बाढीले भारतको पूर्वोत्तर राज्यमा कम्तीमा ३० को मृत्यु, १ लाख बढी प्रभावित

असमका १२ जिल्लाका १ सय ७५ गाउँ डुबानमा, ब्रह्मपुत्रलगायत प्रमुख १० नदीहरूको जलस्तर खतराको तहभन्दा माथि

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

At least 30 dead, more than 100,000 affected by floods in India's northeastern states

काठमाडौँ — दुई दिनदेखि परेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण भारतको पूर्वोत्तर क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बाढी र पहिरोका कारण असम राज्यका १५ जिल्लाका करिब एक लाख जना प्रभावित भएका छन् । केन्द्रीय जल आयोगले राज्यका ब्रह्मपुत्रलगायत प्रमुख १० नदीहरूको जलस्तर खतराको तहभन्दा माथि पुगेको जनाएको छ ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले नदी र तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् । असमको आपत्कालीन प्रबन्ध प्राधिकरणले शनिबार राति सार्वजनिक गरेको एक रिपोर्टअनुसार असमका १२ जिल्लाका १ सय ७५ गाउँ डुबानमा परेका छन् । शुक्रबारदेखि लगातार परेको भारी वर्षाले भारतको सिक्किमका अधिकांश भाग जलमग्न हुँदा जनजीवन प्रभावित भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीपहिरोले उत्तर सिक्किमका विभिन्न सडक बगाएको छ । मंगान प्रहरीका अनुसार लाचेन र लाचुङमा मात्रै १ हजार ३ सय ५० पर्यटक फसिरहेका छन् ।

राजमार्ग नै बाढीपहिरोले क्षतिग्रस्त बनाएका कारण उनीहरूको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा टिस्टा नदीमा जल सतह पनि बढेको छ भने मंगन र चुङथाङ जोड्ने एक मात्र बेलिब्रिजमा समेत क्षति पुगेको छ । सिलिगुडीबाट प्रकाशित हुने हिमालय दर्पणका अनुसार चुङथाङ र लाचेनबीच मुन्सिथाङमा सडक दुर्घटनामा परेर बेपत्ता बनेका आठ पर्यटक र चालकको अझै पत्ता लाग्न सकेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटनामा परेर भीरमा अड्किएको अवस्थामा दुई जनालाई उद्धार गरेर गान्तोकस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । बेपत्ता पर्यटकहरू ओडिसा र पश्चिम बंगालका रहेका छन् । असममा पनि लगातारको अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् ।

कान्तिपुर

Link copied successfully