काठमाडौँ — सुडानको राजधानी खार्तुममा हैजाको प्रकोप फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले हैजाका कारण दुई दिनमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ ।
टर्किस मिडिया डेली सभाहले खार्तुम राज्यको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बुधबार ९४२ नयाँ संक्रमण र २५ जनाको मृत्यु भएको र मंगलबार ११ सय ७७ जना संक्रमित र ४५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
सुडानमा पछिल्ला दुई वर्षदेखि सेनाका वास्तविक नेता जनरल अब्देल फत्ताह अल-बुर्हानको नेतृत्वमा रहेको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस बीच सत्ता संघर्षमा चर्किइरहेको छ । हिंसात्मक सत्ता संघर्षका कारण राजधानी शहरको खानेपानी र विद्युत् पूर्वाधार ध्वस्त भएकाले पनि हैजाको प्रकोप नियन्त्रण लिन समस्या थपिएको छ । मुख्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा करिब ९० प्रतिशत अस्पतालहरू युद्धका कारण बन्द भएका छन्। त्यसैले पनि राजधानी गम्भीर स्वास्थ्य संकटमा फसेको अल सभाहले लेखेको छ ।
खार्तुम राज्यको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएअनुसार पछिल्ला दुई दिनको अवधिमा २,१०० भन्दा बढी नयाँ संक्रमण भएको पुष्टि भएको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा हैजाबाट कम्तीमा १७२ जनाको मृत्यु भएको छ । जसमध्ये ९० प्रतिशत राजधानी खार्तुमका छन् ।
