भारतीय उत्तरपूर्वी राज्यहरुमा मनसुनी प्रकोप: पछिल्लो २४ घण्टामा कम्तीमा ३२ को मृत्यु

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Monsoon outbreak in Indian Northeast states: At least 32 dead in last 24 hours

काठमाडौँ — लगातारको भारी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर भारतको उत्तरपूर्वी राज्यहरु आसाम, अरुणाचल, मेघालय, मिजोराम र नागाल्याण्डमा कम्तिमा ३२ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

गत शनिबार दक्षिणी भारतमा प्रवेश गरेको मनसुन छिमेकी राष्ट्र बंगलादेशको उत्तरी भूभाग र मेघालयस्थित आइपुग्दा पछिल्लो २४ घण्टामा उल्लेख्य मात्रामा धनजनको क्षति पुर्‍याएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

सबैभन्दा बढी आसाम राज्य प्रभावित भएको छ । बाढीपहिरोमा परेर पछिल्लो २४ घण्टामा आसाममा ८ जनाको मृत्यु भएको समाचार एजेन्सी एनीले लेखेको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर गोलाघाट जिल्लामा बच्चा सहित दुई जना, लखिमपुर जिल्लामा एकजना र पहिरोमा परेर कामरुप जिल्लामा ५ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एनीले लेखेको छ । 

कामरुपका अरु दुईजना पहिरोमा परेर घाइते भएका छन् । अत्यधिक वर्षा हुँदा धेमाजी, दक्षिण सल्मारा, लखिमपुर, दिब्रुगह्, गोलाघाट, दर्राङ, नागाउँ, कर्वी आङलोङ, कामरुप, विश्वनाथ, तिनसुकिया र कार्बी आङलोङ पश्चिम गरी १२ जिल्लास्थित १७५ गाउँका ५८ हजार ९१ जनसंख्या प्रभावित भएका छन् । 

करिब ७९२ हेक्टरको कृषियोग्य जमिन डुबानमा परेको छ । १९४ पशुचौपाया बगेर गएका छन् । ७५ हजार ९१८ पशुचौपाया बाढीले गर्दा प्रभावित छन् ।

प्रभावित स्थानीयमध्ये करिब ७ हजारले जिल्ला प्रशासनले व्यवस्था गरेको राहत तथा उद्धार अस्थायी शिविरहरुमा आश्रय लिइरहेका छन् ।  

बितेको २४ घण्टामा बाढीले गर्दा २२ सडक सञ्जाल, एउटा पुल, सात वटा बाँध, सिँचाइ नहर, विद्यालय भवन तथा अन्गनवाडी केन्द्रहरुमा क्षति पुगेको छ । 

भारतको मौसम विभागले यी राज्यहरुमा उच्च सतर्कता अपनाउन सबै राज्यका प्रशासन तथा अधिकारीलाई चेतावनी जारी गरेको छ ।

कान्तिपुर

Link copied successfully