जब अमेरिकाले व्यापार रोक्दिन्छु भन्यो, भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भए : ट्रम्प

वैशाख २९, २०८२

कान्तिपुर संवाददाता

When US said it would freeze trade, India and Pakistan agreed to ceasefire: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले भूमिका खेलेको बताएका हुन् । 

ट्रम्पले आफूहरूका कारण दुई दक्षिण एसियाली मुलुकबीचको संघर्ष अन्त्य भएको समेत दाबी गरेका छन् । उनले भने, 'शनिबार मेरो प्रशासनले भारत र पाकिस्तानबीच पूर्ण र तत्काल युद्धविरामका लागि सहयोग गरेको छ । मलाई लाग्छ कि यो स्थायी युद्धविराम नै हो । जसका कारण ठूलो मात्रामा परमाणु हतियार भएका दुई देशबीचको खतरनाक संघर्ष समाप्त भएको छ ।'

अमेरिकाले व्यापार रोक्छु भनेकै कारण दुई देश संघर्ष अन्त्यका लागि तयार भएको पनि ट्रम्पको दाबी छ । 'हामीले भन्यौँ- हामीले धेरै सहयोग गर्‍यौँ । हामीले तपाईंहरूसँग धेरे कारोबार गर्छौँ । यदि तपाईंहरू संघर्ष रोक्नुभयो भने निरन्तरता दिन्छौँ, नत्र हामी तपाईंहरूसँग व्यापार गर्दैनौँ,' ट्रम्पले भने । उनले भारतसँग व्यापार वार्ता गरिरहेको र पाकिस्तानसँग पनि छिट्टै वार्ता गर्ने बताए ।

आणविक तनाव रोकिँदा धेरैको ज्यान पनि जोगिएको उनको भनाइ छ । उनले अगाडि भने, 'हामीले आणविक तनाव रोकिदिएका छौँ  । आणविक युद्ध नै हुन सक्थ्यो र त्यसमा लाखौँको ज्यान जान सक्थ्यो ।'

कान्तिपुर

Link copied successfully