भारतको पूर्वोत्तर राज्यहरुमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ पुग्यो

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

The death toll from floods and landslides in India's northeastern states has reached 44

काठमाडौँ — भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

गत बिहीबार यताको भारी वर्षापछिको विपद्‌मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जना, मिजोराममा ५ जना, त्रिपुरामा २ जना र नागाल्याण्ड र मनिपुरमा एक/एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै एनडिटिभीले लेखेको छ । 

यसैगरी सिक्किममा आइतबार साँझ सैनिक क्याम्प नै बगाउँदा तीन सैनिकको कृत्यु भएको थियो भने बेपत्ता भएका अन्य ६ सैनिक अझै फेला परेका छैनन् ।

बाढी पहिरोले गर्दा सबैभन्दा बढी आसाममा क्षति पुगेको छ । आसामको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार यहाँका २१ जिल्लाका एक हजार ५ सय ६ गाउँका ६ लाख ३३ हजार भन्दा बढी जनसंख्या प्रभावित छन् । 

१४ हजार ७३९ हेक्टरको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । सबैभन्दा बढी श्रीभुमी जिल्ला प्रभवित छ र यहाँको २ लाख ३१ हजार ५३६ जनसंख्या प्रभावित भएको डेक्कनहेराल्डले लेखेको छ । बाढी पहिरो प्रभावितहरुमध्ये ३९ हजार ७४६ जनालाई विभिन्न अस्थायी शिविरहरुमा आश्रय दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully