इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ : ट्रम्प

असार १, २०८२

एएफपी

The US may join the Iran-Israel conflict: Trump

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् ।

एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँदै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर शत्रुहरुबीच जारी लडाइँमा ‘हामी संलग्न हुन सक्छौं’ भने । 

उनले संयुक्त राज्य अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको बताए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, 'पुटिन द्वन्द्वमा सम्भावित मध्यस्थकर्ता हुन सक्नछन् र उनी तयार छन्। उनले मलाई यसबारे फोन गर्नुभएको छ । यस विषयमा हामीले लामो छलफल गरेका छौँ ।'

इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन भीषण हवाई आक्रमण भएको छ ।

आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीच यसै साता हुने भनिएको छैटौँ चरणको वार्ता रद्द भएको जनाएको छ तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले छलफल जारी राखेको बताएका छन् । 

तेहरानलाई वार्ताको टेबलमा आउनका लागि समयसीमा तोकिएको छ कि छैन भनेर सोधिएको प्रश्नमा उनले एबीसीसँग भने, 'अहँ, वार्ताको कुनै समयसीमा तोकिएको छैन।'

'उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ्,' स्कटले ट्रम्पलाई उद्धृत गर्दै भने । 

ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताएका छन् ।  

ट्रम्पले भने, 'यसले वास्तवमा सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ।'

एएफपी

Link copied successfully