मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना, कम्तीमा १५ को मृत्यु

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Bus carrying students crashes in Malaysia, at least 15 dead

काठमाडौँ — विद्यार्थीहरू बोकेर विश्वविद्यालय फर्किंदै गरेको बस दुर्घटनामा पर्दा उत्तरी मलेसियामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बस मिनीभ्यानसँग ठोक्किएपछि दुर्घटना भएको थियो ।

मृतकमध्ये १४ जना सुल्तान इद्रिस शिक्षा विश्वविद्यालयका विद्यार्थी र एकजना बस सहयोगी छन् । दुर्घटनामा ३३ जना घाइते भएका छन् भने सात जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी २१ देखि २३ वर्ष उमेर समूहका छन् । 

दुर्घटना आइतबार राति १ बजेपछि भएको थियो । दुर्घटनाका एक प्रत्यक्षदर्शीले न्यु स्ट्रेट्स टाइम्सलाई घटनास्थलमा विद्यार्थीहरू चिच्याइरहेको र रुँदै सहयोगको याचना गरिरहेका अस्तव्यस्त दृश्य देखेको बताएका छन् । 

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले उच्च शिक्षा हेर्ने मन्त्रीलाई पीडित परिवारलाई सहयोग गर्न निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमा 'यस्ता हृदयविदारक घटना दोहोरिनु सबैका लागि सतर्क र होसियार हुने पाठ हो' भनेर लेखेका छन् । 

कान्तिपुर

Link copied successfully