काठमाडौँ — भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानसँग भएको सैन्य संघर्षमा भारतको लडाकू विमान खसालेको विषयमा जवाफ दिएका छन् ।
जनरल चौहानले शनिबार ब्लूमबर्ग टिभीसँग दिएको एक अन्तर्वार्तामा भने, ‘विमान खसालेको विषय जरुरी छैन, तर यस्तो किन भयो भन्ने कुरा जरुरी हो ।’ उनले पाकिस्तानका तर्फबाट ६ वटा विमान खसालेको दाबीलाई अस्वीकार गरेका छन् ।
उनले भने, ‘जेट खसालेको विषय मलाई त्यति जरुरी लाग्दैन । तर किन खसाइयो त्यो महत्त्वपूर्ण हो ।’ तर उनले विमानको संख्याबारे कुनै जवाफ दिएनन् ।
उनले विमान खसेको घुमाउरो तरिकाले स्वीकार गरेका छन् । तर कति विमान खसे र क्षति के कति भयो भन्नेबारेमा भने खुलाएका छैनन् । पाकिस्तानले संघर्षका क्रममा ६ वटा लडाकू विमान खसालेको दाबी गर्दै आएको छ ।
