अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि नरसंहारको आरोप

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

US President Trump accused the South African President of genocide

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच भएको भेटवार्ता तनावपूर्ण बनेको छ । यसअघि ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीसँगको नोकझोकपूर्ण भेटवार्तालाई सम्झाउने गरी दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता सौहार्दपूर्ण बन्न नसकेको हो ।

सामान्य औपचारिकतापछि सहज रूपमा अघि बढेको  दुई नेताबीचको कुराकानीका एक्कासि अप्रिय बन्न पुगेको थियो । कुराकानीका क्रममा ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत किसानहरूमाथि हिंसा भइरहेको भन्दै रामाफोसालाई 'श्वेत नरसंहार' गरेको आरोप लगाएका थिए ।

कुराकानीका क्रममा ट्रम्पले भनेका थिए, 'हामीसँग यसबारे हजारौँ कथाहरू छन् ।' यति भनेपछि ट्रम्पले कर्मचारीलाइ बत्ती निभाएर भिडियो देखाउन भनेका थिए । ट्रम्पले पुरानो भिडियोका क्लिपहरू देखाएका थिए । जसमा  एक हजारभन्दा बढी श्वेत किसानहरूको चिहान देखिएको र त्यसमा सेता क्रस लगाइएको दाबी गरिएको छ ।  त्यसपछि ट्रम्पले केही अखबारका लेखहरूको थुप्रो देखाए । जसमा ट्रम्पले भनेअनुसार पछिल्ला केही दिनहरूमा दक्षिण अफ्रिकामा भएका हत्यासम्बन्धी समाचारहरू थिए। उनले केही शीर्षकहरू पढ्दै भने, 'मृत्यु, मृत्यु, मृत्यु, भयावह मृत्यु।'

US President Trump accused the South African President of genocideगार्डियनसहितका अन्तराष्टिय मिडियाले ट्रम्पले भेटवार्तामा झुटो दाबी पेस गरेको उल्लेख गरेका छन् । रोयटर्सले ट्रम्पले देखाएका भिडियोहरु सेप्टेम्बर २०२० मा बनाइएको र भिडियोमा देखिएका सेता क्रस वास्तविक चिहानहरू नभएको उल्लेख गरेको छ ।

ट्रम्पले यस्तो आरोप लगाइरहेका बेला रामाफोसा भने निकै शान्त मुद्रामा देखिएका थिए । ट्रम्प आक्रामक रूपमा प्रस्तुत भए पनि रामाफोसा भने शान्त देखिएका थिए । उनले 'यसबारे शान्तपूर्वक कुरा गरौँ' भन्दै भेटवार्तालाई शान्त नै राख्न प्रयास गरेका थिए । रामाफोसाले दक्षिण अफ्रिकामा कुनै जनसंहार नभएको र यो कसरी हेरिन्छ भन्ने दृष्टिकोणको कुरा भएको बताउँदै भने, 'कहिलेकाहीँ पहाडको आकार पनि हेर्ने कोणमा भर पर्छ।'

ट्रम्पले दक्षिण अफ्रिकालाई अत्यावश्यक सहयोग रद्द गरेपछि, गोरा अल्पसंख्यक अफ्रिकीहरूलाई आश्रयको प्रस्ताव दिएपछि, देशका राजदूतलाई निष्कासित गरेको पृष्ठभूमिमा रामाफोसाले यो भेटमार्फत अमेरिका र आफ्नो देशबीचको सम्बन्धलाई पुनःस्थापित गर्ने आशा गरेका थिए। अमेरिका दक्षिण अफ्रिकाको दोस्रो ठूलो व्यापार साझेदार हो  । तर अहिले ट्रम्पको आयात कर योजनाअनुसार ३० प्रतिशत भन्सार महसुलको सामना गरिरहेको छ।

ह्वाइट हाउसबाट निस्केपछि रामाफोसाले ट्रम्पले आफूलाई निरपेक्ष रूपमा सुनेको बताउँदै भेटवार्ता निकै राम्रो भएको सटिक प्रतिक्रिया दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully