काठमाडौँ — अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ । सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस)ले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् ।
त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको बीबीसीले जनाएको छ । दुई देशबीचको सम्झौतामा हस्ताक्षर गर्ने क्रममा राष्ट्रपति ट्रम्पले साउदी युवराज एमबीएसलाई साथीको रूपमा सम्बोधन गरेका थिए ।
साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ । अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७-८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ ।
गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराज एमबीएसले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरेका थिए । सन् २०१७ मा ट्रम्पले १ खर्ब १० अर्ब डलरको सैन्य उपकरणसहित ४ खर्ब ५० अर्ब डलरभन्दा धेरैको सम्झौता भएको दाबी गरेका थिए । यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ ।
ट्रम्पले एमबीएसलाई खाडी राष्ट्रबाट हुने लगानीले अमेरिकामा रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताएका थिए । ‘मलाई साँच्चै विश्वास छ कि हामी एकअर्कालाई धेरै मन पराउँछौं,’ ट्रम्पले एमबीएसलाई भनेका थिए । त्यसक्रममा ट्रम्पले सन् २०१७ मा पहिलो कार्यकालमा गरेको साउदी भ्रमण पनि सम्झिएका थिए । 
राष्ट्रपति ट्रम्प पश्चिम एसियाको चार दिने भ्रमणका क्रममा मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका हुन् । ट्रम्पसहितका वरिष्ठ अमेरिकी अधिकारीलाई साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले किङ खालिद विमानस्थलमा स्वागत गरेका थिए ।
आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्केका हुन् । पोप फ्रान्सिसको अन्तिम संस्कारमा सामेल हुन अप्रत्यासित रूपमा २७ अप्रिलमा भ्याटिकन पुगेका भए पनि ट्रम्पको साउदी भ्रमण दोस्रो कार्यकालको पहिलो कुटनीतिक भ्रमण हो । यसअघि अमेरिकी राष्ट्रपतिले बेलायत, क्यानडा वा मेक्सिको भ्रमण गर्ने परम्परा तोड्दै ट्रम्पले साउदी अरबलाई रोजेका हुन् । अमेरिकी राष्ट्रपतिको पहिलो विदेश भ्रमणले अमेरिकी विदेश नीतिको प्राथमिकता झल्काउने ठानिन्छ । त्यसकारण ट्रम्पले औपचारिक रूपमा पहिलोपटक कुन देशको भ्रमण गर्छन् भन्नेमा चासो थियो ।
इरानसँगको आणविक कार्यक्रम सम्झौता र गाजामा इजरायल-हमास युद्ध अन्त्यका लागि प्रयास भइरहेका बेला ह्वाइट हाउसका लागि ट्रम्पको साउदी अरब भ्रमण कूटनीतिक रूपमा निकै महत्वपूर्ण छ । ट्रम्प प्रशासनले यस वर्षको सुरूमा युक्रेनमा युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा साउदी राजधानी रियादमा रूस र युक्रेन दुवैसँग वार्ता गरेको थियो ।
साउदी, कतार र यूएईका नेताहरूसँगको सम्बन्ध बलियो बनाउँदा महत्त्वपूर्ण राजनीतिक र आर्थिक लाभ प्राप्त हुने ट्रम्पको ठम्याइ देखिन्छ । ह्वाइट हाउसका अनुसार यूएईले अमेरिकामा १० वर्षमा १४ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, कतारको शाही परिवारले राष्ट्रपति ट्रम्पको राष्ट्रपति विमानको रूपमा विशेष प्रयोगका लागि ४० करोड डलर मूल्यको विलासी जेट उपहार दिँदैछ । यो विमान उनले पद छोड्नुभन्दा केही समय अघि भविष्यको ट्रम्प राष्ट्रपति पुस्तकालयका लागि दिइने जनाइएको छ ।
