नयाँदिल्ली/इस्लामावाद — भारत र पाकिस्तानबीच यसै महिना भएको चार दिने द्वन्द्ववाट दुवै देशले विजयको दाबी गर्दै युद्धविराम घोषणा गरेका छन् । तर उक्त युद्धमा भने चीनको रक्षा उद्योग अप्रत्याशित विजेताका रूपमा देखिएको छ ।
भारतले ७ मेमा पाकिस्तानमा रहेका ‘आतंकवादी संरचना’ माथि आक्रमण गरेपछि दुई देशबीच भिडन्तको सुरुवात भएको थियो । २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको घटनाको जवाफ स्वरूप भारतले पाकिस्तानी भूमिमा आक्रमण थालेको थियो ।
पहलगाम आक्रमणमा मारिएकामध्ये अधिकांश पर्यटक थिए । दिल्लीले उक्त नरसंहारमा संलग्न आतंककारी समूहलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाएको थियो । उक्त आरोप पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ । भारतको जवाफी कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो । भारतले आक्रमण सुरू गरेसँगै दुवै देशबीच ड्रोन, क्षेप्यास्त्र र लडाकु विमानसहितको सैन्य कारबाही चलेको थियो ।
भारतले फ्रान्स र रुसमा निर्मित लडाकु विमान प्रयोग गर्यो भने पाकिस्तानले चीनसँग मिलेर बनाइएको जे-१० र जेएफ-१७ विमान प्रयोग गरेको दाबी गरेको छ । दुवै पक्षले उनीहरूको विमानले सीमा पार नगरेको र टाढाको दूरीबाट क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन् ।
इस्लामाबादले फ्रान्समा निर्मित राफालसहित भारतका कम्तीमा ६ वटा विमान खसालेको दाबी गर्यो । तर दिल्लीले उक्त दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन । भारतीय वायुसेनाका एयर मार्सल एके भारतीले यसबारे ‘युद्धमा क्षति हुनु सामान्य कुरा’ भएको प्रतिक्रिया दिए । तर उनले पाकिस्तानको दाबीबारे प्रतिक्रिया दिन अस्वीकार गरे । ‘हामीले आफ्ना लक्ष्य प्राप्त गरेका छौं र हाम्रा सबै पाइलट सुरक्षित फर्किएका छन्,’ उनले भने ।
भारतले पाकिस्तानमा रहेका प्रतिबन्धित आतङ्ककारी संगठन लश्कर-ए-तोयबा र जैश-ए-मोहम्मदका मुख्यालयमा आक्रमण गरि करिब एक साय आतंककारीलाई मारेको दाबी गरेको छ । तर युद्धको वास्तविक विवरण अझै प्रस्ट भएको छैन । केही सञ्चारमाध्यमले पञ्जाब र भारत प्रशासित कश्मीरमा विमान खसेको खबर दिएका छन्, तर भारत सरकारले यसबारे केही प्रतिक्रिया दिएको छैन ।
समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानले सम्भवतः चीनमा निर्मित जे-१० विमानबाट भारतीय लडाकु विमानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । घटनामा पाकिस्तानले चीनमा बनेका हतियार प्रयोग गर्नु र ती प्रभावकारी देखिनु चीनको रक्षा उद्योगका लागि एक ठूलो अवसर बनेको विश्लेषकहरू बताउँछन् ।
चीनका पूर्वसैनिक वरिष्ठ कर्णेल झोउ बोले भारत-पाक युद्धमा चिनियाँ हतियारको वास्तविक परीक्षण भएको बताउँछन् । ‘यस हवाई युद्धले चीनको हतियार प्रणालीको वास्तविक परीक्षण भएको देखायो,’ उनले भने, ‘अब चीनसँग केही यस्ता प्रणाली छन्, जुन विश्वमै उत्कृष्ट छन् ।’ घटनापछि चीनको जे-१० विमान बनाउने कम्पनी अभिक छेन्दु एअरक्राफ्ट कम्पनीका सेयरहरू ४० प्रतिशतसम्म बढेका छन् । तर केही विशेषज्ञहरू यसलाई चीनको हतियार प्रणालीको उत्कृष्टता भन्न अझै चाँडो भएको बताउँछन् ।
लन्डनस्थित किङ्स कलेजका प्राध्यापक वाल्टर लाडविगले भने, ‘चीनका विमानले भारतीय वायुसेनाका विमानलाई वास्तवमै पराजित गरेको भन्ने अझै पुष्टि भइसकेको छैन ।’ उनको भनाइमा सामान्य सैन्य रणनीति अनुसार हवाई आक्रमणभन्दा पहिले शत्रुको हवाई सुरक्षा प्रणालीलाई निस्तेज पार्नु पर्छ । उनले भने, ‘भारतीय वायुसेवा फौज (आईएएफ) ले उडान भर्नुको उद्देश्य नै पाकिस्तानलाई आक्रोसित नबनाउने जस्तो देखिन्छ ।’
चीनले भने जे-१० विमानद्वारा भारतीय राफाल विमान खसालेको दाबीबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन । तर चीनको सामाजिक सञ्जालमा यसलाई लिएर उत्साह छाएको छ । इटालीस्थित सुरक्षा अध्ययन समूहकी शोधकर्ती कार्लोटा रिनाउडोले भनिन्, ‘वास्तविकताभन्दा धारणा अहिले धेरै महत्वपूर्ण छ । त्यस हिसाबले हेर्दा चीन नै विजेता देखिन्छ ।’
चीनका लागि पाकिस्तान एक रणनीतिक र आर्थिक साझेदार हो । चीनले पाकिस्तानमा ५० अर्ब डलरभन्दा बढी लगानी गरी ‘चीन-पाकिस्तान आर्थिक मार्ग’ अन्तर्गत पूर्वाधार विकास गरिरहेको छ । पाकिस्तानी विश्लेषक इम्तियाज गुलले भने, ‘यस पटक चीनले निर्णायक भूमिका खेलेको देखियो । भारतले पाकिस्तान र चीनबीचको सैन्य समन्वयको स्तर कल्पना पनि गरेको थिएन ।’
वैश्विक हतियार व्यापारमा असर पार्न सक्ने भएकाले पश्चिमी मुलुकहरूले पनि जे-१० विमानको प्रदर्शनलाई चासोपूर्वक नियालिरहेका छन् । पहिले चिनियाँ हतियारहरूलाई प्राविधिक कमजोरी र खराब गुणस्तरको आरोप लाग्थ्यो । म्यानमारले ‘जेएफ-१७’ विमानहरू ग्राउन्ड गरेको थियो भने नाइजेरियाली सेनाले पनि चिनियाँ एफ-७ विमानमा समस्या भएको रिपोर्ट गरेको थियो ।
भारतले २०१९ मा पनि पाकिस्तानसँगको हवाई भिडन्तमा एक ‘मिग-२१’ गुमाएको थियो, जसका पाइलटलाई पाकिस्तानले पक्राउ गरेको थियो । भारतले भने ती पाइलटले पाकिस्तानी ‘एफ-१६’ विमान खसालेको दाबी गरेको थियो ।
यस पटक पनि भारतले पाकिस्तानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको भए पनि यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कम चर्चा भएको प्राध्यापक लाडविग बताउँछन् । ‘यस पटक भारतले पहिला पाकिस्तानको हवाई रक्षा प्रणालीलाई निसाना बनाएर त्यसपछि ग्राउन्ड टार्गेटमा प्रहार गरेको देखिन्छ,’ उनले भने ।
भारतले ११ वटा पाकिस्तानी एयरबेसमा मिसाइल आक्रमण गरेको थियो, जसमा इस्लामाबादनजिकैको रणनीतिक नुर खान एयरबेस पनि पर्छ । सबैभन्दा टाढाको लक्ष्यमध्ये एक दक्षिणी सहर कराँचीबाट १ सय ४० किलोमिटर टाढा भोलारी परेको थियो ।
यस पटक भारतीय वायुसेनाले पाकिस्तानी वायु प्रतिरक्षा र राडार प्रणालीमा आक्रमण गर्दै र स्थलगत लक्ष्यमा ध्यान केन्द्रित गरेको लाडविगको भनाइ छ । भारतीय वायुसेनाले चिनियाँ ‘एच-क्यू’ हवाई रक्षा प्रणालीको बाबजुद पनि लक्ष्यमा सटिक प्रहार गरेको दाबी गरेको छ ।
‘यस्तो देखिन्छ कि आक्रमणहरू तुलनात्मक रूपमा सटीक र लक्षित थिए । क्रेटरहरू धावनमार्गको बीचमा थिए । यदि यो लामो द्वन्द्व भएको भए पाकिस्तानी वायु सेनालाई यी सुविधाहरू फेरि सञ्चालन गर्न कति समय लाग्थ्यो, म भन्न सक्दिन, लाडविगले औंल्याए । तर भारतले आफ्नो मिसन विवरण सार्वजनिक नगरेर युद्धको ‘विवरणको नियन्त्रण’ गुमाएको उनको भनाइ छ ।
पाकिस्तानले पनि भारतका अग्रपंक्तिका एयरबेसमा आक्रमण गरेको दाबी गरेको छ, तर भारतले त्यसले कुनै क्षति नगरेको दाबी गरेको छ । अमेरिका र पश्चिमी मुलुकहरूको चासोपछि दुवै पक्ष युद्धविराममा सहमत भएका छन् । तर भारतका लागि यो घटनाले रक्षा क्षेत्रमा स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय खरिदमा गति दिन आवश्यक भएको देखाएको विशेषज्ञहरू बताउँछन् ।
चीनले पाकिस्तानलाई ‘जे-१०’ का प्रारम्भिक मोडलहरू दिएको छ, तर चीन आफैंमा अझै परिष्कृत ‘जे-२०’ स्टेल्थ फाइटर जेट प्रयोग गर्दैछ, जुन राडारबाट बच्न सक्छ । भारत र चीनबीचको लामो समय देखिको सीमा विवाद अझै समाधान भएको छैन । सन् १९६२ को युद्धमा भारत पराजित भएको थियो । सन् २०२० मा लद्दाखमा दुबै देशका सैनिकबीच झडप भएको थियो । तर पछिल्लो भिडन्तपछि भने चीनको रक्षा उद्योगको चमक अझै बढेको देखिन्छ ।
