युक्रेन वा रुस कुनै पनि पक्षले युद्धमार्फत आफूले चाहेको कुरा शतप्रतिशत पाउन सम्भव छैन, तर जे जति पाउन सम्भव छ, त्यो वार्ताबाटै मात्र सम्भव छ : राष्ट्रपति लुला
पेरिस — ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्रसंघलाई पहल गर्न आह्वान गरेका छन् । उनले समस्याको समाधान खोज्न एक समूह गठन गरेरै अघि बढ्न राष्ट्रसंघलाई सुझाव दिएका हुन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले यसै साता रुस–युक्रेन द्वन्द्व समाधानका लागि ब्राजिलको ‘अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको’ बताएपछि लुलाले फ्रान्स भ्रमणका क्रममा राष्ट्रसंघको नेतृत्वदायी भूमिकाको खोजी गरेका हुन् । रुस र युक्रेनबीच भएको पहिलो चरणको इस्तानबुल वार्ताले तीन वर्षभन्दा लामो लडाइँमा विराम लगाउन असफल भएपछि दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्ता यसै साता इस्तानबुलमा नै सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई ‘असल मानिस’ को संज्ञा दिँदै लुलाले पत्रकार सम्मेलनमा भने, ‘रुस–युक्रेनबीच चलिरहेको द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्रसंघ फेरि नायक बन्न सक्छ ।’
राष्ट्रसंघका प्रमुखद्वारा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैलाई ‘एउटा मित्रशक्तिहरूको समूह’ बनाउने बारेमा प्रस्ताव गरिनुपर्ने राष्ट्रपति लुलाले जनाउँदै थपे, ‘त्यसपछि उनीहरू आपसमा कुरा गर्नेछन्, आ–आफ्ना यथार्थ सुन्नेछन् र त्यसपछि विकल्पका बारेमा छलफल गरेर शान्ति प्रयासका लागि अघि बढ्नेछन् ।’ उनले आफू जेलेन्स्की र पुटिनसँग वार्ता गर्न युद्धमा संलग्न नभएका देशहरू सम्मिलित एक आयोग गठनको प्रस्ताव गर्न चाहेको पनि बताए ।
भने, ‘कुनै पनि पक्षले युद्धमार्फत आफूले चाहेको कुरा पाउन सम्भव छैन, तर जे जति पाउन सम्भव छ त्यो वार्ताबाटै मात्र सम्भव छ । न त जेलेन्स्कीको पक्षमा युद्ध नतिजा शतप्रतिशत अवस्थामा छ, न त पुटिनको पक्षमा नै वातावरण सहज छ ।’
अधिकांश युरोपेली देशहरूको विपरीत राष्ट्रपति लुलाले मस्कोसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै आएका छन् भने युक्रेनप्रति पनि तटस्थ रूपमा प्रस्तुत हुँदै आएका छन् ।
जुलाईमा रियो दि जेनेरियोमा ब्रिक्स समूहको अर्को शिखर सम्मेलन आयोजना गर्न लागेका राष्ट्रपति लुलाले युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रुसमा निर्वासित गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको पक्राउ पुर्जीका बाबजुद पुटिनलाई बैठकमा आमन्त्रण गरिएको बताए । यसैगरी, रुसले शनिबार युक्रेनमाथि कब्जामा लिएका सैनिकको ठूलो परिमाणमा आदानप्रदान स्थगित गरेको आरोप लगाएको छ ।
