अमृतसर — भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।
मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पतालमा भर्ना गरिएको पञ्जाब प्रहरीले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजीठा जिल्लामा यो घटना भएको हो ।
अमृतसरका एसएसपी मनिन्दर सिंहले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘हिजो राति करिब पौने १० बजेतिर सूचना प्राप्त भयो । नक्कली मदिरा सेवनबाट मानिसहरुको मृत्यु भएको खबर आयो । तत्काल हामीले घटनास्थल पुगेर मुख्य सप्लायर परबजीत सिंहसहित चार जनालाई नियन्त्रणमा लियौं ।’
उनले भने, ‘१४ जनाको मृत्यु पुष्टि भएको छ । अरु ६ जनालाई अस्पताल भर्ना गरिएको छ । यो घटना पाँचवटा गाउँमा भएको छ ।’
एसएसपीका अनुसार पञ्जाब सरकारका तर्फबाट नक्कली मदिरा सप्लायरविरुद्ध कडा कारबाहीको निर्देशन दिइएको छ । अमृतसरका डिप्टी कमिश्नर साक्षी एसले मेडिकल टिम यी पाँच गाउँका घर घरमा गएर परीक्षणा गरिरहेको बताए ।
