अमेरिकाको टेक्सासमा बाढीका कारण ११ जनाको मृत्यु

जेष्ठ ३१, २०८२

सुदीप शिवाकोटी

11 people died due to floods in Texas, USA

अमेरिका — अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार टेक्सासको सान एन्टोनियो सहरमा भीषण वर्षापछि बाढीका कारण हालसम्म कम्तीमा ११ जनाको मृत्यु भएको सान एन्टोनियो पुलिस डिपार्टमेन्टले जनाएको छ ।

अमेरिकी मौसम सेवाका अनुसार चट्याङ र भीषण वर्षासँगैको आँधीका कारण बाढी सहरमा पसेको र त्यसले धनजनमा क्षति पुर्‍याएको हो । मृत्यु हुनेको सनाखतबारे प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।

बिहीबार मध्यरातदेखि पानी परेपछि सान एन्टोनियोकै पेरिन बेटल रोड नजिक १५ वटा सवारीसाधन बाढीले बगाएको मौसम विभागले जनाएको छ । त्यस स्थानमा १० जना उद्धार गरिएको थियो ।

सान एन्टोनियोका मेयर रोन निरेनबर्गले ११ जनाको मृत्यु पुष्टि भइसकेको र केही मानिस हराएकोबारे जानकारीपछि खोजी कार्य तीव्र पारेको बताए । ‘११ जना मृत्यु पुष्टि गरिएकामध्ये ३ जना २८ देखि ५५ वर्षको रहेको बारे मात्र मलाई जानकारी छ,’ उनले भने, ‘बाँकी जानकारी लिने प्रयास जारी छ ।’

11 people died due to floods in Texas, USA

बाइटेल क्रिक क्षेत्रमा एक दर्जन भन्दा बढी कारहरु गुड्दागुड्दै बेपत्ता भएकाले त्यस क्षेत्रमा हराएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हायस काउन्टी नजिक विंबर्ली क्षेत्रमा दुईवटा टोनार्डो (आँधी) देखिएको र त्यसको गति ६५ देखि ८५ माइल प्रतिघन्टा रहेको मौसम सेवालाई उदृत गर्दै एपीले उल्लेख गरेको छ ।

बाढीका कारण अझै केही व्यक्ति बेपत्ता भएको प्रहरीको अनुमान छ । आँधी टेक्सास हुँदै पूर्वी राज्यतर्फ सर्दै गइरहेको र त्यस क्षेत्रका बासिन्दालाई सचेत रहन मौसम सेवाले अनुरोध गरेको छ । खोज तथा उद्धारमा सान एन्टोनियो प्रहरी, टेक्सास एएण्डएम टास्क फोर्स वान र संघीय आपतकालीन व्यवस्थापन एजेन्सी अन्तर्गतको राष्ट्रिय टोली संलग्न रहेको सिटी अफ सान एन्टोनियोले जनाएको छ । 

आँधीका कारण हुनसक्ने घटना न्यूनीकरणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले १८ वटा सडकहरु बन्द गरेको छ । सान एन्टोनियो नदी र सिबोलो क्रिक आसपासको क्षेत्रमा बाढीको चेतावनी शनिबार बिहानसम्म कायम रहने मौसम विभागको दाबी छ ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully