एजेन्सी — इजरायल र हमासबीच अमेरिकाले राखेको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, हमासले भने उक्त प्रस्तावबारे अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ । त्यसो त युद्धविरामका लागि राखिएका प्रस्ताव इजरायलको पक्षमा रहेको भन्दै हमासका प्रतिनिधिले प्रारम्भिक प्रतिक्रिया जनाएको बताइएको छ ।
अमेरिकी प्रस्ताव स्वीकार गरेको बारेमा भने इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन । तर, ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भने इजरायलले प्रस्तावलाई अनुमोदन गरेको दाबी गरेकी छन् । रोयटर्सका अनुसार मस्यौदामा ६० दिनको युद्धविराम प्रस्ताव गरिएको छ । जसअन्तर्गत पहिलो साता जीवित र मृत गरी २८ इजरायली बन्धकलाई हमासले मुक्त गर्नेछ । त्यसको बदलामा इजरायलका तर्फबाट आजीवन कारावास सजाय सुनाइएका १२५ प्यालेस्टिनी कैदीलाई रिहा र हमलामा मारिएका १८० प्यालेस्टिनीको अवशेष हस्तान्तरण गरिने मस्यौदामा उल्लेख छ ।
पछिल्लो प्रस्तावमा युद्धविराम गर्न सहमत भएको खण्डमा गाजामा सहायता सामग्री आपूर्ति पनि सहज हुने बताइएको छ ।
रोयटर्ससँगको कुराकानीमा प्यालेस्टिनी लडाकु समूह हमासका वरिष्ठ अधिकारी साम अबु जुहरीले युद्धविराम प्रस्तावमाथि अध्ययन र छलफल भइरहेको बताएका छन् ।
तीन महिनादेखि इजरायलले गाजामा नाकाबन्दी गरेपछि भोकमरीले जनजीवन अस्तव्यस्त बनिरहेको छ । युद्ध अन्त्यका लागि गरिएको युद्धविराम पनि गत मार्चमा दुई महिना नबित्दै भंग भएको थियो । त्यसयता अमेरिका, इजिप्ट र कतारले युद्धविरामका लागि कूटनीतिक प्रयास जारी राखेका छन् । इजरायलले हमासलाई निःशस्त्र बनाउने अडान राख्दै आएको छ । हमासले बन्धक बनाएका ५८ जनालाई छाड्नुपर्ने उसको पूर्वसर्त छ ।
हमासले भने गाजाक्षेत्रबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग गर्दै आएको छ । पछिल्लो युद्धविरामका लागि सहमति जुटे गाजामा मानवीय सहायताको आपूर्ति तत्काल सुरु हुनेछ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार गत मार्चमा युद्धविराम भंग भएयता इजरायली नाकाबन्दी कारण गाजाका २० लाख मानिस भोकमरीको जोखिममा छन् । विश्व खाद्य कार्यक्रम लगायतका निकायले सहायता वितरणलाई सहज बनाउन अनुरोध गर्दै आएका छन् ।
