शुक्रबार केही सशस्त्र समूहले डेइर अल–बलाहको एक अस्पतालमा ल्याइएका ५ ट्रक औषधिजन्य सामग्री र बालबालिकाको पोषण खाना लुटेका छन्
न्युयोर्क — हमासले इजरायलमा २०२३ अक्टोबर ७ मा आक्रमण गरेपछि २० महिनादेखि जारी युद्धका कारण गाजामा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको छ । निरन्तर बम आक्रमण, कुपोषण, ठूलो संख्यामा सर्वसाधारणको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति संकटपूर्ण भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार जनाएको छ ।
उक्त कार्यालयका अनुसार राष्ट्रसंघ तथा यसका साझेदार संस्थाहरूले पठाएको राहत सामग्री बोकेका पाँच सवारीसाधनलाई चार दिनपछि पहिलो पटक गाजामा प्रवेश गर्न दिइएको थियो । तर डेइर अल–बलाहको एक अस्पतालका लागि लगिएका ती औषधिजन्य सामग्रीमध्ये अधिकांश लुटिएको सञ्चारमाध्यमले जनाएका छन् । उक्त अस्पतालमा शुक्रबार केही सशस्त्र समूह प्रवेश गरी बालबालिकाको पोषणका लागि राखिएको औषधि र उपकरणहरू लुटेका हुन् ।
केरम शालोम भनिने नाका आसपास क्षेत्रका लागि राहत सामग्री बोकेर पुगेका ६० वटा सवारीसाधन भने द्वन्द्वका कारण फर्कनुपरेको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ताका अनुसार नाका वरपरको ‘नो म्यान्स ल्यान्ड’ क्षेत्रमा हतियारधारी समूहका गतिविधि बढ्दो रहेकाले अवस्था थप जटिल बन्दै गएको हो ।
राष्ट्रसंघका अनुसार, झन्डै ८० दिनदेखि आपूर्ति पूर्णरूपमा बन्द गरिएकाले गाजामा स्वास्थ्य तथा खाद्यान्न संकट चरम अवस्थामा पुगेको छ । सीमित मात्रामा गाजामा प्रवेश गरिरहेका सामग्रीले त्यहाँको जनजीवनको मागलाई धान्न सक्ने अवस्था छैन । करिब २१ लाख जनताको आधारभूत आवश्यकता पूरा गर्न उक्त राहत अपर्याप्त रहेको राष्ट्रसंघले उल्लेख गर्दै आइरहेको छ ।
संयुक्त राष्ट्रसंघ र यसका साझेदार संस्थाहरूले विभिन्न कठिनाइका बाबजुद पनि गाजामा आवश्यक सहयोग पुर्याउने प्रयास गरिरहेका छन् । तर इजरायलले गाजामा भित्रिने राहत सामग्रीको मात्रा र प्रकारमा प्रतिबन्ध लगाउँदै नाकाबन्दीलाई झन् झन् कडा पार्दै लगेपछि गाजावासीले भोकमरीकै कारण ज्यान गुमाउनुपर्ने जोखिम बढ्दो छ ।
विस्थापन, खाद्यान्न अभाव र लुटपाटको अवस्था
पछिल्ला दुई सातायता गाजामा झन्डै दुई लाख सर्वसाधारण विस्थापित भएका छन् । इजरायली प्रशासनले हालै गाजाको करिब ३० प्रतिशत क्षेत्रलाई खाली गर्न निर्देशन दिएको बताइएको छ । यद्यपि, यहाँका अधिकांश स्थानीय खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको खोजीमा स्थान परिवर्तन गर्दै भौंतारिरहेका छन् । केही क्षेत्रमा राष्ट्रसंघले राहतका रूपमा आपत्कालीन बासस्थल निर्माण सामग्री वितरण गरिरहेको भए पनि त्यो पर्याप्त छैन । त्यसमा पनि पछिल्ला दिन गाजामा सार्वजनिक सुरक्षा कमजोर बन्दै जाँदा लुटपाटका घटनाहरू बढेको पाइएको छ ।
राष्ट्रसंघले इजरायललाई गाजामा सार्वजनिक सुरक्षाको सुनिश्चितताको जिम्मेवारी बहन गर्न आग्रह गर्दै शान्तिपूर्ण र कानुनी तरिकाले अपराध रोक्न आवश्यक रहेको जनाएको छ । साथै, पर्याप्त राहत सामग्री, खाद्यान्न तथा आवश्यक वस्तुहरू गाजामा पुर्याउनका लागि नाकाहरू खोल्न पनि आवश्यक भएको जनाएको छ । सल्फित क्षेत्रमा इजरायली सुरक्षाकर्मीले लगाएको आवागमन नियन्त्रणका कारण करिब ९० हजार स्थानीयलाई स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको जनाइएको छ । त्यस क्षेत्रका बासिन्दालाई लामो बाटो हिँड्नुपर्दा यात्रा खर्च बढेको र दैनिक जीवनमा कठिनाइ भइरहेको छ । राष्ट्रसंघले सर्वसाधारणका आधारभूत आवश्यकता सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
स्वास्थ्य सामग्री लुटिएको घटनाप्रति राष्ट्रसंघद्वारा दुःख व्यक्त
गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा शुक्रबार आक्रमण गरी ठूलो मात्रामा चिकित्साजन्य सामग्री चोरी गरेको घटनाप्रति राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । आक्रमणकारीको समूहले अस्पतालको गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा उपकरण, आपूर्ति, औषधि र पोषणजन्य सामग्रीको नष्ट गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।
चोरी गरिएको सहायता सामग्री युद्धग्रस्त गाजामा गत बिहीबार मात्रै पुगेको थियो । गाजाको अवस्था थप बिग्रँदै जाँदा सार्वजनिक व्यवस्था र सुरक्षा व्यवस्था कमजोर भएको छ । जसले गर्दा गाजामा लुटपाटका घटनाहरू पछिल्ला दिन ह्वात्तै बढेको बताउँदै डुजारिकले भनेका छन्, ‘शुक्रबार अस्पतालमा भएको आक्रमण सशस्त्र समूहहरूद्वारा भएको थियो ।’
लामो नाकाबन्दीपछि इजरायलले प्यालेस्टिनी क्षेत्रमा न्यून परिमाणमा सहयोगको अनुमति दिन थालेको छ । नाकाबन्दीले खाद्यान्न र औषधिको अभाव निम्त्याएपछि अहिलेसम्म उपलब्ध सहायता गाजाको आवश्यकताका लागि ‘समुद्रमा एक थोपा’ मात्र भएको पनि उनले टिप्पणी गरेका छन् । राष्ट्रसंघको मानवीय सहायता समन्वय निकायले शुक्रबार मात्रै गाजाको शतप्रतिशत जनसंख्या अनिकालको जोखिममा रहेको चेतावनी दिएको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यस क्षेत्रमा इजरायली आक्रमणमा परी अहिलेसम्म ५४ हजार ३ सय २१ जनाको ज्यान गइसकेको छ । मारिनेमा अधिकांश महिला, बालबालिकासहित सर्वसाधारण रहेका छन् । युद्धका कारण गाजाको भौतिक संरचना पनि ध्वस्त भएको छ । जसले गर्दा गाजाको ठूलो हिस्सा भग्नावशेषमा परिणत भएको छ भने अस्पताल, विद्यालय, आवासीय क्षेत्र, सडक र जलमार्गको आधारभूत पूर्वाधार पनि ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
