किभ — युक्रेनका विभिन्न सहरमा शनिबार बिहान भएको रुसी हवाई हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त हमलामा २० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।
खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यहाँ हालसम्मकै सबैभन्दा ठूलो हवाई हमला भएको हो । शनिबार बिहान करिब चार बजेदेखि सुरु भएको उक्त आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रहार गरिएको टेरेखोभले जानकारी दिए । खार्किभमा मात्र तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ ।
त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ । डिनप्रो सहरमा दुई महिला घाइते भएका छन् भने लुत्स्कमा एक दिनअघि शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ । अधिकारीहरूले घाइतेको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।
रुसले पछिल्ला दिनमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ ।
