रुसी सैन्य बेसमा युक्रेनको ड्रोन आक्रमण, ४१ रुसी सेनाका विमान ध्वस्त पारेको दाबी

सीएनएनले लेखेको छ, 'यो आक्रमणबाट करिब ७ अर्ब अमेरिकी डलर बराबरको क्षति पुग्यो

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Ukraine's drone attack on Russian military base claims to have destroyed 41 Russian military aircraft

काठमाडौँ — युक्रेनले आर्कटिक र साइबेरियासहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अलजजिराले लामो दूरीमा बम प्रहार गर्न सक्ने सुपरसोनिक टियु-२२एम सहित पूर्व सुचना दिने ए-५० सहितका विमानमाथि युक्रेनले प्रहार गरेको जनाएको छ ।

युक्रेनी आक्रमणबारे भने मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन । अलजजिराले लेखेको छ, 'मस्कोले विमानहरूमा भएको क्षतिबारे कुनै टिप्पणी गरेको छैन, तर उसले ती एयरफिल्डहरू 'युक्रेनी आतङ्कवादी आक्रमण' बाट प्रहारमा परेको पुष्टि गरेको छ।


युक्रेनी सुरक्षा निकायले सार्वजनिक गरेका भिडियोमा केही रुसी विमानहरुमा प्रहार भएको देखिन्छ । बेलायती सञ्चारमाध्यम गार्डियनले रुसभरिका विभिन्न सैन्य विमानस्थलहरूबाट प्राप्त भिडियोहरूमा जलेका विमान र आगोमा डुबेका युद्ध विमान देखिएको तर क्षतिको पूरा विवरण अझै स्पष्ट नभएको उल्लेख गरेको छ ।

ब्यालिस्टिक र क्रुज मिसाइल प्रक्षेपणमा समेत प्रयोग हुने रुसी बमवर्षक विमानमाथि क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सीएनएनले भने युक्रेनले रुसका मुख्य वायु सैन्य अड्डामा रहेका ३४ प्रतिशत रणनीतिक क्रुज मिसाइल बोक्ने विमानमा प्रहार गरेको उल्लेख गरेको छ । 

सीएनएनले लेखेको छ, 'यो आक्रमणबाट करिब ७ अर्ब अमेरिकी डलर बराबरको क्षति पुग्यो ।' सीबीएस न्युजले भने क्षतिसम्बन्धी यो तथ्यांकलाइ स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको लेखेको छ । सैन्य विश्लेषकहरूले युक्रेनको पछिल्लो ड्रोन आक्रमणलाई युद्ध सुरु भएयता कीभबाट भएको सबैभन्दा महत्त्वपूर्ण हमला भनेका छन्।

सीबीएस न्युजले युक्रेनी सुरक्षा स्रोतहरू उद्धृत गर्दै अपरेसन 'दि स्पाइडरवेब' अन्तर्गतको आक्रमणमा यस्तो क्षति भएको र यो पूरा गर्न युक्रेनी सेनालाइ डेढ वर्षभन्दा बढी समय लागेको भन्दै लेखेको छ, 'यसलाई राष्ट्रपति  भोलोदिमिर जेलेन्स्की स्वयंले प्रत्यक्ष रूपमा हेरेका थिए ।'  सीबीएस न्युजले उक्त अपरेसनमा ११७ वटा ड्रोन प्रयोग गरिएको जनाएको छ ।

युद्धविरामको सम्भावना खोज्न इस्तानबुलमा हुने अर्को चरणको वार्ताका लागि तयारी गरिरहेकै बेला यो आक्रमण भएको हो । झन्डै ३ वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच 'फेस टु फेस' वार्ता सुरु भएको छ । तुर्कियेको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू एक चरण शान्ति वार्तामा बसिसकेका छन् ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसको एक हप्तापछि दुई देशबीच इस्तानबुलमा वार्ता भए पनि युद्ध रोक्न सहमत भएका थिएनन् । रोयटर्सका अनुसार पछिल्लो ३ वर्षमा रुस-युक्रेन युद्धमा हजारौँ सेना र सर्वसाधारण मारिएका छन् ।

कान्तिपुर

Link copied successfully