वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका पूर्व वरिष्ठ सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्क एकअर्काबीच सार्वजनिक रूपमै टीकाटिप्पणीमा उत्रिएका छन् । बिहीबार ओभल अफिसमा जर्मनीका नेतासँगको भेटका क्रममा ट्रम्पले आफ्नो सल्लाहकार समेत रहेका मस्क एकाएक सामाजिक सञ्जालमा आफूविरुद्ध खनिन थालेको बिलौना गर्न भ्याए ।
अर्बपति मस्क हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसद्को तल्लो सदन) मा पास गरिएको कर र खर्चसम्बन्धीको विधेयकलाई लिएर केही दिन अघि ट्रम्पको कडा आलोचनामा उत्रिएका थिए । साथै उनले यसलाई ‘घिनलाग्दो’ कदमका रूपमा टिप्पणी गरे । मस्कले ट्रम्पलाई सामाजिक सञ्जालमा जवाफी पोस्ट गर्दै भने, ‘यो विधेयक मलाई एक पटक पनि नदेखाएर रातारात यसरी, यति चाँडो पारित गरियो कि कंग्रेसमा लगभग कसैले पनि यसलाई पढ्न पाएनन् ।’
आफ्ना समर्थकहरू मध्येका एक मस्कका यी पछिल्ला अभिव्यक्तिमाथि ट्रम्पले आपत्ति जनाउँदै आएका छन् । उनले मस्कको कदमलाई ‘एकदमै निराशा’ को संज्ञा दिँदै अचम्मित तुल्याएको बताउँदै आएका छन् ।
मस्क ट्रम्पको चुनावी गतिविधिमा सक्रिय रूपमा लागेका थिए । गत जनवरीदेखि राष्ट्रपति कार्यालयका प्रमुख सल्लाहकार बनेका उनले हालै एक हप्ताअघि जिम्मेवारी त्यागेका हुन् । ट्रम्पले मस्कले ह्वाइट हाउसमा यसअघि कार्यरत रहेको बिर्सिएको र उनमा ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्राेम´ ले जरा गाडेको बताए ।
‘उनले मेरो व्यक्तिगत सवालमा केही बोलेका छैन्न्, तर म विश्वस्त छु कि त्यो पनि आउँछ,’ ट्रम्पले भनेका छन्, ‘तर म एलनसँग एकदमै अचम्मित तथा निराश छु, किनकि मैले पनि एलनलाई धेरै मद्दत गरेको छु ।´
