काठमाडौँ — भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको विमान दुर्घटनामा बोइङ कम्पनीको जहाज परेको समाचारपछि सो कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतले गिरावट आएको छ । अहमदाबादबाट लण्डनका लागि उडेको केही मिनेटमै एयर इन्डिया ७८७-८ ड्रिमलाइनर विमान दुर्घटनामा परेको थियो । उक्त विमानमा सवार २४२ सवार थिए ।
विमान बेलायतको ग्याटविक विमानस्थलतर्फ गइरहेको थियो । प्रहरीका अनुसार विमान अहमदाबाद विमानस्थल नजिकैको बीजे मेडिकल कलेजको होस्टेलमा खसेको थियो । बोइङका अन्य जहाजहरूको तुलनामा सुरक्षित मानिने ड्रिमलाइनर विमानको यो दुर्घटना पहिलो भएपनि यसले बोइङको सुरक्षासम्बन्धी विश्वसनीयतामा थप प्रश्न उब्जाएको छ । बुधबार २१७ डलरमा बन्द भएको बोइङको सेयर बिहीबार दुर्घटनाको खबरसँगै बजार खुल्दा १९६ मा झरेको छ ।
सन् २०२५ सुरु भएयता भारतमा भएको दुर्घटनाजस्तै बोइङले विभिन्न सुरक्षा र प्राविधिक चुनौतीको सामना गर्दै आएको छ । यसअघि मार्चमा अमेरिकन एयरलाइन्स, जनवरीमा इतिहाद एरयवेज, जनवरीमै अमेरिकन एयरलाइन्स र अप्रिलमा युनाइटेड एयरलाइन्सको उडानमा रहेका विभिन्न बोइङ विमानहरू दुर्घटनामा परेका थिए । दर्जनौँ स्थानमा बोइङका विमानमा निरन्तर प्राविधिक समस्या देखिँदै आएका छन् ।
रोयटर्सका अनुसार ड्रिमलाइनर विमानहरू पहिले ब्याट्री समस्याका कारण केही समयका लागि ग्राउन्डेड भएका थिए । तर, सञ्चालनमा आएदेखि यी विमानमा कुनैपनि घातक दुर्घटना भएको थिएन । तर, बोइङको ७३७ म्याक्स विमान भने पहिले नै दुईवटा घातक दुर्घटनाका कारण वर्षौंसम्म ग्राउन्डेड गरिएको थियो । यसले कम्पनीलाई लामो समयदेखि निगरानीमा राखेको छ ।
नासाले अन्तरिक्षमा पठाएका यात्रुसमेत बोइङकै अन्तरिक्षयानमा समस्या आएपछि महिनौँसम्म उतै अड्किनुपरेको थियो । यसले पनि बोइङको ब्रान्ड, सेयर मूल्य र खस्कँदो स्थितिलाई थप खराब बनाएको थियो । निरन्तर प्राविधिक र व्यावसायिक समस्यासँग जुध्नुपरेपछि बोइङले गत वर्ष मात्रै आफ्ना प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरेको थियो, नयाँ सीईओ केली ओर्टबर्गमाथि अहिले चुनौती थपिएको छ ।
