काठमाडौँ — बिहीबार गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा एक मात्र जीवित यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्नेमा यकिन नै नभएको बताएका छन् ।
अहमदाबादबाट लन्डनको ग्याट्विक विमानस्थलका लागि उडेको एयर इन्डियाको एआई-१७१ उडान नम्बरको बोइङ ७८७ जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । उक्त जहाजमा २४२ जना यात्रु थिए ।
बेलायती नागरिक विश्वास उक्त जहाजको सिट नम्बर ११ 'ए' मा बसेका थिए । अहमदाबादस्थित सिभिल अस्पतालमा उपचाररत विश्वासले डीडी न्युजसँग भनेका छन्, 'मलाई अहिले पनि यकिन नै छैन कि म कसरी बाँचे । पहिले मलाई लाग्यो कि म मृत्युको नजिकै छु । मैले आँखा खोले, सिट बेल्ट खोलेर बाहिर निस्कने प्रयास गरेँ ।'
उनले आफू बसेको जहाजको हिस्सा भवनमा नठोक्किएको पनि बताएका छन् । जहाजको एउटा हिस्सा भवनमै अड्किएको छ । आफू बसेको भाग भने जमिनमा खसेको विश्वास बताउँछन् । उनी भन्छन्, 'म बसेकोतिरको ढोका फुटेको थियो । मैले सानो ठाउँ देखेँ । त्यहीँबाट मैले बाहिर निसक्ने कोसिस गरेँ ।'
उनले विमानका चालक दल र यात्रीहरूको मृत्यु आफ्नै ढंगले देखेको पनि बताउँछन् । आफ्नो बायाँ हातमा जलेको डोब भएको पनि उनले बताएका छन् । जहाजबाट निस्केलगत्तै लड्खडाउँदै हिँडेका उनलाई तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो । शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेर उनीसँग भेटघाट गरेका थिए ।
२३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । २ पाइलटसहित १२ जना ‘क्याबिन क्रु’ सदस्य र २३० यात्रु थिए । तीमध्ये १६९ जना भारतीय हुन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
