इन्डोनेसियामा ज्वालामुखी विस्फोट

असार ४, २०८२

कान्तिपुर संवाददाता

Volcanic eruption in Indonesia

काठमाडौँ — ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापु आउजाउ गर्ने दर्जनौँ उडान अवरुद्ध हुनुका साथै रद्द भएका छन् ।

स्थानीय समयअनुसार मंगलबार ५:३५ मा फ्लोरेस टापुस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी विस्फोट भएको थियो । 

विस्फोटपछि ११ किलोमिटर माथिसम्म तातो खरानीको मुस्लो उडेको थियो । छाता आकारमा आकाशमा देखिएको सुन्ताला रंगको मुस्लो १५० किमि परसम्मको गाउँबाटसमेत देखिएको थियो । 

देनसार अन्तर्राष्ट्रिय विमानस्थलको बेवसाइटमा ज्वालामुखीका कारण उडान अवरुद्द भएको जनाएको छ । राजधानी जाकर्ताका अलवा अस्ट्रेलिया, चीन, भारत, मलेसिया, न्युजिल्यान्ड र सिँगापुरका उडान पनि ज्वालामुखीका कारण प्रभावित भएका छन् । 

विपद्सम्बन्धी काम गर्ने स्थानीय अधिकारीहरुले ज्वालामुखी विस्फोटपछि नजिकैका दुई गाउँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully