कानो — क्यामरुनसँग सिमाना जोडिएको उत्तरपूर्वी नाइजेरियाको सैनिक क्याम्पमा भएको जिहादी आक्रमणमा परी शुक्रबार बहुराष्ट्रिय सुरक्षा बलका पाँच सैनिकको मृत्यु भएको छ । इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका लडाकुहरूले वुल्गो नामक सहरमा रहेको नाइजेरिया र क्यामरुनको संयुक्त सैनिक क्याम्पमा शुक्रबार बिहान सबेरै हमला गरेपछि भीषण भिडन्त भएको थियो । भिडन्तमा नौ आक्रमणकारीको पनि मृत्यु भएको छ ।
‘चार जना नाइजेरियाली र एक क्यामरुनका सैनिक मारिएका छन्, भिडन्तमा नौ जना आक्रमणकारी पनि मारिएका छन्,’ एक सैनिक अधिकारीले भने । अधिकारीका अनुसार लडाकुहरू सैनिक क्याम्प कब्जा गर्न सफल भएका थिए । केही महिनाअघि सोही क्याम्पमा भएको यस्तै आक्रमणमा २५ जना क्यामरुनका सैनिक मारिएका थिए ।
नाइजेरिया, क्यामरुन, बेनिन, चाड र नाइजरले संयुक्त रूपमा बनाएको सुरक्षा बलले सीमावर्ती क्षेत्रमा सशस्त्र समूहहरूको विरुद्धमा अभियान चलाउँदै आएको छ । तर हाल नाइजरले फिर्ता लिएको
निर्णय र चाडको सम्भावित बहिर्गमनले उक्त अभियानमा अवरोध पुगेको छ ।
शुक्रबारको आक्रमणमा लडाकुहरूले दुईवटा बारुद प्रतिरोधी बख्तरबन्द गाडी, पाँचवटा सैनिक गाडी जलाइदिएका थिए ।
साथै, उनीहरूले स्थानीय सिकारीहरूका मोटरसाइकलहरू पनि लुटेर लगेका थिए ।
