काठमाडौँ — शनिबार रातिदेखि अशान्त बनेको पूर्वोत्तर भारतको मणिपुर राज्यमा सोमबार पनि प्रदर्शन कायमै छ । भारतीय सञ्चारमाध्यम दि हिन्दुका अनुसार आइतबार राति निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले सरकारी भवनजलाउनेदेखि सुरक्षाकर्मीसँग भीडन्तसम्मका घटना भए । उनीहरुले राति मसाल जुलससमेत निकालेका थिए ।
शनिबार राति मैतेई जातिको स्वयंसेवक संगठन 'अरम्बाई टेंगोल-एटी' का एक प्रमुख नेता कनान सिंहसहित अन्य पाँच नेतालाई पक्राउ गरेपछि मणिपुरमा प्रदर्शन सुरु भएको हो । प्रदर्शन सुरु भएपछि प्रशासनले शनिबार रातिदेखि लागू हुनेगरी राज्यका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरेको छ । एउटा जिल्लामा कर्फ्यु र अन्य चार वटा जिल्लामा मानिसहरूलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरेको छ ।
शनिबार इम्फाल पूर्व जिल्लास्थित सब डिभिजनल कलेक्टर अफिसमा प्रदर्शनकारीले आगलागी गरेका छन् । आगजनीबाट भवनमा आंशिक क्षति पुगेको र सरकारी कागजात जलेको बताइएको छ ।
प्रदर्शनकारीहरुले कैयन सडकमा माटो थुपारेर सडक अवरुद्ध पारेका छन् । इम्फाल पश्चिम जिल्लाको क्वाकेइथेल र सिंगजमेइमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको र प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न दर्जनौं राउन्ड अश्रुग्यास र रबरका गोली प्रहार गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
मैतेई र कुकी जातिबीच मे २०२३ देखि सुरु भएको जातिय हिंसामा अहिलेसम्म २६० जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने यही द्वन्द्वका कारण हजारौं नागरिक विस्थापित भएका छन् ।
