गाजाका बालबालिकालाई सहयोग लिएर आएकी ग्रेटा ‘डिपोर्ट’ भइन्

‘फ्रिडम फ्लोटेला कोलिसन’ को यो अभियानलाई इजरायलले प्रचारका लागि गरिएको ‘स्टन्ट’ भनेको छ,ग्रेटाले ल्याएको सामान एक ट्रक पनि नभएको उसले टिप्पणी गरेको छ

जेष्ठ २८, २०८२

प्रविना पौडेल

Greta, who came with aid to the children of Gaza, was 'deported'

काठमाडौँ — औषधि, बच्चाको दूध, खाद्यान्नलगायत राहत सामग्री बोकेर गाजातर्फ गइरहेको एउटा डुंगा सोमबार बिहान इजरायली सेनाले नियन्त्रणमा लियो । डुंगामा जलवायु परिवर्तनविरुद्ध आवाज उठाइरहेकी युवा अभियन्ता ग्रेटा थनबर्गसहित १२ जना स्वयंसेवक सवार थिए ।

गाजामा भइरहेको अमानवीय इजरायली आक्रमणका कारण रोकिएको मानवीय सहायताको विरोधमा थनबर्गसहितका अभियन्ता राहत सामग्री पुर्‍याउन युरोपदेखि डुंगा चढेर यात्रामा निस्किएका थिए । ‘फ्रिडम फ्लोटेला कोलिसन’ ले आयोजना गरेको यो अभियान गाजामा भइरहेको मानवीय संकटलाई उजागर गर्ने प्रतीकात्मक कदम थियो । इजरायली नाकाबन्दीको अवहेलना गर्दै थोरै भए पनि गाजामा सहयोग सामग्री पुर्‍याउने प्रयास थियो । इजरायली सेनाले नियन्त्रणमा लिएपछि कोलिसनले आफूहरूलाई अपहरण गरिएको जनाएको थियो । 

मंगलबार इजरायलले थनबर्गसहित अन्य स्वयंसेवकहरूलाई इजरायलबाट ‘डिपोर्ट’ गरेको छ । इजरायली विदेश मन्त्रालयका अनुसार, ग्रेटा थनबर्ग ‘डिपोर्ट’ हुन सहमत भएपछि मंगलबार बिहान इजरायलको तेल अभिभबाट फ्रान्स हुँदै स्वीडेन ‘डिपोर्ट’ भएकी हुन् । 

ग्रेटासहित ३ जना ‘डिपोर्ट’ हुन सहमत भए पनि स्वयंसेवकमध्ये ८ जनाले भने ‘डिपोर्ट’ आदेशमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनीहरूलाई इजरायली अदालतसामु पेस गरिने बीबीसीले जनाएको छ । इजरायली विदेश मन्त्रालयले मंगलबार बिहान ग्रेटा थनबर्ग विमानमा बसेको तस्बिर सार्वजनिक गर्दै भनेको छ, ‘थनबर्ग फ्रान्स हुँदै स्वीडेन ‘डिपोर्ट’ भएकी छन् ।’ 

Greta, who came with aid to the children of Gaza, was 'deported'

यस्तै मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ, ‘इजरायल छोड्ने र डिपोर्टेसन कागजातमा हस्ताक्षर गर्न अस्वीकार गर्नेलाई इजरायली कानुनअनुसार अदालतमा पेस गरिनेछ । त्यसपछि मात्र उनीहरूलाई ‘डिपोर्ट’ गर्न अनुमति दिइनेछ ।’ 

‘फ्रिडम फ्लोटेला कोलिसन’ को यो अभियानलाई इजरायलले भने ‘सेल्फी याच’ अर्थात् आफ्नो प्रचारका लागि गरिएको ‘स्टन्ट’ का रूपमा व्याख्या गरेको छ । जहाजमा रहेको सहयोग सामग्री (चामल, शिशु फर्मूला आदि) एउटा ट्रक भरिने सामानभन्दा पनि कम रहेको इजरायली विदेश मन्त्रालयले बताएको छ । मन्त्रालयले यी सामग्रीहरू ‘वास्तविक च्यानल’ मार्फत गाजा पठाइने बताएको छ ।

Greta, who came with aid to the children of Gaza, was 'deported'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस घटनामा प्रतिक्रिया दिँदै ग्रेटा थनबर्गको मजाकसमेत उडाएका छन् । ‘मलाई लाग्छ, इजरायलसँग ग्रेटा थनबर्गलाई अपहरण गर्ने पर्याप्त कारणहरू छन् । उनी एक जवान, रिसाहा व्यक्ति हुन्,’ उनले भने, ‘मलाई लाग्छ, उनले रिस नियन्त्रण कक्षा (एंगर म्यानेजमेन्ट क्लास) लिनुपर्छ ।’ 

को हुन् ग्रेटा ? 

२२ वर्षीया जलवायु अभियन्ता थनबर्ग लामो समयदेखि जलवायु परिवर्तनका विषयमा आवाज उठाउँदै आइरहेकी छन् । स्वीडेनको राजधानीमा जन्मिएकी ग्रेटाले पहिलो पटक सन् २०१८ मा ‘फ्राइडेज फर फ्युचर’ अभियान सुरु गरेकी थिइन् । 

त्यसैअन्तर्गत उनले स्वीडेन संसद् भवनअघि एक्लै प्रदर्शनमा उत्रिइन् । हातले लेखिएका प्लेकार्डसहित सुरु गरिने अभियान– ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’ अर्थात् जलवायुका लागि विद्यालय हडताल । हरेक शुक्रबार विद्यालय जान छाडेर उनले २५१ साता स्वीडिस संसद् अगाडि प्लेकार्डसहित उभिइन् । 

यही हडतालका माध्यमबाट उनी जलवायु परिवर्तनले पारेको असर र प्रभाव न्यूनीकरणका लागि शक्ति राष्ट्रलाई दबाब दिन चाहन्थिन् । नभन्दै त्यतिबेलाकी १५ वर्षीया ग्रेटाको प्रदर्शनले विश्वभर धेरैको ध्यान खिच्यो । विश्वभरका युवालाई जलवायु परिवर्तनविरुद्ध आवाज उठाउन उनले प्रेरित गरिन् । र, उनले सुरु गरेको ‘फ्राइडेज फर फ्युचर’ अभियानमा संसारभरका लाखौं युवाले साथ दिए । तीन महिनाभित्रै उनको हडतालले २४ युरोपेली मुलुकका १७ हजारभन्दा बढी विद्यार्थीलाई जोड्यो । 

स्कुल हडतालले लोकप्रिय बनेकी ग्रेटाले सन् २०१९ को संयुक्त राष्ट्र जलवायु सम्मेलनमा नेताहरूलाई लक्षित गरेर दिएको भाषणले उनलाई थप चर्चित बनायो । संसारभरिका नेतालाई ‘हाउ डेयर यु’ भन्दै उनले प्रश्न गरिन् । स्कुल हडतालले लोकप्रिय बनेकी उनले ‘तिमीहरूले हाम्रो भविष्य चोर्‍यौ जुन हामीलाई स्विकार्य छैन’ भन्दै कडा आलोचना गरिन् । उनले जलवायु परिवर्तनले निम्त्याएका समस्या र भविष्यमा आफूजस्ता करोडौं बालबालिकाले भोग्नुपर्ने समस्याबारे तार्किक र मार्मिक मन्तव्य दिएकी थिइन् ।

रोचक त के भने उनी यही सम्मेलनमा भाग लिन १४ दिन लगाएर अमेरिका पुगेकी थिइन् । कार्बन उत्सर्जन नगर्ने पानीजहाज चढेर उनी बेलायतबाट अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । 

जसलगत्तै उनी सन् २०१९ को मार्चमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा समेत परिन् । त्यस्तै उनी सन् २०१९ मै टाइम पत्रिकाको ‘वर्ष व्यक्ति’ समेत बनिन् । स्वीडेनी वातावरण अभियन्ता ग्रेटा आजभन्दा ६ वर्षअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्कलगायतलाई पछि पार्दै ‘वर्ष व्यक्ति’ बनेकी हुन् ।

स्वीडेनको स्टकहोममा सन् २००३ को जनवरीमा जन्मिएकी ग्रेटाको पूरा नाम ग्रेटा टिनटिन एलिबोनोरा एमान थनबर्ग हो । उनका बुबा अभिनेता हुन् भने आमा ओपेरा गायिका । 

विश्वभरका नेताहरूलाई चुनौती दिने थनबर्गको बाल्यकाल भने निकै चुनौतीपूर्ण रह्यो । उनी करिब १२ वर्षको उमेरमै डिप्रेसनको सिकार बनेकी थिइन् । बोलिरहनुपर्ने उनी अचानक शान्त बनिन् । पछि उनलाई मस्तिष्कको विकाससम्बन्धी समस्या ‘एसपर्गर्स’ भएको पत्ता लाग्यो । एसपर्गर्स अटिजमको एउटा प्रकार हो । 

स्वीडेनकी चर्चित गायिका उनकी बहिनी बेटा स्वीडेन पनि त्यही रोगबाट पीडित छिन् । 

तर ग्रेटाले अटिजमलाई रोगका रूपमा नहेरेर सधैं आफ्नो ‘सुपर पावर’ का रूपमा हेरेकी छन् । उनी भन्ने गर्छिन्, ‘फरक हुनु त वरदान हो । यदि म सबैजस्तै हुन्थें भने, यो आन्दोलन अघि बढाउने नै थिइनँ कि ?’ 

ग्रेटाले गाजामा भइरहेको युद्ध र प्यालेस्टिनीप्रति इजरायली आक्रमणको विरोध गर्दै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आवाज उठाउँदै आइरहेकी छन् । उनले प्यालेस्टिनीहरूको मानवअधिकार र मानवीय संकटमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गराउन बुलन्द रूपमा आवाज उठाएकी छन् ।

ग्रेटाले इजरायली सरकारलाई ‘नरसंहार’ भन्दै आरोप लगाएकी छन् । उनले पश्चिमी देशहरूले इजरायललाई दिँदै आएको सैन्य र राजनीतिक समर्थनको समेत कडा विरोध गरेकी छन् । 

त्यस्तै उनले ‘फ्राइडेज फर फ्युचर’ आन्दोलनलाई प्यालेस्टाइनको समर्थनमा पनि जोडेकी छन् । उनले भनेकी छन्, ‘जलवायु न्याय र मानवअधिकार एकअर्कासँग जोडिएका छन् किनकि युद्धले पर्यावरणमा पनि विनाशकारी प्रभाव पार्छ । ग्रेटाले विश्वभरका युवालाई प्यालेस्टाइनीको न्यायका लागि आवाज उठाउन आह्वान गरेकी छन् ।

प्रविना पौडेल प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully