आप्रवासन नीतिमा ट्रम्प प्रशासनलाई सर्वोच्चको झड्का

आप्रवासीलाई देश  निकाला गर्ने योजनामा सर्वोच्च अदालतले रोक लगाएपछि अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट

जेष्ठ ५, २०८२

एजेन्सी

The Supreme Court's shock to the Trump administration on immigration policy

वासिङटन — अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई उत्तरी टेक्सासमा बन्दी बनाइएका भेनेजुएलीलाई सन् १७९८ को युद्धकालीन ‘एलिएन एनेमिज एक्ट (एईए)’ अन्तर्गत अमेरिकाबाट निष्कासन गर्न रोक लगाएको छ । अदालतको आदेशसँगै टेक्सासको ब्लुबोननेट डिटेन्सन सेन्टरमा रहेका भेनेजुएला आप्रवासीको निर्वासन प्रक्रिया अस्थायी रूपमा रोक्ने अघिल्लो आदेशले निरन्तरता पाएको छ । 

केही आप्रवासीलाई उक्त कानुनअन्तर्गत एल साल्भाडोरको जेलमा पठाइसकिएको छ । सर्वोच्च अदालतले गत अप्रिलमा आप्रवासीलाई निष्कासन गर्ने कदम अदालतको अर्को आदेश नभएसम्मका लागि रोक्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको शुक्रबारको निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने असन्तुष्टि पोखेका छन् । ‘सर्वोच्च अदालतले हामीलाई हाम्रो देशबाट अपराधीहरूलाई बाहिर पठाउन अनुमति दिँदैन,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् ।

अदालतको निर्णयले आप्रवासीलाई एल साल्भाडोरको खतरनाक जेलमा पठाउने सरकारको प्रयासलाई अस्वीकार गरेको छ । दुई न्यायाधीश स्यामुअल अलिटो र क्लारेन्स थोमसले असहमति जनाएको शुक्रबारको आदेशमा भने कुनै हस्ताक्षर नभएको सीबीएस न्युजले जनाएको छ । 

त्यसका साथै, अदालतको ‘फिफ्थ सर्किट कोर्ट अफ अपिल्स’ ले अधिकार क्षेत्रको अभावका कारण बन्दीहरूको अपिल खारेज गरेर गल्ती गरेको जनाउँदै निर्णयलाई रद्द गरेको छ । सर्वोच्चले थप प्रक्रिया अघि बढाउन उक्त मुद्दा अदालतमा फर्काएको छ ।

त्यस्तै, निवेदनकर्ताहरूले अमेरिका निष्कासनबारे पर्याप्त सूचना प्राप्त नगरेको अदालतले जनाएको छ । ट्रम्प प्रशासनले आप्रवासीलाई एक दिनभित्रै देशबाट निष्कासन गर्ने योजना बनाएको अदालतको भनाइ छ । तर न्यायाधीशहरूले सम्भावित निर्वासनका लागि के कस्तो सूचना दिइनुपर्छ भन्ने कुरा स्पष्ट पारेका छैनन् । त्यसबारे प्रस्ट पार्न अदालतले ‘फिफ्थ सर्किट’लाई नै आदेश दिएको छ । 

‘स्पष्ट रूपमा भन्नुपर्दा हामी आज मात्र यो निर्णय गर्छौं कि बन्दीहरू अप्रिल १८ मा दिइएको भन्दा बढी सूचना प्राप्त गर्नका लागि हकदार छन्,’ आदेशमा भनिएको छ । अदालतले ट्रम्प प्रशासनसँग एईएअन्तर्गत भेनेजुएली आप्रवासीलाई निष्कासन गर्ने कानुनी अधिकार छ कि छैन भन्ने कुरा सम्बोधन नगरी तल्लो तहका अदालतहरूले त्यस्ता मामिला ‘द्रुत गतिमा’ सम्बोधन गर्नुपर्ने जनाएको छ । तर अदालतले ‘युद्धकालीन कानुन’बाहेकका अन्य कानुन प्रयोग गरेर आप्रवासीलाई देशबाट निष्कासन गर्न अनुमति दिएको छ । 

‘हामी सरकारको राष्ट्रिय सुरक्षा स्वार्थको महत्त्वलाई स्वीकार गर्छौं र सँगसँगै संविधानसँग मिल्दोजुल्दो तरिकाले त्यस्ता हितहरूको पालना गर्नुपर्ने आवश्यकतालाई पनि बुझ्छौं । माथि उल्लेखित कुराहरूलाई ध्यानमा राख्दै, तल्ला अदालतले एईएसम्बन्धी मुद्दालाई द्रुत रूपमा सम्बोधन गर्नुपर्छ,’ अदालतले भनेको छ ।

न्यायाधीश ब्रेट काभानाघले निर्णयमा सहमति जनाएका छन् । तर उनले आधारभूत प्रश्नलाई तल्लो अदालतमा फिर्ता नगरी सर्वोच्च अदालतले नै तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । सरकारले एईए प्रयोग गर्न पाउने विषयमा विरोधाभासपूर्ण निर्णयहरू रहेको उनको भनाइ छ । गत साता पेनसिल्भेनियास्थित अदालतले ट्रम्प प्रशासनलाई १७९८ को कानुन प्रयोग गर्न अनुमति दिएको थियो । 

‘परिस्थितिहरूले छिटो र अन्तिम समाधानको आवश्यकता जनाउँछन्, जुन सम्भवतः यो अदालतले मात्र प्रदान गर्न सक्छ,’ काभानाघले लेखेका छन्, ‘यस अवस्थामा, म तल्ला अदालतमा फर्कन चाहन्नँ र यस अदालतको अन्तिम समाधानलाई अरू ढिलो गर्न चाहन्नँ ।’ उनको असहमतिमा अलिटोले राहत दिनका लागि सर्वोच्च अदालतसँग अधिकार क्षेत्र नभएको र यसले तल्लो तहका अदालतलाई मुद्दा सम्बोधनका लागि अनुमति दिनुपर्ने उल्लेख गरे । उनको भनाइमा थोमसले सहमति जनाएका हुन् । 

अमेरिकी नागरिक स्वतन्त्रता संघ (एसीएलयू)ले आप्रवासीलाई एईएअन्तर्गत देश निकाला गर्ने ट्रम्प प्रशासनको कदमको विरोधमा सर्वोच्च अदालतमा आपत्कालीन अपिल गरेको थियो । उक्त अपिलमा भेनेजुएली आप्रवासीलाई एईएअन्तर्गत सूचना दिइएको र २४ घण्टाभित्र देश निकालाको योजना बनाइएको दाबी गरिएको थियो ।

सरकारका कार्यले भेनेजुएली आप्रवासीलाई न्यायिक राहत प्राप्त गर्नका लागि ‘वास्तविक अवसर’ प्रदान नगरेको एसीएलयूका वकिलहरूले जिकिर गरेका थिए । अदालतले नरोकेको खण्डमा दर्जनौं वा सयौं भेनेजुएला पुरुषलाई एल साल्भाडोरको कुख्यात जेलमा पठाइने र उनीहरूले आफ्नो ‘विदेशी शत्रु’ को पहिचान गर्न वा निष्कासनको चुनौती दिन नसक्ने दाबी गरिएको थियो । 

ट्रम्पले एईए प्रयोग गर्दै भेनेजुएली आप्रवासीलाई निष्कासनको प्रयास गरेका कारण संघीय अदालतमा समेत विभाजन देखिएको छ । सन् १७९८ को कानुन युद्धकालमा मात्र तीन पटक प्रयोग गरिएको छ । ट्रम्पले १४ वर्ष र सोभन्दा माथिका सबै भेनेजुएली नागरिक ‘ट्रेन डे अरागुवा’ का सदस्य भएको र उनीहरू अमेरिकी नागरिक वा कानुनी रूपमा स्थायी निवासी नभएको घोषणा गरेका थिए ।

एजेन्सी

Link copied successfully