पाँच शिशुको हत्या आरोपमा नर्सलाई आजीवन कारावास

असार ६, २०८२

एजेन्सी

Nurse jailed for life for killing five babies

ब्युनर्स आयर्स — अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या तथा अन्य ८ जनाको हत्या प्रयास गरेको अभियोग पुष्टि भएपछि एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएका छन् ।

ब्रेन्डा सेसिलिया अगुएरो नाम गरेकी ती नर्सले २०२२ मार्च र जुनको बीचमा आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूलाई पोटासियम र इन्सुलिन सुई दिएकी थिइन् । स्वस्थ जन्मिएका सबै बच्चाको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा मृत्यु भएको थियो । तत्काल चिकित्सा हस्तक्षेपका कारण अन्य ८ जना भने बाँचेका थिए । 

मुद्दामा पूर्वप्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीसहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरबाहीको आरोप लगाइएको थियो । आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्वनिर्देशक समावेश थिए । 

२०२२ मा पक्राउ परेकी अगुएरोले भने आरोपहरू अस्वीकार गरेकी थिइन् । उनले अदालतलाई ‘आफूविरुद्ध अदालतसँग कुनै प्रमाण नभएको’ र मिडियाले आफूलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् । 

अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरिए पनि सजाय कम सुनाइएको छ भने बाँकी पाँचलाई निर्दोष ठहर गरिएको थियो ।

एजेन्सी

Link copied successfully