चीनले सुरु गर्‍यो इरानस्थित आफ्ना नागरिकहरुको उद्धार प्रक्रिया

भारतले पनि मंगलबारदेखि इरानमा रहेका आफ्ना नागरिकलाइ फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।

असार ४, २०८२

कान्तिपुर संवाददाता

China has started the process of rescuing its citizens from Iran

काठमाडौँ — इजरायल-इरान द्वन्द्व लम्बिदै जाँदा चीनले इरानस्थित चिनियाँ नागरिहरुको उद्धार प्रक्रिया सुरु गरेको छ । चिनियाँ समाचार सेवालाई उदृत गर्दै अलजजिराले बेइजिङले इरानबाट चिनियाँ नागरिकहरूको उद्धार सुरु गरेको उल्लेख गरेको छ ।

चिनियाँ नागरिकहरू मंगलबार स्थलमार्ग हुँदै तेहरानबाट तुर्किमिनिस्तानका लागि हिँडेका छन् । सीमापार भएकाहरुलाई चीनले क्रमश: ल्याउने तयारी थालिसकेको छ । 

भारतले पनि म‌ंगलबारदेखि इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर विद्यार्थीहरुलाई इरानभित्र सुरक्षित स्थानहरूमा सारिएको र नयाँ सम्भावित विकल्पहरूकोसमेत अध्ययन भइरहेको जनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले भने इरानमा अध्ययनरत भारतीय विद्यार्थीहरुलाई राजधानी तेहरानबाट अन्य सहरतर्फ सर्न थालेको र केही भारतीय विद्यार्थीहरुभने इरानको सीमावर्ती देश आर्मेनिया जाँदै गरेको जनाएका छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार इरानमा ४ हजार भारतीयहरु छन् । जसमध्ये आधा विद्यार्थीहरु रहेको अनुमान छ ।

इरानमा रहेका पाकिस्तानी विद्यार्थीहरु पनि सुरक्षा कारण स्थलमार्गबाट स्वदेश फर्किरहेका छन् । म‌ंगलबार मात्रै तेहरान युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा अध्ययरत पाकिस्तानी विद्यार्थीहरु पनि स्वदेश फर्केका थिए । 

इरानमा रहेका विदेशी नागरिकहरु देश छोड्न खोजीरहेका बेला इरानले स्थलमार्ग हुँदै बाहिरिने सबै सीमाहरु खुला गरेको छ । इरानस्थित ट्रान्जिट ब्युरोका महानिर्देशक जाभेद हेदायतिले तास्निम समाचार एजेन्सीलाई देशका सबै सीमाहरु यात्रु तथा मालवाहक सवारीका लागि खुला गरिएको बताएको छ । 

कान्तिपुर

Link copied successfully