किएभ — युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा आठ जना घाइते भएका छन् । उक्त आक्रमण रूस र युक्रेनबीच कैदीहरूको आदान–प्रदानकै क्रममा भएको अधिकारीहरूले जनाएका छन् ।
किएभको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणले सहरका विभिन्न क्षेत्रमा आगलागी गराएको र संरचनात्मक क्षति पुर्यएको छ । सहरका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
यसैबीच, रूसी सेनाले मंगलबारदेखि हालसम्म ७८८ ड्रोन तथा मिसाइल प्रहार गरेको र तीमध्ये ७७६ वटा आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको युक्रेनले दाबी गरेको छ ।
गत हप्ताको इस्तानबुल वार्तामा भएको सहमतिअनुसार रूस र युक्रेनले कैदीहरूको आदान–प्रदानको पहिलो चरण केही घण्टाअघि सम्पन्न गरेका थिए । दुवै पक्षले ३९० जना कैदी फर्काएका छन् र कुल एक हजार कैदी आदान–प्रदान गर्ने अपेक्षा गरिएको छ ।
रूसले युक्रेनलाई तीन दिनभित्र शान्ति सम्झौताका सर्त प्रस्तुत गर्ने तयारी गरिरहेको समेत जनाएको छ ।
