुसार स्ट्रेट अफ हर्मुज बन्द भए, तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ ।   

युद्धमा गरिएको खर्च

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार युद्धको चौथो दिनसम्म इजरायलले प्रतिदिन करिब ७२ करोड ५० लाख अमेरिकी डलर (करिब ९५ अर्ब रुपैयाँ)आक्रमणका लागि खर्च गरिरहेको अनुमान छ । इजरायली सेना प्रमुखका पूर्वआर्थिक सल्लाहकार तथा रिजर्भ ब्रिगेडियर जनरल रिएम अमीनाखका अनसार युद्धका पहिलो दुई दिनमा मात्र इजरायलले १.४५ अर्ब डलर खर्च गरेको थियो । त्यसमा ५९३ मिलियन डलर आक्रमणसम्बन्धी खर्च र बाँकी रकम प्रतिरक्षा तथा आरक्षित सैनिक परिचालनमा खर्च गरिएको थियो । 

जारी युद्धका कारण इजरायलको अर्थ मन्त्रालयले सन् २०२५ को आर्थिक वृद्धि दर ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशतमा झारेको छ । चालु आर्थिक वर्षको बजेट घाटाको सीमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४.९ प्रतिशत वा करिब २७.६ अर्ब डलर तोकिएको छ । इजरायलको वार्षिक बजेटमा आपत्कालीन स्रोतको व्यवस्थापन गरिए पनि गाजामा भएको युद्धका कारण सो स्रोतमध्ये अधिकांश खर्च भइसकेको इकोनमिक टाइम्सले वाईनेट न्युजलाई उद्धृत गर्दै लेखेको छ । इरानसँगको हालको युद्धका लागि इजरायली बजेटमा तोकिएको स्रोत आपत्कालीन स्रोत पर्याप्त नभएको समाचारमा उल्लेख छ ।

ऊर्जा आपूर्तिमा असर

यस युद्धले मध्यपूर्व क्षेत्रको ऊर्जा आपूर्ति प्रणालीमा असर पार्ने संकेत देखिएको छ । इजरायली आक्रमणपछि ब्रेन्ट क्रुड तेलको मूल्य ७४.६० डलर प्रतिब्यारेलमा पुगेको छ । यो विगतको तुलनामा करिब ७ प्रतिशतले वृद्धि हो । विश्वका झन्डै एक तिहाइ समुद्री तेल आपूर्ति हुने स्ट्रेट अफ हर्मुज बन्द हुने जोखिम बढेकाले तेलको मूल्य सय डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । तथापि, यसले इरानकै निर्यातमा पनि बाधा पुर्‍याउने भएकाले इरानलाई हर्मुजको खाडी बन्द गरिहाल्न सहज छैन । विशेष गरी चीनमा तेल, फलाम, प्लास्टिक, रासायनिक पदार्थहरू निर्यात गर्न इरानलाई यो मार्ग महत्त्वपूर्ण छ ।   

तर, युद्धका कारण तेलको मूल्य वृद्धि भएमा विश्वभर ऊर्जा, खाद्यान्न तथा उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने विज्ञहरूले औँल्याइरहेका छन् । त्यसले विश्वव्यापी मुद्रास्फीतिमा दबाब बढाउनेछ । त्यस्तै, युद्धका कारण विश्वका पुँजी बजारहरूमा पनि असर देखिएको छ । अमेरिका, युरोप र मध्यपूर्वका सूचकाङ्कहरूमा गिरावट आएको छ ।  प्रतिरक्षा र ऊर्जा कम्पनीहरूको सेयर मूल्यमा भने वृद्धि देखिएको छ । सुनको भाउ बढेको छ । लगानीकर्ताहरू तुलनात्मक रूपमा सुरक्षित मानिने सुन लगायत वैकल्पिक क्षेत्रमा लगानी सार्न थालेका छन् । वायुसेवा क्षेत्र उत्तिकै प्रभावित बनेको छ। इमिरेट्स, इत्तिहाद, कतार एयरवेज लगायत प्रमुख विमान कम्पनीहरूले इरान, इराक, लेबनान तथा जोर्डनतर्फका उडानहरू स्थगित गरेका छन् । इरान, इराक र जोर्डनले आफ्नो हवाई क्षेत्र बन्द गर्दा त्यसको असर युरोप-एसियाबीचको उडान मार्गमा परेको छ ।

ठप्प बजार

द्वन्द्व चर्चिकएसँगै ईरानको राजधानी तेहरानबाट ठूलो संख्यामा मानिसहरू बाहिरिन थालेका छन् । झन्डै एक करोड जनसङ्ख्या भएको यो सहर मध्यपूर्वकै ठूलो सहरहरूमध्ये पर्छ । मंगलबार बिहानदेखि भने सहर सुनसान देखिन थालेको एपीको समाचारमा भनिएको छ । अधिकांश पसलहरू बन्द भएको र ऐतिहासिक ग्रान्ड बजार पनि ठप्प देखिएको छ । 

The growing economic impact of the Iran-Israel conflict

इरानको राजधानी तेहरानस्थित ऐतिहासिक ग्रान्ड बजारमा अधिकांश पसलहरू बन्द भएका बेला सोमबार दिउँसो ग्राहकको प्रतीक्षामा रहेका एक व्यापारी ।

सोमबार बिहान इजरायली सेनाले तेहरानको केन्द्र क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ३० हजार जनालाई सहर खाली गर्न निर्देशन दिएको थियो। तर, यसअघि नै सहरमा भएका आक्रमणपछि थुप्रै मानिसहरूले भाग्न थालेका थिए। धेरैजसो मानिसहरू क्यास्पियन समुद्री क्षेत्रतर्फ जाँदै गरेको एपीले जनाएको छ ।

युरोपेली देश र अन्यले पनि इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन थालेका छन् । स्लोभाकियाले सोमबार नै पहिलो उद्धार उडान सफल भएको पुष्टि गरेको छ । सो विमानमा ७३ यात्रु थिए, जसमा २५ स्लोभाक पर्यटक र तेल अभिभमा कार्यरत कूटनीतिज्ञका ५ जना आफन्त पनि रहेको बताइन्छ । पोल्यान्डले नपि आफ्ना नागरिकहरूलाई इजरायलबाट निकाल्ने तयारी गरेको छ । उद्धार कार्य बुधबार र बिहीबारका लागि तय गरिएको छ । भारतले  तेहरानबाट केही विद्यार्थीहरूलाई सुरक्षित रूपमा उद्धार गरिसकेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार केही नागरिकहरूलाई आर्मेनियासँगको सीमा नाका हुँदै बाहिर ल्याइएको छ । 

एजेन्सी

Link copied successfully