जेरुसलेम/गाजा — इजरायलले गाजा क्षेत्रमा गरेको नाकाबन्दीले खाद्यान्नको हाहाकार उत्पन्न भएको छ । गाजा पट्टीको उत्तरमा रहेको बेइत लाहियाको वितरण केन्द्रमा प्यालेस्टिनीहरूले खाद्यान्नका लागि संघर्ष गरिरहेका तस्बिरहरू सार्वजनिक भएका छन् ।
विभिन्न १० वटा सहायता एजेन्सीहरूले गाजा क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गइरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । इजरायलले गाजामा सहायता रोक्नु युद्धको सबैभन्दा विवादास्पद मुद्दामध्ये एक बनेको छ ।
इजरायले हमासलाई बाँकी बन्धक रिहा गर्न दबाब दिने उद्देश्यले २ मार्चमा खाद्यान्न तथा मानवीय सहायता वितरण गर्ने सबै बाटा बन्द गरिदिएको थियो । हमासले सहायता सामग्री चोरी गरेको आरोप लगाउँदै इजरायलले उसलाई दबाब दिनका लागि नाकाबन्दी गरेको दाबी गर्दै आएको छ ।
इजरायल र अमेरिकाले नयाँ सहायता वितरण प्रणाली आवश्यक रहेको तर्क गरेका छन् । तर संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले सहायतालाई हतियार बनाउने प्रयास गरिएको भन्दै उनीहरूको प्रस्ताव अस्वीकार गरेका छन् । युद्धको समयमा आपूर्तिको प्रवेश र वितरणमा कडा निगरानी कायम राखेको उनीहरूको भनाइ छ । 
यसै साताको सुरूमा विश्वव्यापी खाद्य अनुगमनकर्ता, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणको एक रिपोर्टले गाजामा कम्तीमा पाँच लाख मानिसहरूले भोकमरीको सामना गरिरहेको र सम्पूर्ण २१ लाख जनसंख्याले तीव्र खाद्य असुरक्षाको अनुभव गरिरहेको उल्लखे गरेको छ । इजरायलको सैन्य आक्रमणको योजनाबद्ध विस्तार, सहायता सामग्रीमा अवरोध र ठूलो संख्यामा स्थानीयको विस्थापनका कारण गाजापट्टीमा अनिकालको जोखिम रहेको रिपोर्टमा उल्लेख छ ।
तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले भने गाजामा खाद्यान्न अभाव नरहेको दाबी गरेका छन् । ‘गाजामा खाना छ, त्यो हाम्रो जानकारी हो,’ उनले भने, ‘अन्तिम बन्धक रिहाइका बेला २५ हजार भन्दा बढी सहायता ट्रकहरू भित्रिए । आज पनि गाजामा बजारहरू खुला छन् त्यसैले त्यहाँ खाना छ, अनिकाल छैन ।’
यसअघि दुई महिना लामो युद्धविरामको समयमा गाजापट्टीमा हरेक दिन सयौं सहायता ट्रकहरू प्रवेश गरेका थिए । यद्यपि, गाजाको अधिकांश जनसंख्या अब सहायता संस्थाहरूमा निर्भर भएकोले खाद्यान्नको भण्डार द्रुत रूपमा घट्यो ।
संयुक्त राष्ट्रसंघको मानवीय कार्यालय, ओसीएचएका अनुसार बुधबार लगभग ६५ वटा सामुदायिक भान्साहरू सञ्चालनमा थिए । तीनले करिब २ लाख ४९ जनाका लागि खाना तयार गरेका बीबीसीले उल्लेख गरेको छ ।
गाजामा अझै पनि केही ताजा खाना किन्न सकिने अवस्था छ । तर त्यसको मूल्य अत्यधिक भएकाले धेरैले किन्न सक्दैनन् । धेरैजसो कृषियोग्य भूमि इजरायली सेनाले कब्जा गरेको क्षेत्रमा पर्छ । माझीहरूले समुद्री खाना बेच्ने गरेका छन् । 
पसल र बजारहरूमा सीमित संख्यामा सुकेको र डिब्बामा राखिएको खाना बेच्ने गरिएको छ । म्याद सकिएका सामानहरू पनि बिक्रीमा छन् । गाजाका स्थानीयले युद्धविरामको समयमा भन्दा पिठोको मूल्य ५० गुणा बढी भएको बताएका बीबीसीले उल्लेख गरेको छ ।
‘दिनमा एकपटक खाना पाउने भाग्यमानी’
नर्वेजियन शरणार्थी परिषद्को परोपकारी संस्थाका लागि सहयोग प्रबन्धक सलमा अल्तावेलले गाजा सहरको पछिल्लो अवस्थाबारे बीबीसीसँग कुराकानी गरेकी छन् । ‘म भोकले यति कमजोर महसुस गर्छु कि म टाउको उठाउन पनि मुस्किलले सक्दिन,’ उनले गाजाबाट भ्वाइस नोटमा भनेकी छन् ।
कसैले दिनमा एकपटक खाना खान पायो भने पनि उसलाई भाग्यमानी मान्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘यदि कसैले अहिले दिनमा एक पटक खाना खायो भने, उनीहरूलाई भाग्यमानी मानिन्छ । यो केवल केही मानिसहरूलाई मात्र भइरहेको छैन, यो गाजामा सबैलाई भइरहेको छ,’ उनी भन्छिन्, ‘धेरैजसो परिवारहरूसँग अब घरमा खाना छैन र धेरैसँग धेरै महँगो खाना किन्न पैसा पनि छैन ।’
उनका अनुसार बिहीबार एक किलो पीठो (धेरैजसोमा किरा हुन्छ) को मूल्य १२ अमेरिकी डलर, एक किलो चामलको २० अमेरिकी डलर र एक लिटर खाना पकाउने तेलको ३० अमेरिकी डलर मूल्य थियो । खाना पकाउने ग्यास छैन र परिवारहरूले थोरै खाना पकाउनका लागि फर्निचर र लुगा जलाइरहेको उनको भनाइ छ । ‘बालबालिका भोकले रुन्छन् र उनीहरूका आमा पनि रुन्छन् किनभने उनीहरूसँग छोराछोरीलाई खुवाउन केही पनि छैन ।’
