एयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Air India plane crash: Former Gujarat Chief Minister Vijay Rupani dies

काठमाडौँ — एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । 

रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी(भाजपा) का वरिष्ठ नेता सुनील जाखडले रुपाणीको निधनमा शोक व्यक्त गर्द‌ै भनेका छन्, 'रुपाणीजीले गुजरातका मुख्यमन्त्रीका रूपमा दिएको योगदान सधैं स्मरणीय हुनेछ । उहाँ विनम्र, संवेदनशील र डाउन टु अर्थ नेता हुनुहुन्थ्यो ।' गुजरातले एक महान नेता गुमाएको पनि उनको भनाइ छ । 

रुपाणी २०१६ देखि २०२१ सम्म गुजरातका मुख्यमन्त्री भएका थिए । त्यसअघि उनी गुजरात सरकारमा क्याबिनेट मन्त्री थिए । त्यस्तै उनली २००६ देखि २०१२ सम्म राज्यसभा सदस्यसमेत बनेका थिए । रुपाणी पछिल्लो समय भाजपाका पञ्जाब इन्चार्जका रूपमा कार्यरत थिए । 

रुपाणीको जन्म १९५६ मा म्यानमारको यांगुनमा भएको थियो । १९६० मा म्यानमारको राजनीतिक उथलपुथलपछि उनको परिवार गुजरातको राजकोट आएको थियो । 

भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । 

कान्तिपुर

Link copied successfully