आप्रवासीको आन्दोलन चर्किएपछि लस एन्जलस डाउनटाउनमा कर्फ्यु घोषणा

जेष्ठ २८, २०८२

सुदीप शिवाकोटी

Curfew announced in downtown Los Angeles as immigration protests escalate

अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किएपछि क्यालिफोर्निया राज्यको लस एन्जलस डाउनटाउन क्षेत्रमा कर्फ्यु घोषणा गरिएको छ ।

मंगलबार पाँचौं दिनसम्म आन्दोलन मत्थर हुने संकेत नदेखिएपछि लस एन्जलस सहरका मेयर करेन बासले डाउनटाउन क्षेत्रमा कर्फ्यु घोषणा गरेकी हुन् । मंगलबार रातिबाट लागू हुनेगरी मेयर बासले कर्फ्यु घोषणा गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । 

‘जारी आन्दोलन मत्थर हुने संकेत नदेखिएपछि थप क्षति रोक्न र आन्दोलन साम्य हुने अवस्था सिर्जना गर्न लस एन्जलस डाउनटाउनको १ वर्ग माइल क्षेत्रमा कर्फ्यु लागू हुनेगरी घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा मयेर बासले भनिन्, ‘स्थानीय समय अनुसार मंगलबार सााझ ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू कडाइका साथ लागू हुनेछ ।’

आन्दोलनका कारण जनजीवनसमेत प्रभावित भएको र धेरै व्यवसायहरुमा क्षति पुगेको प्रति मेयर बासले दु:खसमेत व्यक्त गरिन् । आन्दोलनको क्रममा सोमबार राति मात्रै डाउनटाउन क्षेत्र २३ वटा व्यवसायिक फर्महरु लुटिएको उनले जानकारी दिइन् । 

लस एन्जलस सहरको कुल क्षेत्रफल ५ सय २ वर्ग माइल छ । त्योमध्ये १ वर्ग माइल क्षेत्रमा मात्र कर्फ्यु लागु हुनेछ । लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले कर्फ्युमा ज्यान जोगाउन र सम्पत्ति सुरक्षित राख्न आवश्यक रहेको बताएको सिएनएनले उल्लेख गरेको छ ।

‘गत केही दिनदेखि सहरमा लगातार बढ्दो अशान्ति र अवैध, खतरनाक गतिविधिका कारण हामीलाई यो कदम चाल्न बाध्य भएका हौं,’ प्रहरी प्रमुख म्याकडोनेलले भने । प्रहरीले हालसम्म आन्दोलनमा प्रदर्शन गर्ने १ सय ९७ जनालाई पक्राउ गरिसकेको छ । सोमबारमात्रै तीमध्ये १ सय १४ जना पक्राउ परेका हुन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully