इरानलाई बिनासर्त आत्मसमर्पण गर्न ट्रम्पको चेतावनी, जवाफमा खोमेनीले गरे युद्ध घोषणा

इजरायलको आक्रमणमा परी बुधबारसम्म इरानमा ५ सय ८५ जनाको मृत्यु, १२ सयभन्दा बढी घाइते, इजरायलमा २४ जनाले ज्यान गुमाए

असार ५, २०८२

कान्तिपुर संवाददाता

Trump's warning to Iran to surrender unconditionally, Khomeini declared war in response

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनासर्त आत्मसमर्पण गर्न धम्की दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमेनीले जवाफमा युद्धको घोषणा गरेका छन् । खोमेनीले मंगलबार राति सामाजिक सञ्जाल एक्समार्फत इजरायलविरुद्ध युद्धको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘युद्ध सुरु भयो । हामी आतंकवादी इजरायललाई कडा जवाफ दिन्छौं । उनीहरूविरुद्ध कुनै दया देखाउने छैनौं ।’ उनले इजरायलसँग कुनै पनि सम्झौता नगर्नेसमेत बताएका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिएका थिए । उनले इरानका सर्वोच्च नेता खोमेनी कहाँ लुकेको भन्ने जानकारी आफूहरूलाई भएको र उनलाई निसाना बनाउनु कुनै ठूलो कुरो नभएको बताएका छन् । ट्रम्पले लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेका छन्, हामीलाई राम्रोसँग थाहा छ । उनी एक सहज निसाना हुन् । तर अहिलेलाई भने उनी सुरक्षित छन् ।’ 

ट्रम्पको चेतावनीपछि खोमेनीले जवाफमा युद्ध घोषणा गरेका हुन् । खामेनेईको युद्ध घोषणालगत्तै इरानले इजरायलमाथि २५ मिसाइल प्रहार गरेको छ । इरानी मिडियाका अनुसार इरानको सैन्य शाखा आईआरजीसीले बुधबार बिहान इजरायलमा फतह मिसाइल प्रहार गरेको थियो । युद्धमा फतह–१ को प्रयोग गरिएको यो पहिलो पटक हो ।

फतह मिसाइल हाइपरसोनिक हो । यसको गति आवाजको भन्दा पाँच गुणा बढी हुन्छ । आईआरजीसीका अनुसार फतह मिसाइलले इजरायलको डिफेन्स सिस्टमलाई भेद गर्दै अन्य सुरक्षित क्षेत्रलाई पनि निसाना बनाएको छ । यद्यपि इजरायलमा यो मिसाइलबाट कति क्षति भयो भन्ने आधिकारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन । 

१३ जुनमा इजरायलले इरानमाथि आक्रमण गरेपछि दुवै देशबीच युद्ध जारी छ । अमेरिकाको ह्युमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५ सय ८५ जनाको मृत्यु भएको दाबी गरेको छ । इरान सरकारले अहिलेसम्म मृतकहरूको यकिन जानकारी सार्वजनिक गरेको छैन । सोमबारसम्म दिएको जानकारी अनुसार २ सय २४ जना मारिएका छन् भने १२ सय ७७ जना घाइते छन् । यता इजरायलमा भने इरानको आक्रमणमा परी २४ जना मारिएका छन् । 

इरानले पहिलेदेखि नै अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको तयारी गरिरहेको अमेरिकी अधिकारीले बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । इरानले मिसाइल र हतियार तयार गरेको र आवश्यक पर्दा अमेरिकाविरुद्ध आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीले बताएका छन् । अमेरिका इजरायलका तर्फबाट युद्धमा सहभागी भए इरानले पनि अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गर्ने अनुमान गरिएको छ । 

ट्रम्पले इरानलाई चेतावनी दिइरहँदा ६० प्रतिशत अमेरिकी नागरिक भने युद्धको विपक्षमा देखिएका छन् । अमेरिकाको युगावमा भएको एक सर्वेक्षणमा अधिकांश अमेरिकी नागरिकले अमेरिका इजरायल–इरान द्वन्द्वमा सहभागी हुन नहुने सुझाव दिएका हुन् । १६ प्रतिशतले मात्र अमेरिका युद्धमा सहभागी हुनुपर्नेमा सहमति जनाएका छन् । अमेरिका युद्धमा सहभागी हुनुपर्ने या हुन नहुने भन्ने विषयमा २४ प्रतिशत अन्योल देखिएका छन् । राजनीतिक रूपमा डेमोक्रेट्समध्ये ६५ प्रतिशतले अमेरिका युद्धमा सहभागी हुने कुरामा विरोध जनाएका छन् । रिपब्लिकनमध्ये ५३ प्रतिशतले विरोध जनाएका छन् ।

इरान–इजरायल द्वन्द्वको आर्थिक प्रभाव बढ्दो

इजरायल–इरान युद्धको विश्वव्यापी आर्थिक प्रभावबारे चिन्ता बढ्न थालेको छ । अहिले ऊर्जा बजार र उड्डयन क्षेत्र प्रभावित बनिसकेका छन् । कच्चा तेलको मूल्य ११ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७५.३२ डलर पुगिसकेको छ । युद्ध जारी रहे यो १२० डलर प्रतिब्यारेल पुग्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

आर्थिक पाटोबाट हेर्दा, विशेष गरी हर्मुजको खाडीलाई लिएर देशहरू चनाखो बनेका छन् । इरानले यो समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । त्यसो गरिए विश्व ऊर्जा बजार प्रभावित हुनेछ । नेपालसम्म पनि त्यसको असर आइपुग्ने अनुमान गर्न सकिन्छ । किनभने, भारतले ८५ प्रतिशत कच्चा तेल त्यही हर्मुजको खाडीस्थित साँघुरो समुद्री मार्गबाट भित्र्याउने गरेको छ । त्यो मार्ग बन्द भएमा तेलको भाउ अकासिनेछ । इरानमा अमेरिकी प्रतिबन्धका कारण भारतले सिधै इरानबाट तेल किन्दैन । तथापि, विश्वव्यापी तेल बजारमा इरान महत्त्वपूर्ण खेलाडी रहँदै आएको छ ।

उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो । यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठूलो ‘चेक प्वाइन्ट’ का रूपमा लिइन्छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार, विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत लिक्विफाइड न्याचुरल ग्यास यही साँघुरो मार्ग हुँदै ढुवानी हुन्छ । हरेक दिन करिब २०.९ मिलियलन ब्यारेल तेल र यससम्बन्धी उत्पादन यही मार्गबाट विशेष गरी भारत, चीन, जापान, दक्षिण कोरियासहित विश्वका विभिन्न मुलुकमा जाने गरेको छ ।

इजरायलले आफ्ना सैन्य एवं परमाणु केन्द्रहरूमा हमला गरेपछि इरानले यो मार्ग बन्द गरिदिने धम्की दिएको छ । साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा समस्या आइपर्न सक्छ । जेपी मोर्गनको विश्लेषणअनुसार स्ट्रेट अफ हर्मुज बन्द भए, तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार युद्धको चौथो दिनसम्म इजरायलले प्रतिदिन करिब ७२ करोड ५० लाख अमेरिकी डलर (करिब ९५ अर्ब रुपैयाँ) आक्रमणका लागि खर्च गरिरहेको अनुमान छ । इजरायली सेना प्रमुखका पूर्वआर्थिक सल्लाहकार तथा रिजर्भ ब्रिगेडियर जनरल रिएम अमिनाखका अनुसार युद्धका पहिलो दुई दिनमा मात्र इजरायलले १.४५ अर्ब डलर खर्च गरेको थियो । त्यसमा ५९३ मिलियन डलर आक्रमणसम्बन्धी खर्च र बाँकी रकम प्रतिरक्षा तथा आरक्षित सैनिक परिचालनमा खर्च गरिएको थियो ।

जारी युद्धका कारण इजरायलको अर्थ मन्त्रालयले सन् २०२५ को आर्थिक वृद्धि दर ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशतमा झारेको छ । चालु आर्थिक वर्षको बजेट घाटाको सीमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४.९ प्रतिशत वा करिब २७.६ अर्ब डलर तोकिएको छ । इजरायलको वार्षिक बजेटमा आपत्कालीन स्रोतको व्यवस्थापन गरिए पनि गाजामा भएको युद्धका कारण सो स्रोतमध्ये अधिकांश खर्च भइसकेको इकोनमिक टाइम्सले वाइनेट न्युजलाई उद्धृत गर्दै लेखेको छ । इरानसँगको हालको युद्धका लागि इजरायली बजेटमा तोकिएको स्रोत आपत्कालीन स्रोत पर्याप्त नभएको समाचारमा उल्लेख छ ।

यस युद्धले मध्यपूर्व क्षेत्रको ऊर्जा आपूर्ति प्रणालीमा असर पार्ने संकेत देखिएको छ । इजरायली आक्रमणपछि ब्रेन्ट क्रुड तेलको मूल्य ७४.६० डलर प्रतिब्यारेलमा पुगेको छ । यो विगतको तुलनामा करिब ७ प्रतिशतले वृद्धि हो । विश्वका झन्डै एक तिहाइ समुद्री तेल आपूर्ति हुने स्ट्रेट अफ हर्मुज बन्द हुने जोखिम बढेकाले तेलको मूल्य सय डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । तथापि, यसले इरानकै निर्यातमा पनि बाधा पुर्‍याउने भएकाले इरानलाई हर्मुजको खाडी बन्द गरिहाल्न सहज छैन । विशेष गरी चीनमा तेल, फलाम, प्लास्टिक रासायनिक पदार्थहरू निर्यात गर्न इरानलाई यो मार्ग महत्त्वपूर्ण छ ।

तर, युद्धका कारण तेलको मूल्यवृद्धि भएमा विश्वभर ऊर्जा, खाद्यान्न तथा उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने विज्ञहरूले औंल्याइरहेका छन् । त्यसले विश्वव्यापी मुद्रास्फीतिमा दबाब बढाउनेछ । त्यस्तै, युद्धका कारण विश्वका पुँजी बजारहरूमा पनि असर देखिएको छ । अमेरिका, युरोप र मध्यपूर्वका सूचकांकहरूमा गिरावट आएको छ । प्रतिरक्षा र ऊर्जा कम्पनीहरूको सेयर मूल्यमा भने वृद्धि देखिएको छ । सुनको भाउ बढेको छ । लगानीकर्ताहरू तुलनात्मक रूपमा सुरक्षित मानिने सुनलगायत वैकल्पिक क्षेत्रमा लगानी सार्न थालेका छन् । वायुसेवा क्षेत्र उत्तिकै प्रभावित बनेको छ ।

इमिरेट्स, इत्तिहाद, कतार एयरवेजलगायत प्रमुख विमान कम्पनीहरूले इरान, इराक, लेबनान तथा जोर्डनतर्फका उडानहरू स्थगित गरेका छन् । इरान, इराक र जोर्डनले आफ्नो हवाई क्षेत्र बन्द गर्दा त्यसको असर युरोप–एसियाबीचको उडान मार्गमा परेको छ ।

द्वन्द्व चर्चिकएसँगै इरानको राजधानी तेहरानबाट ठूलो संख्यामा मानिस बाहिरिन थालेका छन् । झन्डै एक करोड जनसंख्या भएको यो सहर मध्यपूर्वकै ठूलो सहरहरूमध्ये पर्छ । मंगलबार बिहानदेखि भने सहर सुनसान देखिन थालेको एपीको समाचारमा भनिएको छ । अधिकांश पसलहरू बन्द भएको र ऐतिहासिक ग्रान्ड बजार पनि ठप्प देखिएको छ ।

सोमबार बिहान इजरायली सेनाले तेहरानको केन्द्र क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ३० हजार जनालाई सहर खाली गर्न निर्देशन दिएको थियो । तर, यसअघि नै सहरमा भएका आक्रमणपछि थुप्रै मानिस भाग्न थालेका थिए । धेरैजसो मानिस क्यास्पियन समुद्री क्षेत्रतर्फ जाँदै गरेको एपीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully