ट्रम्प र मस्क एक-अर्काका लागि कहिले ‘जिनियस’, कहिले ‘जोकर’

अर्बपति मस्कले सामाजिक सञ्जाल एक्समार्फत ‘इनफरमेसन/डिसइनफरमेसन’ फैलाउन मात्र सघाएनन्, राष्ट्रपति निर्वाचनमा जिताउन २५–३० करोड डलर चन्दा नै दिए । ट्रम्पले आफ्नो चुनाव अभियानमा मस्कलाई ‘चियरलिडर’ नै बनाए भने ट्रम्प पनि टेस्लाको ब्रान्ड एम्बासेडर नै बने । फेब्रुअरीको मध्यतिरबाटै ओरालो लाग्न सुरु गरेको सम्बन्ध अहिले पिँधमा पुगेको छ । 

जेष्ठ २५, २०८२

सजना बराल

Trump and Musk sometimes 'genius', sometimes 'clown' for each other

काठमाडौँ — अमेरिकाका सबैभन्दा प्रभावशाली व्यक्ति, राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कबीच अहिले सम्बन्ध बिग्रिएर सार्वजनिक रूपमै पानी बाराबारको स्थिति आइपुगेको छ । आ–आफ्नै पाराले उग्र, आत्मकेन्द्रित र पटक्कै आलोचना नरुचाउने यी दुईबीचको ‘ब्रोमान्स’ दिगो हुँदैन भन्ने धेरैले पूर्वानुमान गरेका भए पनि यति चाँडै आरोप–प्रत्यारोप र गालीगलौजमा उत्रिहाल्लान् भन्ने ठानिएको थिएन ।

उनीहरूको मिलन–विछोडलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले असाध्यै ‘ड्रामाटिक’, ‘बिग ब्युटिफुल ब्रेकअप’ जस्ता ठट्यौला संज्ञा दिएका छन् । 

‘बिगेस्ट ब्रोमान्स’

गत फेब्रुअरी ७ मा मस्कले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका थिए, ‘एउटा विषम यौनिक पुरुषले अर्को विषम यौनिक पुरुषलाई जति माया गर्न मिल्छ, त्यति माया म राष्ट्रपति ट्रम्पलाई गर्छु ।’

२०२४ जुलाई १३ मा पेन्सलभेनियाको चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको केही बेरमै उनलाई छिट्टै सन्चो होस् भन्ने कामना व्यक्त गरेका मस्कले ट्रम्पप्रतिको आफ्नो प्रेम प्रमाणित गर्न के मात्रै गरेनन् ! ट्रम्प र रिपब्लिकन पार्टीका चुनावी अभियान सफल पार्न उनले झन्डै २५ करोड अमेरिकी डलर खन्याए । चुनावी र्‍यालीहरूमा पुगेर सञ्चारमाध्यममार्फत ट्रम्पका नीतिको प्रचार गरे । ट्रम्पका विरोधी डेमोक्र्याटहरूलाई व्यक्तिगत तहमै ओर्लेर गालीसमेत गरेका थिए । 

Trump and Musk sometimes 'genius', sometimes 'clown' for each other

नोभेम्बरमा ट्रम्प निर्वाचित भएपछि मस्कको व्यस्तता झनै बढ्यो । उनले झन्डै २ महिना फ्लोरिडास्थित ट्रम्पको मार–ए–लागो रिजोर्टमा दैनिक २ हजारभन्दा बढी पर्ने भिल्ला भाडामा लिएर ट्रम्पका नीति बनाउन र उनको शपथको तयारी गर्नमा बिताए । त्यो समयमा मस्क ट्रम्प र उनका कतिपय उग्र दक्षिणपन्थी नीतिहरूको घोर प्रचारक थिए । पहिले ट्रम्पले मस्कसँगै विवेक रामस्वामीका लागि बनाएको सरकारको प्रभावकारिता बढाउनेसम्बन्धी विभाग (डज) को नेतृत्वमा पनि मस्कले एकलौटी गरे । 

ह्वाइटहाउस प्रवेश गर्दाताका यो सम्बन्ध कति घनिष्ठ थियो भने समाचारहरूका अनुसार ट्रम्पले मस्कलाई ह्वाइटहाउसकै लिंकन बेडरुममा बस्नै अफर गरेका थिए । तर, मस्कले त्यो स्विकारिहालेनन् । बरु, सँगै जोडिएको एलेनोर बिल्डिङमा रहेको आफ्नो कार्यकक्षमै बसेर काम चलाए ।

हरेकजसो सरकारी कार्यक्रम र भ्रमणमा ट्रम्पको वरिपरि देखिने गरेका उनले ट्रम्पसँगै फक्स न्युजका सन ह्यानिटीलाई अन्तर्वार्ता दिने र एकअर्काको कार्यक्रममा सक्रिय देखिने गरे । त्यो बेला ‘रिपब्लिकन्स अगेन्स्ट ट्रम्प’ नामक एक्स एकाउन्टले व्यंग्य गर्दै भनेको थियो, ‘ट्रम्प त मस्कसँग मिलानियासँग भन्दा पनि नजिक देखिन्छन् ।’ 

यो निकटतामा ट्रम्पले पनि उत्तिकै साथ दिएका थिए । उनले मस्कलाई आफ्ना सबै प्रमुख चन्दा र राजनीतिक समर्थन जुटाउने प्रयासमा मात्रै अघि सारेनन्, निरन्तर मस्क आफ्नो मनपर्ने व्यक्ति भएको भन्दै उनका व्यवसाय र अराजक शैलीको निरन्तर बचाउसमेत गरे ।

फेब्रुअरी २७ को एक इमेलमा ट्रम्पले लेखेका छन्, ‘मस्क मलाई अत्यन्तै मन पर्छन्, मिडियाले हाम्रो निकटता मन पराएका छैनन् र हामीलाई छुट्याउन प्रयास पनि गरिरहेका छन् । तर उनीहरू सफल हुने छैनन्, किनभने मस्क गज्जबका छन् ।’ ट्रम्पले कैयौँ सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल पोस्टहरूमा मस्कलाई ‘महान् पुरुष’ भन्ने गरेका थिए । आफ्नो शपथ ग्रहण र विजय र्‍यालीमा पनि मस्कलाई प्रमुख सिटमा राखे । 

ट्रम्पका छोराले ‘द बिगेस्ट ब्रोमान्स इन हिस्ट्री’ अर्थात् इतिहासकै उत्कृष्ट दोस्ती भनेको यो सम्बन्धका बीच ट्रम्प पनि सजिलो–अप्ठ्यारो दुइटै क्षण मस्कसँग उभिए । स्पेस एक्सका रकेट प्रक्षेपण गर्दा होस् वा टेस्लाको प्रचार गर्न, मस्कका कम्पनीहरूको ‘चियरलिडर’ बन्न ट्रम्पले अलिकति पनि झिँजो मानेको देखिएन । विपक्षी र कतिपयले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाउँदै गए तर ट्रम्पले मस्कप्रतिको आफ्नो सदासयता कम गरेनन् ।

गत साता मस्क ह्वाइटहाउसबाट बिदा हुनै लाग्दासम्म पनि ट्रम्पले भनेका थिए, ‘मस्कले यो काम गर्नुपर्ने थिएन, तर उनले आफूले सक्ने जति गज्जबको काम गरेका छन् । इलन मेरा मित्र हुन् र त्यसमा मलाई गर्व छ ।’

कसरी नजिकिए दुई उग्र अर्बपतिहरू ?

अरूलाई मान्छे नै नगन्ने र अरूका कुरा सकेसम्म सुन्नै नचाहने यी दुई अर्बपतिको निकटताको कारण के थियो ? ‘राजनीतिमा एउटा क्लिसे भनाइ छ, यहाँ कोही कसैको स्थायी शत्रु वा स्थायी मित्र हुँदैन, केबल स्थायी स्वार्थहरू हुन्छन्,’ अल जजिरामा पत्रकार अलि हार्बले लेखेका छन्, ‘ट्रम्प र मस्कको सन्दर्भमा यही कुरा लागू भएको देखिन्छ ।’ कतिपय प्रमुख आर्थिक र राजनीतिक विषयमा साझा दृष्टिकोण, एकअर्कालाई हुन सक्ने फाइदा र कार्यशैलीमा मिल्दाजुल्दा प्रवृत्तिले दुईलाई निकट बनाएको थियो । 

Trump and Musk sometimes 'genius', sometimes 'clown' for each other

मस्कले ट्रम्पसँग नजिकिँदा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि, अन्तरिक्ष व्यवसाय, विद्युतीय सवारीलगायत आफ्ना कैयौं व्यवसायसम्बन्धी नीतिहरूमा प्रत्यक्ष प्रभाव रहने र सरकारी निकायहरूसँगका परियोजनासमेत जोड्दा फाइदा हुने आकलन गरेका थिए । यस्तै, ट्रम्पलाई पनि २५/३० करोड डलरको राजनीतिक चन्दा, एक्सजस्ता मिडियामा बलियो प्रभाव, प्रविधि रुचाउने पुस्तासँग नजिकिएर उनीहरूको मत बटुल्न मस्क उपयोगी हुन सक्ने अवसर थियो । यस हिसाबले ट्रम्पलाई आफूसँग धेरथोर विचार मिल्ने सार्वजनिक व्यक्तिको खाँचो विश्वकै धनी व्यक्तिले पूरा गरिदिएका थिए ।

मस्क र ट्रम्प दुवैले आफूलाई वासिङ्टनको राजनीतिमा बाहिरिया व्यक्तिका रूपमा प्रस्तुत गर्ने गरेका थिए । परम्परागत राजनीतिको विरुद्धमा आफू रहेको र त्यसलाई भत्काउन चाहेको उनीहरूले सन्देश दिए । ‘वोक’ भनिने उदारतावादतर्फ बढ्दै गएको अमेरिकी झुकावको विरोधमा उनीहरू आक्रामक रूपमा प्रस्तुत भए । आप्रवासन, अमेरिकी सरकारको अत्यधिक कर्मचारी बोझ र झमेला, पारिवारिक मूल्य–मान्यतामा आएको स्खलन, समावेशी नीतिहरू र आफ्नो सीमाबाहिरका कतिपय देशमा अमेरिकी संलग्नताजस्ता विषयमा यी दुईबीच लगभग उस्तै धारणा देखिन्थ्यो । 

‘उनीहरू सरकारको खर्च कटौती, अमेरिकी कम्पनीहरूले आफ्नै देशमा उत्पादन र रोजगारी बढाउनुपर्ने, अमेरिकाको राष्ट्रिय ऋण घटाउनुपर्ने र अर्थतन्त्र सबैभन्दा माथिल्लो प्राथमिकतामा रहनुपर्नेजस्ता अनेकौँ कुरामा समान धारणा राख्ने हुनाले पनि निकटता सम्भव भएको थियो,’ नेसनल पब्लिक रेडियो (एनपीआर) मा सानोन बन्डले लेखेकी छन्, ‘यी नीतिगत र राजनीतिक समानतासँगै ट्रम्प र मस्कको कतिपय व्यक्तिगत शैली र व्यक्तित्व पनि एकआपसमा मिल्ने किसिमको देखिन्थ्यो ।’ 

दुवै धनाढ्यहरूले आफूले वासिङ्टनको राजनीतिक संस्थापन भत्काउन चाहेको विचार राख्ने गरेका थिए । दुवै मिडियामा अधिक छाइरहन र आफूसँग असहमतलाई अत्यन्तै क्रूर तरिकाले आलोचना गर्न सिपालु छन् । आर्थिक राष्ट्रवादका बारेमा उस्तै किसिमका अभिव्यक्ति दिने दुई अत्यधिक सामाजिक सञ्जालमा पछ्याइने व्यवसायीहरूबीच अमेरिकाले आप्रवासन, मतदानको अधिकार, समावेशी नीति र सञ्चारमाध्यमलाई कडा नियमन गर्नुपर्नेजस्ता कुरा हुबहु मिल्थे । कतिसम्म भने अमेरिकाका चलेका ठूला मिडियालाई मस्क र ट्रम्प दुवैले ‘फेक न्युज’ भनेर व्यक्तिगत र संस्थागत रूपमै आलोचना गर्ने गरेका छन् । आफ्ना साना–ठूला सबै घोषणा सामाजिक सञ्जालबाटै गर्नेसम्मका बानी पनि आपसमा मिल्न जाँदा नजिकिन सहज भएको थियो । 

Trump and Musk sometimes 'genius', sometimes 'clown' for each other

ट्रम्प र मस्कबीचको साझेदारी सुरुमा अत्यन्तै बलियो देखिएको थियो । मन्त्रिपरिषद्कै बैठकमा ट्रम्पले ‘कसैलाई मस्कको कामसँग आपत्ति त छैन नि ?’ भनेर प्रश्न गर्दा सबै गलल हाँस्ने वातावरण थियो । ‘वोक’ भनिने उदारतावादी नीतिहरूको विरुद्धमा खरो हुने वाचासहित राष्ट्रपतीय र संसद्को निर्वाचनमा अभूतपूर्व सफलता पाउनु र ४ वर्षपछि लोकप्रिय मतले जितेर ह्वाइटहाउस फर्कनुलाई यो जोडीको सबैभन्दा ठूलो सफलता मानिन्छ । त्यही शैलीलाई कायम राख्दै मस्कको नेतृत्वमा ट्रम्प प्रशासनले झन्डै २ लाख ६० हजारभन्दा बढी अर्थात् जम्माजम्मी कर्मचारी संयन्त्रको १० प्रतिशतभन्दा बढीलाई कामबाट बिदा गरिदियो । 

दुवै जनाले मन नपराउने समावेशी, विविधता, पिछडिएका क्षेत्रसँगै यूएसएड, वातावरण मन्त्रालय, शिक्षा विभागजस्ता निकाय लगभग बन्द गरिएका छन् । दुवैले मिलेर एआईमा आक्रामक नीति ल्याउनेसँगै अमेरिकी कम्पनीहरूलाई घरमै उत्पादन गर्न दबाब दिन सफल पनि भए । ट्रम्पको एआई नीति मुख्यतः खुकुलो नियमन (डिरेगुलेसन) र नवप्रवर्तनको प्रवर्द्धनमा केन्द्रित छ । 

कुरा कहाँ बिग्रियो ?

मस्कले ट्रम्पलाई खुब माया गर्ने बताएकै बेला, यी दुईको सम्बन्ध फेब्रुअरीको मध्यतिरबाटै ओरालो लाग्न सुरु भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सबैथोकको केन्द्रमा आफू हुनुपर्ने र सञ्चारमाध्यममा एकलौटी रूपमा आफू मात्रै अगाडि हुनुपर्ने ट्रपको सोच रह्यो । मस्क पनि आफ्नै शैलीमा समाचारको हेडलाइन बन्न चाहने हुँदा सञ्चारमाध्यममै ‘को धेरै देखिने’ भन्ने विषयले समेत दूरी बढाउन भूमिका खेलेको मिडिया पक्षको विश्लेषण छ । 

ह्वाइटहाउसको अघिल्तिर टेस्ला गाडी ल्याएर ट्रम्पलाई प्रचार गर्न लगाउने, सार्वजनिक कार्यक्रममा विद्युतीय आरा (चेन स) सहित उपस्थित हुने र हैकमी शैलीमा काम गर्ने मस्कको अराजक तरिकाबाट ट्रम्पका कतिपय प्रमुख राजनीतिक साझेदारहरू चिढिएको विषयमा वासिङ्टन पोस्टमा सन् २०२४ मै ‘इलन मस्क, द रिचेस्ट म्यान इन द वर्ल्ड, बिकम्स डोनाल्ड ट्रम्प्स फर्स्ट बडी’ शीर्षकमा विश्लेषणात्मक समाचार प्रकाशित भएको थियो ।

सो समाचारअनुसार ट्रम्पका सल्लाहकारहरूले मस्कले क्षेत्राधिकार मिचेको गुनासो गर्न सुरु गरेका थिए । कतिपय निकायका कार्यक्रम र कर्मचारी हटाउँदा आफूलाई नसोधिएको विषयमा मन्त्रीहरू रुष्ट हुन थालेपछि ट्रम्प सोच्नमग्न भएका थिए । त्यससँगै मस्कले चाँडै आफ्नो कार्यभार सकाउने र ‘डज’ बाट बाहिरिने कुरा ट्रम्पले गर्न थाले । 

पछिल्लो पटक विस्कनसनको निर्वाचनमा मनग्य पैसा र पर्याप्त प्रचार गरे पनि रिपब्लिकनको पक्षमा नतिजा आएन । देशभर ‘डज’ का विरुद्ध प्रदर्शन भइरहँदा ट्रम्प–मस्कबीच नीतिगत मतभेद पनि बढ्दै गयो ।

सुरुबाटै आक्रामक रूपमा बजेट कटौती, ऋण घटाउने, निमयनहरू कम गर्नुका साथै ट्रम्पले ल्याएका एकपछि अर्को अतिरिक्त शुल्क अर्थात् ट्यारिफमा पनि दुईबीच मतभेद देखियो । ट्रम्पका ट्यारिफ र नियमनका नीतिहरूले आफ्नो कम्पनीलाई असर गर्न सुरु गरेपछि स्वच्छन्द रूपमा बोल्न रुचाउने मस्कले त्यसको विरुद्धमा अभिव्यक्ति दिए ।

न्युयोर्क टाइम्सजस्ता सञ्चारमाध्यममा आएका समाचारअनुसार मस्कलाई ट्यारिफविरुद्ध बोलेको भन्दै मन्त्रिपरिषद् बैठकमा ट्रम्पकै अगाडि विदेशमन्त्री मार्को रुबियो र अर्का एक वरिष्ठ अधिकारीले हप्काएका थिए । त्यसपछि मस्क चिढिन र सार्वजनिक कार्यक्रमहरूमा कम देखिन सुरु गरे । 

Trump and Musk sometimes 'genius', sometimes 'clown' for each other

केही समयअघि मात्रै ट्रम्प प्रशासनले ‘बिग ब्युटिफुल बिल’ भनेर अत्यधिक प्रचार गरेको आर्थिक विधेयक भने दुईबीच फाटो ल्याउने सबैभन्दा ठूलो कारक बन्न पुग्यो । राष्ट्रिय ऋण बढाउन नहुने र अहिले प्रस्तावित व्यवस्थाले अमेरिकी अर्थतन्त्रलाई थप धराशायी बनाउने भन्दै मस्कले त्यसको आलोचना गरे । यसलाई ‘घिनलाग्दो’ समेत भन्न भ्याए । मस्कको कार्यशैलीले आफ्नो पार्टीलाई भार थपेको सोचिरहेको रिपब्लिकन प्रशासनले सो अभिव्यक्तिपछि मस्कलाई निरस शैलीमा बिदाइ गरिदियो । 

तर, ट्रम्प र मस्कबीच गत केही सातादेखि नै सहज सम्बन्ध नरहेको ट्रम्पका भ्रमण र कार्यक्रमसँगै सार्वजनिक अभिव्यक्तिमा मस्कको अनुपस्थितिले पुष्टि गर्छन् । मस्कले पनि आफ्नो बिदाइलगत्तै सुरुमा विधेयकको विरोधमा र विस्तारै ट्रम्पकै विरुद्धमा व्यक्तिगत आलोचना र गालीगलौज गर्न थाले । यो समाचार तयार गर्दासम्म मस्क विद्यमान दुई पार्टीले अहिलेको समस्या सम्बोधन गर्न नसक्ने भन्दै ‘अमेरिकन पार्टी’ नामक नयाँ राजनीतिक दल खोल्ने धुनमा छन् । ट्रम्पका नीतिहरूको आलोचना गर्ने मात्रै नभएर मस्कले ट्रम्पलाई ‘जेफ्री एप्स्टिन काण्ड’ मा जोडेर यौन उत्पीडकहरूसँग नजिक रहेको आरोप लगाउन भ्याए । 

एप्स्टिन फाइलमा ट्रम्पको पनि नाम रहेको भन्दै मस्कका तर्फबाट आएको सबैभन्दा विवादास्पद पोस्ट शनिबार उनले एक्सबाट हटाए । यो मात्रै होइन, ‘ट्रम्पलाई महाअभियोग लगाएर उनको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई ल्याउनुपर्छ’ भन्ने एक पोस्टमा मस्कले ‘एस’ लेखेको ट्वीट पनि अहिले उपलब्ध छैन । ट्रम्पले मस्कको स्पेस एक्ससँग सम्बन्धित सरकारी अनुदान र ठेक्काहरू खारेज गर्ने धम्की दिएपछि उनले पनि धमाधम यस्ता आक्रामक ट्वीट गरेका थिए । उनका पोस्टहरूमा अहिलेको नेतृत्वको विकल्प खोजिनुपर्ने र अहिलेको शैलीले अर्थतन्त्र र राजनीति किन अघि बढ्न सक्दैन भन्ने विषय थिए ।

अब के हुन्छ ?

‘यद्यपि, अहिलेका लागि अवस्था केही शान्तजस्तो देखिएको छ,’ टाइम म्यागजिनमा रेबेका स्नेइडले शनिबार लेखेकी थिइन्, ‘तर, ट्रम्पले अब मस्कसँग मेलमिलाप गर्ने कुनै पनि योजना नरहेको स्पष्ट संकेत दिएका छन् ।’ मस्कलाई दिएको ह्वाइटहाउसको साँचो फिर्ता लिने विषयमा भने ट्रम्पले ‘एकचोटि दिएको चिज फिर्ता गर्ने मेरो चलन छैन’ भनेका छन् । उनले आफूसँग हिँड्दा मस्कले लागूऔषध सेवन गर्ने गरेको विषयमा न्युयोर्क टाइम्सले छापेको समाचारको भने खण्डन गरेको टाइमले जनाएको छ । ‘उनले त्यस्तो गर्थे भन्ने मलाई थाहा छैन,’ ट्रम्पले भनेका छन्, ‘साँच्चै भन्नुपर्दा त्यो समाचार पढ्दा मलाई त्यो कुरा सही लागेको थिएन ।’ 

कतिपय समाचारका अनुसार ह्वाइटहाउसका सहयोगीहरू र बिल एकम्यानलगायतले ट्रम्प र मस्कबीच सम्झौता गराउन खोजिरहेका छन् । यद्यपि, ट्रम्पले मस्कसँग कुरा गर्ने कुनै योजना नभएको बताइसकेका छन् । दुवैले पछि नहट्ने अडान लिएमा यो विवाद थप बढ्दै जाने वा समझदारी भइहाले पनि त्यो अस्थायी हुने धेरैको विश्लेषण छ । शनिबार ट्रम्पले सञ्चारमाध्यमसँग कुरा गर्दै ‘म मस्कको भलो चाहन्छु’ भनेको पोस्टमा प्रतिक्रिया जनाउँदै मस्कले ‘म पनि उनका लागि त्यही चाहन्छु’ भनेका थिए । 

ट्रम्प र मस्कको झैझगडा जारी रहे त्यसको आर्थिक र राजनीतिक असर भने बढ्दै जानेछ । राजनीतिक रूपमा ट्रम्प र कतिपय दक्षिणपन्थी उम्मेदवारलाई जिताउन र उनीहरूका एजेन्डा स्थापित गर्न पैसा नै खर्च गरेर लागेका मस्कले त्यसो नगर्दा आगामी निर्वाचनमा रिपब्लिकनले समस्या झेल्नुपर्नेछ । मस्कले आफैं एक्समा पोस्ट गर्दै ‘मैले ट्रम्पलाई चुनाव जिताएँ, म नभएको भए डेमोक्र्याटहरूले राष्ट्रपति र संसद् दुवै कब्जा गर्थे, कस्ता कृतघ्न’ भनेर व्यंग्य गरेका थिए । यसबाट पनि रिपब्लिकन पार्टीमा उनको प्रभाव थाहा हुन्छ । 

यस्तै, अहिलेको विवाद जारी रहे डेमोक्र्याट र उदारवादीविरुद्ध एकजुटजस्तो देखिएको दक्षिणपन्थी खेमा टुक्रने सम्भावना देखिन्छ । मस्कले खुला रूपमै नयाँ दल दर्ता गर्ने र अहिले ट्रम्पको विधेयकलाई सघाउने सबै सांसदलाई चुनावमा हराउनुपर्ने चुनौती दिइरहँदा प्रविधिमैत्री नयाँ पुस्ताले मस्कलाई साथ दिने सम्भावना रहन्छ । कतिपय अवस्थामा मिथ्या र भ्रामक सूचनासमेत प्रसार गरेर ट्रम्पका एजेन्डा स्वीकृत गराइछाड्ने मस्कको ह्वाइटहाउसमा कमी महसुस हुन सक्छ । 

Trump and Musk sometimes 'genius', sometimes 'clown' for each other

आर्थिक रूपमा भने यसअघि नै आफ्ना ‘ब्रान्ड भ्यालु’ मा आएको गिरावट र बजारमा उल्लेख्य चुनौती झेलिरहेका मस्क थप दबाबमा पर्न सक्ने वालस्ट्रिट जर्नलको विश्लेषण छ । विद्युतीय सवारी र हरित ऊर्जाको परम्परागत आलोचक रहेका रिपब्लिकनहरूले त्यसको थप कडा नियमनमार्फत मस्कमाथि दबाब बढाउन सक्छन् । ट्रम्पले घोषणा गरेजस्तै सरकारी करार, ठेक्का, अनुदानलगायत अर्बौं अमेरिकी डलर रोकिएमा मस्कका स्पेस एक्सजस्ता कम्पनीहरू सोझै संकटमा पर्न सक्छन् । एपी न्युजका अनुसार ट्रम्पसँगको विवादले टेस्लाको सेल्फ ड्राइभिङ गाडीसम्बन्धी परियोजनामा ढिलाइ हुन सक्छ र नासासँग स्पेस एक्सका मिसनहरूमा पनि असर पर्न सक्छ । 

यो विवादको निरुपण कसरी हुन्छ भन्ने प्रस्ट छैन । तर, सामाजिक सञ्जाल र विशेषगरी ट्रम्प–मस्क जोडी मन नपराउनेका लागि हसीमजाक र व्यंग्यसँगै मिम सेयर गर्ने ठूलो अवसर बनेको छ । एक युक्रेनी प्रयोगकर्ताले बिहीबार नै ठट्यौली शैलीमा एक्समा लेखेका थिए, ‘ट्रम्प र मस्कबीच २४ घण्टाभित्र युद्धविराम गरिदिने प्रस्ताव जेलेन्स्कीले अघि सारेका छन् ।’ (एजेन्सीको सहयोगमा)

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully