काठमाडौँ — संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर आफ्नो घरबाट जबरजस्ती विस्थापित हुनेहरुको संख्या केही घटेको छ । तर अस्थिर रुपमा विस्थापितहरुको संख्या भने उच्च रहेको बिहीबार संघले जनाएको छ ।
सन् २०२४ को अन्त्यमा विश्वभर १२ करोड ३२ लाख मानिसहरूलाई जबरजस्ती आफ्नो घरबाट विस्थापित गरिएको रेकर्ड रहेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको छ ।
तर वर्षौंको अशान्तिपछि सिरियालीहरू घर फर्कन थालेपछि यसवर्षको अप्रिलको अन्त्यसम्ममा त्यो संख्या १२ करोड २१ लाखमा झरेको बताएको छ । करिब २० लाख सिरियालीहरु विदेशबाट वा देशभित्रको युद्धग्रस्त क्षेत्रबाट विस्थापित भएकाहरु घर फर्किन सक्षम भएको संघले जनाएको छ ।
विश्वव्यापी रुपमा ठूला द्वन्द्वहरुका कारण यो संख्या फेरि बढ्न सक्ने युएनएचसीआरले चेतावनी दिएको छ । ‘विश्वभर युद्ध, हिंसा र उत्पीडनबाट विस्थापित मानिसहरुको संख्या असहनीय रुपमा उच्च थियो । हामी अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र अस्थिरताको समयमा बाँचिरहेका छौं, आधुनिक युद्धले तीव्र रुपमा मानवीय पीडा नाजुक, डरलाग्दो परिदृश्य सिर्जना गरिरहेको छ,’ संयुक्त राष्ट्र संघका शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले भनेका छन् ।
स्थायी शान्ति चाहिरहेका र आफ्नो घर छोड्न बाध्य भएका अन्यहरुका लागि दीर्घकालीन समाधान खोज्ने प्रयासहरुलाई दोब्बर बनाउनुपर्ने उनको भनाइ छ ।
युएनएचसीआरको वार्षिक ग्लोबल ट्रेन्ड्स रिपोर्टअनुसार विस्थानको मुख्य कारण सुडान, गाजा, म्यानमार र युक्रेन जस्ता देशका देखिएका ठूला द्वन्द्वहरु रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनले यस वर्षको पहिलो महिनामा घर फर्कने सिरियालीहरूको संख्या बढेको बताएको छ ।
मे महिनाको मध्यसम्ममा, असदको पतनपछि ५ लाख भन्दा बढी सिरियालीहरू देश फर्किएको अनुमान गरिएको छ । जबकि नोभेम्बरको अन्त्यदेखि अनुमानित १२ लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रहरूमा फर्किएका छन् ।
सन् २०२५ को अन्त्यसम्मा विदेशबाट १५ लाख सिरियाली र २० लाख आन्तरिक रुपमा विस्थापित भएकाहरु आफ्नो मूल थलोमा फर्निसक्ने अनुमान गरिएको छ । सुडान अहिले एक करोड ४३ लाख शरणार्थी र आन्तरिक विस्थापितसहित विश्वको सबैभन्दा ठूलो जबरजस्ती विस्थापन गरिएको देशमा पर्छ । यसको तुलनामा सिरियाको यो संख्या १ करोड ३५ लाख रहेको छ । त्यसपछि अफगानिस्तानमा एक करोड ३० लाख र युक्रेन ८८ लाख रहेको छ ।
विशेष गरी प्रजातान्त्रिक गणतन्त्र कंगो, सुडान र युक्रेनमा शान्ति, वा कम्तीमा लडाईंको अन्त्य भएमा यी सबै शरणार्थीहरुको समस्या समाधानमा सहयोग पुग्ने संयुक्त राष्ट्रसंघको अनुमान छ । हालसम्म विस्थापितहरुको संख्यालाई हेर्ने हो भने सबैभन्दा धेरै ३५ लाख शरणार्थीहरुलाई इरानले शरण दिएको छ । यस्तै २९ लाख शरणार्थी टर्कीएमा छन् भने कोलम्बियामा २८ लाख रहेका छन् ।
जर्मनीमा २७ लाख र युगान्डामा १८ लाखले शरणार्थीका रुपमा आश्रय लिइरहेका छन् ।
