काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको व्यक्तिगत भेटवार्ता बिना रुस र युक्रेनबीचको शान्ति वार्तामा कुनै प्रगति नहुने बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र आफु सँगै नभएसम्म केही नहुने ट्रम्पको भनाइ छ ।
‘हेर्नुहोस्, पुटिन र म सँगै नभएसम्म केही हुनेवाला छैन,’ रुस र युक्रेनबीच टर्कीएमा हुने शान्ति वार्ताको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्प भने, ‘तर हामीले समाधान निकाल्नुपर्नेछ किनभने धेरै मानिसहरू मरिरहेका छन् ।’ रुसले टर्कीएमा पठाएको प्रतिनिधिमण्डलको स्तरबाट आफु निराश भएको ट्रम्पको भनाइ छ ।
रुससँगको वार्ताका लागि टर्कीए पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अंकारामा राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग भेटवार्ता गरेका छन् । जेलेन्स्कीले शान्ति सम्झौतामा पुग्न युक्रेनले थप केही निर्णयहरू तयारीमा रहेको जनाएका छन् ।
वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका प्रमुख सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने बताइएको छ । उनले आफू इस्तानबुल पुगेको पुष्टि गर्दै रुसले ‘द्वन्द्वको मूल कारण’ सम्बोधन गर्न र युक्रेनमा दिगो शान्ति स्थापना गर्न चाहेको बताएका छन् ।
उनको भनाइले रुसले युक्रेन र उसका सहयोगीहरूले अघि सारेको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गर्दै रुसी माग उस्तै रहने संकेत गरेको बीबीसीले जनाएको छ ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी प्रतिनिधिमण्डल आज बिहानदेखि इस्तानबुलमा युक्रेनीहरूको प्रतीक्षामा रहेको बताएका छन् । पेस्कोभले पुटिनले आगामी केही दिनमा टर्की यात्रा गर्ने वा ट्रम्पलाई भेट्ने कुनै योजना नभएको बताएका छन् ।
