वाशिंगटन — अमेरिकाको वाशिंगटन डीसीमा एक यहुदी संग्रहालयबाहिर इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था सीबीएसका अनुसार यस घटनामा एक पुरुष र एक महिला मारिएका छन् । दुवै जनाविरुद्ध क्यापिटल यहुदी संग्रहालयमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किनेबित्तिकै गोली प्रहार गरिएको हो ।
आक्रमणको स्थितिलाई देख्दा सुनियोजित भएको अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् । यो घटना स्थानीय समयअनुसार राति ९ बजेर पाँच मिनेटतिर एक स्ट्रीटमा भएको हो ।
कैयौं पर्यटक स्थल, संग्रहालय र सरकारी संरचनाहरु यो क्षेत्रमा छन् । यसमा एफबीआईको फिल्ड कार्यालय पनि रहेको छ ।
रिपोर्ट्स अनुसार घटनाका समयमा इजरायली दूतावासका कैयौं कर्मचारी संग्रहालयमा आयोजित कार्यक्रममा सहभागी थिए । गाजामा इजरायलको जारी अप्रेशनका बीच यो घटना भएको हो ।
अमेरिकाकी आन्तरिक सुरक्षामन्त्री क्रिस्टी नोएमले ज्यूइश म्यूजियम अगाडि यो घटना भएको बताएकी छिन् । अमेरिकाका लागि इजरायली राजदूतले मारिने दुवै जना छिट्टै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताएका छन् । प्यालेस्टाइन फ्रीको नारा लगाउँदै उनीहरुले इजरायली दूतावासका कर्मचारीमाथि गोली हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मेट्रोपोलिटन प्रहरी विभागकी प्रमुख पामेला स्मिथका अनुसार संदिग्धलाई हिरासतमा लिइएको छ । उनका अनुसार हिरासतमा लिइएका व्यक्ति आक्रमणमा संलग्न हुन् ।
घटनाहुनुभन्दा निकै अघिदेखि संदिग्ध संग्रहालयबाहिर ओहोर दोहोर गरिरहेका थिए । अचानक चार जनाको समूहतर्फ बढेको र अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यसपछि संग्रहालयभित्र हतियारसहित घुस्न खोज्दा उनलाई पक्राउ गरिएको थियो ।
यूएनमा इजरायलले यसलाई यहुदीविरोधी आतंकवादी घटना भएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा घृणा र कट्टरतावादको कुनै स्थान नभएको बताएका छन् ।
