मस्को — रुसको राजधानी मस्कोमा युक्रेनी ड्रोन आक्रमण भएपछि बिहीबार मस्को विमानस्थलको उडान अवरुद्ध भएको छ । मस्को सहरलाई लक्षित गर्दै रातभरमा ३५ युक्रेनी ड्रोनद्वारा हमला गरिएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ ।
‘हवाई रक्षा प्रणालीले १ सय ५ युक्रेनी ड्रोन नष्ट गर्यो, तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार रुसले युक्रेनविरुद्ध हालसम्मकै धेरै ड्रोनमार्फत सप्ताहन्तमा आक्रमण गरेपछि युक्रेनले पनि आक्रमण गरेको हो । तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले दैनिकजसो एकअर्काविरुद्ध ड्रोन आक्रमण गर्दै आएका छन् । तर मस्कोलाई भने विरलै लक्षित गरिएको थियो ।
बिहीबार मस्को लक्षित आक्रमण भएकै कारण धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरणले जनाएको छ । विमानहरू अस्थायी रूपमा सहरको मुख्य सेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किभ र पश्चिमी देशहरूले गरिरहेको बिनासर्त तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरिरहेका छन् ।
रुसले अहिले क्रिमिया प्रायद्वीपसहित युक्रेनको अधिकांश भू–भाग नियन्त्रणमा लिइसकेको छ । क्रिमियालाई उसले २०१४ मा कब्जा गरेको थियो । यो लडाइँले दसौं हजारको ज्यान लिइसकेको छ भने लाखौं सर्वसाधारण विस्थापित भएका छन् ।
