अमेरिका–चीन भन्सार शुल्क ३ महिना स्थगित

दुवै पक्ष आफ्ना भन्सार शुल्कमा १ सय १५ प्रतिशतसम्म कटौती गर्न सहमत

वैशाख ३०, २०८२

एजेन्सी

US-China customs duties postponed for 3 months

जेनेभा/वासिङ्टन — अमेरिका र चीन आगामी तीन महिनाका लागि ट्यारिफ (भन्सार) शुल्क स्थगित गर्न सहमत भएका छन् । दुवै देशले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै भन्सार शुल्क स्थगन गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँग ९० दिनका लागि ट्यारिफ स्थगन गर्ने र भन्सार दरमा उल्लेखनीय गिरावट ल्याउने सहमति भएको जानकारी दिएका छन् । चिनियाँ वाणिज्य मन्त्रालयले पनि गत २ अप्रिलदेखि अमेरिकाविरुद्ध लगाइएको सम्पूर्ण ‘जवाफी ट्यारिफ’ निलम्बन गरिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । 

हाल अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा १ सय ४५ प्रतिशत र चीनले अमेरिकाबाट आउने केही वस्तुमा १ सय २५ प्रतिशतसम्म ट्यारिफ लगाएका थिए । मन्त्री बेसेन्टका अनुसार दुवै पक्षले आफ्ना ट्यारिफमा १ सय १५ प्रतिशतसम्म कटौती गर्ने सहमति गरेका छन् । 

स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तामा अमेरिकी टोलीको नेतृत्व बेसेन्ट र चिनियाँ टोलीको नेतृत्व उपप्रधानमन्त्री ही लिफेङले गरेका हुन् । बीबीसीका अनुसार चिनियाँ सामानमा अमेरिकी ट्यारिफ १ सय ४५ प्रतिशतबाट ३० प्रतिशतमा झारिएको छ । 

त्यस्तै, अमेरिकी सामानमा चिनियाँ ट्यारिफ १ सय २५ प्रतिशतबाट १० प्रतिशतमा सीमित गरिएको छ । दुई देशबीचको सहमतिअनुसार १४ मे अर्थात् यही बुधबारबाट ट्यारिफ स्थगनको निर्णय कार्यान्वयमा आउने बताइएको छ ।

चीनको वाणिज्य मन्त्रालयले आगामी दिनहरूमा पनि अमेरिकाले व्यापारसम्बन्धी विषयमा चीनसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेको छ । बीबीसीका अनुसार मन्त्रालयले भन्सार शुल्क कटौती ‘विश्वको साझा हितमा’ रहेको जनाएको छ । 

भविष्यमा चीन वा अमेरिकामध्ये एक देशमा थप वार्ता हुने संयुक्त विज्ञप्तिमा उल्लेख छ । दुवै देश र विश्वव्यापी अर्थतन्त्रका लागि द्विपक्षीय आर्थिक र व्यापार सम्बन्धको महत्त्व रहेको विज्ञप्तिमा स्वीकार गरिएको छ । 

‘अमेरिका र चीन दुवैले विश्वास गर्छन् कि निरन्तर छलफलले उनीहरूको आर्थिक र व्यापार सम्बन्धमा प्रत्येक पक्षको चिन्तालाई सम्बोधन गर्ने सम्भावना राख्छ,’ विज्ञप्तिमा उल्लेख छ । दुवै देश पारस्परिक खुलापन, निरन्तर सञ्चार, सहयोग र पारस्परिक सम्मानको भावनामा अगाडि बढ्ने जनाइएको छ । 

चीनले अमेरिकी उत्पादन र सामानका लागि आफ्नो बजार थप खोल्नेबारे छलफल जारी राख्न र अमेरिकामा चिनियाँ उत्पादन गरिएको फेन्टानिलले पारेको गम्भीर प्रभावबारे गम्भीर छलफल जारी राख्न पनि सहमति जनाएको छ ।

त्यस्तै, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले अमेरिका–चीन सम्झौता असाधारण कदम भएको जनाएको छ । ह्वाइटहाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले फक्स न्युजसँग ‘व्यापारसम्बन्धी अमेरिका–चीन सम्झौता सही दिशामा एक असाधारण पहिलो कदम भएको बताएकी छन् । ‘राष्ट्रपति ट्रम्पले चीनसँग वार्ता जारी राख्नुहुनेछ, हामी आशा गर्छौं, अनिवार्य रूपमा निष्पक्ष र व्यापक, ठूलो व्यापार सम्झौतामा पुग्न सक्छौं,’ उनले भनिन् । 

दुई देशबीचको सम्झौतालाई विश्व व्यापार संगठन (डब्लूटीओ) ले पनि स्वागत गरेको छ । संगठनकी प्रमुख न्गोजी ओकोन्जो–इवेलाले वार्तालाई नजिकबाट नियालेको जनाउँदै चिनियाँ उपप्रधानमन्त्रीसँग कुराकानी गरेको जनाएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले ‘वार्ताको सकारात्मक नतिजाबाट खुसी’ भएको जनाएकी छन् । उनले विश्वव्यापी अर्थतन्त्रका लागि दुई देशबीचको सहमित महत्त्वपूर्ण भएको जोड दिइन् । 

पछिल्लो समय आधुनिक विश्वव्यापी अर्थतन्त्रका लागि उपयुक्त हुने गरी डब्लूटीओको सुधार कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । डब्लूटीओले विश्वव्यापी अर्थतन्त्र दुई समूहमा विभाजित भयो भने विश्वभरको वास्तविक कुल गार्हस्थ्य उत्पादन दीर्घकालीन रूपमा करिब ७ प्रतिशतले कमी ल्याउन सक्ने संगठनको चेतावनी छ । 

दुई देशबीच सम्झौता भएसँगै विश्वव्यापी सेयर बजारमा पनि वृद्धि देखिएको छ । त्यस्तै, अमेरिकी डलर र चिनियाँ युआनको मूल्य वृद्धि भएको छ । डलरको मूल्य पाउन्ड, युरो र जापानी येनको तुलनामा बढेको छ भने युआनको मूल्य पनि यी तीन प्रमुख मुद्रासँगै डलरको तुलनामा समेत उकालो लागेको देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ फेब्रुअरीमा अमेरिका प्रवेश गर्ने लगभग सबै चिनियाँ सामानमा १० प्रतिशत भन्सार करको घोषणा गरेका थिए । त्यसको जवाफमा चीनले ४ फेब्रुअरीमा केही अमेरिकी उत्पादनमा १० देखि १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको थियो । 

लगत्तै, ट्रम्पले ४ मार्चमा चिनियाँ सामानको भन्सार कर २० प्रतिशत बनाए । अमेरिकाले २ अप्रिलमा चिनियाँ आयातमा थप ३४ प्रतिशत भन्सार दरको घोषणा गर्दै ५४ प्रतिशत पुर्‍यायो । त्यसको जवाफी कदम स्वरूप चीनले धेरैजसो अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार कर लगायो । 

चीनले ९ अप्रिलमा भोलिपल्टबाट लागू हुने गरी अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार कर लगाउने बताएको थियो । उक्त दर ३४ प्रतिशतबाट बढाइएको थियो । चीनले अमेरिकी भन्सार दर ८४ प्रतिशतले बढाएर १ सय ४ पुर्‍याएसँगै ट्रम्पले ‘पारस्पारिक’ भन्सार कर घोषणा गरे । जसअनुसार ट्रम्पले चिनियाँ वस्तुमा लाग्ने कर १ सय २५ प्रतिशतले बढाउँदै १ सय ४५ प्रतिशत पुर्‍याए । ११ अप्रिलमा चीनले अमेरिकाबाट आउने सामानमा लाग्ने कर १ सय २५ प्रतिशतसम्म पुर्‍यायो र थप वृद्धिको प्रतिक्रिया नदिने बताएको छ । 

दुई देशबीच १२ मेमा स्विट्जरल्यान्डमा व्यापार वार्ता गरेपछि १४ मे देखि लागू हुने गरी ‘पारस्पारिक’ कर स्थगन गरेका हुन् । नयाँ सहमतिसँगै चिनियाँ सामानमा अमेरिकी कर ३० प्रतिशत र अमेरिकी सामानमा चिनियाँ कर १० प्रतिशतमा झरेको हो ।

एजेन्सी

Link copied successfully