इरान–इजरायल युद्ध : छैन रोकिने छाँटकाँट

युद्धले भीषण रूप लिने निश्चित भएसँगै इरानीहरूले ठूलो संख्यामा राजधानी तेहरान छोड्न थालेका छन् ।

असार ३, २०८२

होम कार्की

Iran-Israel War: No Stopping Arrangements

काठमाडौँ — इरान–इजरायल युद्धको पाँचौ दिनमा पनि जारी छ । मंगलबार बिहानसम्म इरानी आक्रमणमा परी कम्तिमा २४ इजरायली मारिएका छन् भने इजारायली आक्रमणमा परी कम्तिमा २२४ इरानी मारिएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यम सीएनएनले पाँचौ दिन इजरायली आक्रमणमा परी युद्धकालका निम्ती नियुक्त चिफ स्टाफ अली शादमानीको मृत्यु भएको उल्लेख गरेको छ । उनी शुक्रबारमात्रै नियुक्त भएका थिए । तर इजरायलको यस्तो दाबीलाई इरानले पुष्टि गरिसकेको छैन् ।

युद्ध सुरु भएको चौथो दिन सोमबार इजरायलले इरानको प्रमुख जासुसी संयन्त्र कुड्स फोर्सको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको थियो । कुड्स फोर्स इरानको सेनाको सबैभन्दा शक्तिशाली र गोप्य शक्तिमध्ये एक हो । कुड्सले लामो समयदेखि मध्यपूर्वमा तेहरानको गोप्य अपरेसनहरूमा केन्द्रीय भूमिका खेल्दै आएको छ । वर्षौंदेखि मध्यपूर्वमा इजरायलको सामना गर्न र तेहरानलाई आफ्नो प्रभाव विस्तार गर्न मद्दत गर्न मिलिसियाहरूलाई हतियार र तालिम दिन कुड्सको प्रयोग भइरहेको छ । कुड्सले सिधै इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई रिपोर्ट गर्ने गर्छ ।

तेहरानको कुड्स मुख्यालयमा भएको आक्रमण र क्षतिबारे इरानले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली सेनाले सोमबार इरानको रिभोलुस्नरी गार्डसका गुप्तचर प्रमुखसहित चार जना वरिष्ठ इरानी गुप्तचर अधिकारीहरूलाई मारेको दाबी गरेको छ । ती दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन भने इरानी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

इजरायली अधिकारीहरूका अनुसार सोमबार बिहानै इरानी क्षेप्यास्त्रहरूले थुप्रै इजरायली सहरहरूमा आक्रमण गर्दा आठ जनाको मृत्यु भएपछि जवाफी कारबाही गरिएको थियो । दुवै पक्षमा नागरिकको मृत्यु बढ्दै जाँदा युद्ध अब बढी समयसम्म चल्ने सम्भावना बढेर गएको छ । इजरायलले इरानको आणविक र सैन्य क्षमताहरू नष्ट गर्ने प्रयासलाई तीव्र बनाइरहेको छ भने इरानले पनि ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर जवाफी कारबाहीलाई कायम राखेको छ ।

इजरायलीहरूले आफ्ना नागरिकलाई लक्षित गर्दै आक्रमण गरिरहेको इरानको दाबीलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खण्डन गरेका छन् । सोमबार एक हवाई सेनाको अड्डाको भ्रमणका क्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले इरानी शासनको केन्द्रलाई मात्रै लक्ष्य बनाइएको दाबी गरे । उनका अनुसार इजरायली सेनाले तेहरानका नागरिकहरूलाई सहर खाली गर्न भनेको छ । उनले सम्पूर्ण सहर खाली गर्न भनेको वा लक्षित केन्द्र वरपरका बासिन्दालाई मात्रै खाली गर्न भनेको भन्नेबारे केही खुलाएनन् ।

सामाजिक संजाल ट्रुथ साेसियलमा लेख्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्ले पनि तेहरान खाली गर्न इरानी नागरिकहरूलाई आग्रह गरेका छन् । क्यानडामा भइरहेको जी–सेभेन सम्मेलनमा विश्वका शीर्ष नेताहरूले क्षेत्रीय शत्रुहरूबीचको अहिलेसम्मकै सबैभन्दा गम्भीर द्वन्द्वलाई कम गर्न आह्वान गरेका छन् । 

इरानको सरकारले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई इजरायलको आक्रमणको विरोध गर्न आह्वान गरिरहेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सो आह्वान गर्दै इरानले आफ्नो बचाउ पनि जारी राख्ने बताए ।

युद्धले भीषण रूप लिने निश्चित भएसँगै इरानीहरूले ठूलो संख्यामा राजधानी तेहरान छोड्न थालेका छन् । ‘सबै कुरा अनिश्चित छ,’ तेहरानबाट भाग्ने मानिसहरूको भीडमा सामेल भएका कवि र लेखक ४१ वर्षीय मेइसामले भनेका छन् । सोमबार मात्रै इजरायलको आक्रमणका कारण कम्तीमा ४५ इरानी महिला र बालबालिकाको मृत्यु भएको छ भने ७५ जना घाइते भएको बताइएको छ ।

समाचार एजेन्सी एपीका अनुसार इरानको हवाई क्षेत्र बन्द भएपछि र ट्याक्सीसमेत नपाउँदा मानिसहरु सीमा क्षेत्रसम्म पुग्न सकेका छैनन् । यता इजरायलले आफ्ना नागरिकलाई जोर्डन र मिश्र हुँदै देश छाड्न सक्ने बताएको छ । तर यी देशमा यहुदीहरुका लागि सम्भावित खतरनाक मानिएको छ । Iran-Israel War: No Stopping Arrangements

इजरायली सेनाले इरानका १ सयभन्दा बढी सैन्य ठेगानामा लक्षित आक्रमण गरेको दाबी गरेको छ । सोमबार इजरायलले मुख्यतया मिसाइल लन्चरहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो । इरानी मिसाइलहरूले भने सोमबार बिहान इजरायलका कम्तीमा तीन आवासीय क्षेत्रहरूमा प्रहार गरेको थियो । सो आक्रमणका कारण मध्य इजरायलमा पाँच जना र उत्तरी इजरायलमा तीन जनाको मृत्यु भएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुरा गर्दै हालको युद्ध अन्त्य गर्न र सकेसम्म चाँडो आणविक वार्तामा फर्कनका लागि आफू मद्दत गर्न तयार रहेको बताएका छन् । एर्दोगानको कार्यालयबाट जारी विज्ञप्तिका अनुसार इजरायलले इरानीमाथि हमला सुरु गरेयता दुई छिमेकी देशका नेताबीच दोस्रो पटक कुराकानी भएको हो ।

इजरायलको आक्रमणमा इरानका कम्तीमा ६ जना शीर्ष सैनिक जेनरल, एक वरिष्ठ राजनीतिज्ञ र पाँच जना आणविक वैज्ञानिकहरूको मृत्यु भइसकेको छ । इरानी अधिकारीहरूका अनुसार सैन्य कमान्डरहरूको आवासीय परिसर लक्षित आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । इरानी मिडियाका अनुसार मृत्यु हुनेहरूमा इरानको सशस्त्र सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरिस, इरानको रिभोलुस्नरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी र इरानको सशस्त्र सेनाका उपकमान्डर जनरल घोलामली रसिद छन् ।

यस्तै, रिपोर्टहरूका अनुसार संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नेतृत्व गरिरहेका प्रभावशाली इरानी राजनीतिज्ञ अली सामखानीको पनि गत शुक्रबारको आक्रमणमा मृत्यु भएको छ । इजरायलले घरमा आक्रमण गर्दा दुई प्रमुख आणविक वैज्ञानिकहरू, मोहम्मद मेहदी तेहरानजी र फेरेदौन अब्बासी मारिएका छन् । साथै आइतबारको आक्रमणमा परेर इरानको रिभोलुस्नरी गार्डको गुप्तचर संगठनको नेतृत्व गरिरहेका मोहम्मद काजेमी र उपप्रमुख हसन मोहाकिक मारिएको तस्निम समाचार एजेन्सीले बताएको छ ।

गत वर्ष इजरायल र इरानबीच तनाव हुँदा त्यो केही घण्टा मात्रै कायम रहेको थियो । दुवैले तनाव कम गर्ने उपाय अवलम्बन गर्दै केही घण्टामै एकअर्कामाथिको आक्रमणलाई बन्द गरेका थिए । तर गत शुक्रबार इजरायलले सुरु गरेको नयाँ युद्ध भने छिट्टै अन्त्य हुने छाँटकाँट देखिन्न । दुवै देशले भनेका आवश्यक परेसम्म युद्ध जारी राख्ने बताउँदै आएका छन् । उनीहरूले आक्रमणको दायरा फराकिलो पार्दै एकअर्कामाथिको प्रहारलाई झनै तीव्र पारेका छन् । इजरायल र इरान दुवैले द्वन्द्व निवारणतर्फका मार्गहरूलाई बेवास्ता गर्दै आइरहेका छन् ।

इजरायलले इरानको आणविक संवर्द्धन कार्यक्रम पूर्ण रूपमा तहसनहस नभएसम्म आक्रमण जारी राख्ने बताएको छ । यस्तै इरानले भने आफ्नो आणविक कार्यक्रमलाई तत्काल बन्द गर्ने कुनै योजना अगाडि सारेको छैन ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully