सात वटा संसदीय टोली ३३ देशको भ्रमण निस्कँदै
काठमाडौँ — पहलगाम घटनापछि चलाइएको सैन्य कारबाही ‘अपरेसन सिन्दूर’ र सीमापार आतंकवादविरुद्धको लडाइँको पक्षमा वैश्विक समर्थन जुटाउन भारतले सात वटा प्रतिनिधिमण्डललाई करिब तीन दर्जन मुलुकको भ्रमणमा पठाउन लागेको छ । त्यसका लागि सर्वदलीय प्रतिनिधित्व रहेको संसदीय टोली गठन गरिएको छ ।
पहलगाममा भएको आतंकवादी हमलापछि चलाइएको ‘अपरेसन सिन्दूर’ को औचित्यबारे विश्व समुदायलाई अवगत गराउन भारतले कूटनीतिक पहल थालेको हो । अन्तर्राष्ट्रिस्तरमा पाकिस्तानलाई अलग्याउन र आतंकवादविरुद्धको कारबाहीमा समर्थन जुटाउन भन्दै उक्त पहल थालिएको नरेन्द्र मोदी सरकारले जनाएको छ ।
भारत शासित कश्मीरको पहलगाममा वैशाख ९ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो ।
उक्त घटनापछि भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएको थियो । भारतले पहलगाम घटनाको जवाफ दिन भन्दै पाकिस्तानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । त्यसपछि पाकिस्तानले पनि भारतीय भूभागमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । भारतले आतंकवादी बस्ने स्थानमा हमला गरेको र एक सय जना आतंकवादी मारिएको दाबी गरेको थियो । तर, पाकिस्तानले भारतको कारबाहीमा निर्दोष नागरिक मारिएको दाबी गरेको थियो ।
दुई दिनसम्म चलेको सैन्य कारबाही दुवै मुलुक युद्धविरामका लागि सहमत भएका थिए । भारतले आफ्नो सैन्य कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो । त्यही सैन्य कारबाहीको औचित्यबारे प्रस्ट्याउन भारतले संसदीय टोली पश्चिमा, युरोपियन र अफ्रिकी मुलुकहरूमा पठाउन लागेको हो ।
संसदीय टोलीले भ्रमण गर्ने मुलुकहरूको सूचीमा छिमेकका नेपाल, बंगलादेश, श्रीलंका, चीन, माल्दिभ्सलाई भने समावेश गरिएको छैन ।
आगामी शुक्रबार (मे २३) बाट सर्वदलीय प्रतिनिधिमण्डल भारतको सन्देश लिएर विभिन्न ३३ देशहरूको यात्रामा निस्किँदै छन् । विदेश यात्रामा निस्कने सात टोलीको नेतृत्व विभिन्न पार्टीका सांसदहरूले गर्दै छन् । टोलीमा पूर्वमन्त्री, विभिन्न दलका सांसद तथा पूर्वराजदूतहरूलाई राखिएको छ ।
सात टोलीमा ५१ जना नेता तथा ८ जना पूर्वराजदूत गरी ५९ जना छन् । भाजपा नेता बैजयन्त पान्डा नेतृत्वको टोलीले साउदी अरब, कुवेत, बहराइन, अल्जेरियाको यात्रा गर्दै छन् । भाजपाकै सांसद रविशंकर प्रसाद नेतृत्वको टोली बेलायत, फ्र्रान्स, जर्मनी, बेल्जियम, इटाली र डेनमार्क जाँदै छन् ।
त्यस्तै, जनता दल युनाइटेडका सांसद सञ्जयकुमार झा नेतृत्वको सर्वदलीय टोली इन्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, जापान र सिंगापुर जानेछन् । शिवसेनाका सांसद श्रीकान्त सिन्देको टोली संयुक्त अरब इमिरेट्स, लाइबेरिया, कंगो र सियरालियोन जाँदै छन् ।
कंग्रेस नेता शशि थरुर अगुवाइको टोली अमेरिका, पनामा, गुयाना, ब्राजिल र कोलम्बिया जाँदै छन् भने डीएमके नेता कनिमोझी करुणानिधि नेतृत्वको टोली स्पेन, ग्रीस, स्लोभेनिया, लात्भिया र रुस पुग्दै छन् । एनसीपी सांसद सुप्रिया सुले नेतृत्वको टोली इजिप्ट, कतार, इथोपिया र दक्षिण अफ्रिका जाँदै छन् ।
